Comments Add Comment

प्रदेश ७ का ७ रोचक प्रतिस्पर्धाः यस्तो छ प्रधानमन्त्री पत्नी र प्रचण्डकी बुहारीको अंकगणित

२४ कात्तिक, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको उम्मेदवारीका कारण प्रदेश ७ चर्चाको केन्द्रमा छ । दुवैले सामना गर्नुपर्ने बलिया प्रतिद्वन्द्वीका कारण प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ ।

दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा ७२ वर्ष कटेका प्रधानमन्त्री देउवाले डडेलधुरामा वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता खगराज भट्टको सामना गर्दैछन् ।

यसअघि ०६४ र ०७० मा सम्पन्न दुई वटा संविधानसभा निर्वाचनमा भट्ट प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी थिए । यसपटक एमालेको समेत समर्थन रहेकाले भट्ट ०६४ मा भन्दा बलिया देखिएका छन् । ०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्, देउवा ।

यसपटक डडेलधुरामा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र कायम भएको छ । भट्टलाई पाखा लगाउँदै छैटौं पटक निर्वाचित हुने योजनामा छन्, देउवा । उनलाई हराएर कांग्रेसको किल्ला भत्काएरै छाड्ने दाउमा वाम गठबन्धन छ ।

स्थानीय तह चुनावमा वाम गठबन्धनले कांग्रेसभन्दा करिब साढे आठ हजार मत बढी पाएको छ । देउवासामु सोही मत फर्काएर भट्टराई पाखा लगाउनुपर्ने चुनौती छ ।

२०६४ सालमा भट्ट देउवाभन्दा १३ सय ६८ मत अन्तरले पराजित भएका थिए । ०७० सालमा ११ हजार चार सय २७ मत अन्तरले देउवासँग हारेका थिए, भट्ट । यसपटक स्थानीय तहमा एमाले र माओवादीले पाएका मत रक्षा गर्दै कांग्रेस केन्द्रीय सभापति देउवाले पछाडि पार्नुपर्ने चुनौति उनीसामु छ ।

आरजुसँग भिड्दै नारदमुनि

प्रधानमन्त्री पत्नी राणा कैलाली-५ को चुनावी मैदानमा छिन्, प्रतिनिधिसभाका लागि । वाम गठबन्धनबाट उनका प्रतिस्पर्धी बनेका छन्, एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा युवा नेता नारदमुनि राना ।

यसअघि कैलाली-६ मा रहेको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका दुई वडा समेटेर क्षेत्र नम्बर ५ बनेको छ, अहिले ।

राणा पहिलो पटक प्रत्यक्ष चुनावमा होमिएकी छन् । यसअघि समानुपातिक कोटाबाट उनी संविधानसभा सभासद् बनेकी थिइन् । राना ०६४ सालमा समानुपातिक कोटाबाट संविधानसभा सभासद् बनेका थिए ।

दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवाले डडेलधुरासहित कैलाली-६ बाट पनि जितेका थिए । उनले कैलाली-६ छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले जितेका थिए ।

यसपटक दृष्य फेरिएको छ । एमाले-माओवादी गठबन्धनका कारण राना प्रधानमन्त्री पत्नी राणाका बलिया प्रतिस्पर्धी बनेका छन् ।

यसअघि धनगढी उपमहानगरपालिकाका उपमेयर भइसकेका नेता हुन्, राना । उक्त क्षेत्रबाट स्थानीय स्तरमा लोकप्रिय व्यक्ति तथा कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारी कांग्रेस र वाम गठबन्धन दुवैका चुनौती बनेका छन् ।

भण्डारी विवेकशील साझा पार्टीबाट चुनावी मैदानमा छन् । उनले प्राप्त गर्ने लोकप्रिय मत राणा र राना दुवैका लागि चुनाव जित्ने चुनौती बनेको छ ।

धनगढी महानगरको मेयरमा दोस्रो बनेका गोपाल हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए । उनी विवेकशील साझा पार्टीका प्रदेश ७ संयोजक बनेका छन्, अहिले । हमालले ल्याएको मत रक्षा गर्न सके राणा र राना दुवैका लागि जित चुनौतिपूर्ण बन्ने निश्चित छ ।

रावल भर्सेस स्वाँर

एमाले उपाध्यक्ष भीम रावल अछाम-१ बाट चुनावी मैदानमा छन । पहिलो संविधानसभामा समानुपातिक र दोस्रोमा प्रत्यक्षतर्फ निर्वाचित भएका रावललाई कांग्रेसका भरतकुमार स्वाँरले टक्कर दिँदैछन् ।

स्वाँर अछामका पूर्वजिविस सभापति हुन् । अहिले कांग्रेस जिल्ला सभापति छन् ।

यस्तै, माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट कैलाली-४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । उनलाई चुनौती दिँदैछन्, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनील भण्डारीले ।

पहिलो संविधानसभामा भट्ट साविक कैलाली-५ बाट विजयी भएका थिए । दोस्रो संविधानसभामा भने उनी कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए ।

उक्त क्षेत्रमा गोदावरी र गौरीगंगा नगरपालिका तथा चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ पर्छन् । ती सबैमा गत स्थानीय निर्वाचनमा एमालेले जितेको थियो ।

रामजनमका प्रतिस्पर्धी गौरीशंकर

प्रधानमन्त्री देउवाजस्तै हरेक निर्वाचनमा जित हात पार्दै आएका नेता हुन्, रामजनम चौधरी । ०४८, ०५१ र ०५६ सालका संसदीय निर्वाचनमा उनी तत्कालीन कैलाली-३ मा कांग्रेस बाट निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनको मुखैमा उनी कांग्रेस छाडेर तत्कालीन फोरम नेपाल प्रवेश गरे । सोही पार्टीबाट पहिलो संविधानसभामा समानुपातिक सभासद् बने । ०७० को दोस्रो संविधानसभामा भने उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट कैलाली-३ बाट निर्वाचित भए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी १० वर्षपछि पुनः मातृ पार्टीबाटै चुनाव लड्दै छन् ।

अहिले उनलाई माओवादी नेता गौरीशंकर थारुले वाम गठबन्धनबाट चुनौती दिँदैछन् । साविकको कैलाली-४ बाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए, थारु ।

कृषि मन्त्री भएको बेला गहुँको सुपरजोन बनाउन सफल भएका कारण थारु स्थानीय कृषकमाझ लोकपि्रय छन् । चौधरीको बलियो प्रभाव रहेका जोशीपुर र भजनी अहिले कैलाली-१ मा गाभिएका छन् । सोही कारण चौधरीसामु थारु बलिया प्रतिस्पर्धी मानिएका छन् ।

राठौरसँग भिड्दै रावल

एमाले परित्याग गरेका मोहनसिंह राठौरलाई कांग्रेसले कैलाली-२ को उम्मेदवार बनाएको छ । साविकका ६ वटा निर्वाचन क्षेत्रमा एमालेबाट जित हात पार्ने उनी एक मात्र नेता थिए । एमालेबाट टिकट नपाएपछि उनी कांग्रेस प्रवेश गरेका हुन् ।

उनलाई एमालेकै जिल्ला इन्चार्ज झपट रावलले चुनौती दिँदै छन् । पहिलो संविधानसभा निर्वाचनअघिको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री थिए । र, उनको स्वकीय सचिव थिए, रावल ।

एमालेले रावललाई टिकट दिएपछि राठौरले पार्टी छाड्ने निर्णय लिएका हुन् । अब दुवै नेता आमनेसामने बनेका छन् ।

लेखकविरुद्ध डा. भट्ट

प्रधानमन्त्री देउवा निकट कांग्रेस नेता रमेश लेखक कञ्चनपुर-३ बाट चुनावी मैदानमा छन् । दोस्रो संविधानसभामा निर्वाचित लेखकले प्रदेश-७ मा विकासवादी छवि बनाएका छन् ।

वाम गठबन्धनबाट डा. दीपकप्रकास भट्ट उनका प्रतिस्पर्धी बनेका छन् । नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वबिद्यालयबाट विद्यावारिधि गरेका भट्ट तत्कालीन सेना समायोजन विशेष समितिका सदस्य थिए ।

चुनावी मैदानमा नयाँ अनुहार भएका कारण भट्टले बढी मिहिनेत गर्नुपर्ने मतदाता बताउँछन् । स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रमा कांग्रेस एमाले र माओवादीभन्दा करिब साढे ६ हजार मतले पछाडि थियो ।

प्रचण्डकी बुहारीका प्रतिस्पर्धी विष्ट

कञ्चनपुर-१ बाट माओवादी अध्यक्ष प्रचण्डकी बुहारी विना मग प्रतिनिधिसभा उम्मेदवार बनेकी छन् । दोस्रो संविधानसभामा पराजित उनका बलिया प्रतिस्पर्धी बनेका छन्, कांग्रेसका दिवानसिंह बिष्ट ।

बिष्ट दोस्रो संविधानसभामा निर्वाचिन हुँदा मगर तेस्रो स्थानमा थिइन् । तर, स्थानीय तहको मतअनुसार एमाले र माओवादी कांग्रेसभन्दा १८ हजार मतले अगाडि छन् । मगरमाथि चुनावको समयमा मात्र आफ्नो क्षेत्रमा आएको आरोप मतदाताले लगाइरहेका छन् ।

यस्तै, कञ्चनपुर-२ बाट कांग्रेस नेता एनपी साउद चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी बनेका छन्, एमाले नेता नरबहादुर धामी ।

पहिलो संविधानसभामा पराजित साउद दोस्रोमा भने निर्वाचित भएका थिए । गत स्थानीय तह निर्वाचनमा कांग्रेस एमाले र माओवादीको भन्दा करिब साढे १४ हजार मतअन्तरले पछाडि छ ।

बलायर र आले भिड्दै

डोटीमा कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायर उम्मेदवार बनेका छन् । उनलाई प्रभावशाली एमाले नेता प्रेम आलेले चुनौती दिँदै छन् ।

दोस्रो संविधानसभामा डोटी-१ बाट बलायर र २ बाट आले निर्वाचित भएका थिए । दुवै अहिले आमनेसामने भएका छन् । र, दुवै जिल्लामा लोकपि्रय छन् ।

कांग्रेसका पूर्वसचेतक ईश्वरी न्यौपाने र एमाले केन्द्रीय सदस्य गरिमा शाहबीच कैलाली-१ मा प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहको मत विश्लेषण गर्दा कांग्रेसभन्दा वाम गठबन्धन बलियो देखिन्छ ।

बैतडीमा दुई राज्यमन्त्रीबीच प्रतिस्पर्धा हुँदैन । एमाले नेता दामोदर भण्डारी पूर्वअर्थ राज्यमन्त्री हुन् भने कांग्रेसका नरबहादुर चन्द अहिलेका वाणिज्य राज्यमन्त्री ।

गत स्थानीय तह निर्वाचनमा केही स्थान एमाले र केहीमा कांग्रेसले जितेको थियो । जिल्ला समन्वय समितिमा कांग्रेसले जितेको थियो । चन्दलाई पूर्वप्रधानमन्त्री लाकेन्द्रबहादुर चन्दको पनि सहयोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment