Comments Add Comment

‘पहिले मुख्यमन्त्री, त्यसपछि महिला प्रधानमन्त्री’

३ नम्बर प्रदेशको राजधानी काठमाडौं बाहिर राख्नुपर्छ

२४ कात्तिक, काठमाडौं । चार वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारमा अष्टलक्ष्मी शाक्यलाई एमालेले मन्त्रीका लागि सिफारिस गर्‍यो । तर, शाक्यले आफू यसअघि २ पटक मन्त्री भइसकेको भन्दै अर्को महिला नेतालाई अवसर दिनुपर्ने अडान राखिन् ।

शाक्यले मन्त्री बन्न अश्वीकार गरेपछि शान्ता मानवीले अवसर पाइन् । बाँचुञ्जेल मन्त्री बन्न मरिहत्ते गर्ने नेताको भीडमा अष्टलक्ष्मी फरक देखिइन् ।

यसपटक पनि एमालेका अधिकांश शीर्ष तहका नेताहरु प्रतिनिधिसभाको उम्मेदवार बनिरहँदा शाक्य भने प्रदेशसभाको उम्मेदवार बन्छु भन्दै तल झरिन् ।

प्रमुख दलका शीर्षनेतामध्ये एमाले उपाध्यक्ष शाक्य नै प्रदेशसभा उम्मेदवार बन्ने शीर्षनेतृ हुन् । काठमाडौं ९ (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेकी शाक्यलाई ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

एमालेको ३ नम्बर प्रदेश संयोजक समेत रहेकी शाक्य प्रदेशसभा उम्मेदवार बनेपछि वामपन्थी गठबन्धनले जितेको खण्डमा उनी मुख्यमन्त्री बन्ने लगभग निश्चित छ । शाक्य सम्भवतः नेपालका ७ प्रदेशसमध्ये मुख्यमन्त्रीको एकमात्र दाबेदार महिला हुन् ।

काठमाडौंबाट एकपटक सांसद जितेर एकपटक हारेको अनुभव व्यहोरिसकेकी शाक्यले अब प्रदेशको नेतृत्व गरेर महिलाले देशको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण पेश गर्ने अठोट लिएकी छन् ।

एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा अनलाइनखबरकर्मीसँग कुरा गर्दै शाक्यले भनिन्- म दुईपटक मन्त्री भएँ, दुई पटक सांसद पनि भएँ । एउटै व्यक्ति एकै पदमा कति पटक बस्ने ? यो मान्यता तोडन् र महिलाले स्थानीय तह, प्रदेश हुँदै देशको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन प्रदेशमा उम्मेदवार भएकी हुँ ।

प्रस्तुत छ शाक्यसँग गरिएको कुराकानीः

शीर्षस्थ नेताहरु प्रतिनिधिसभाको उम्मेदवार बनेका बेला तपाई भने प्रदेशसभामा झर्नुभयो, किन हो ?

शीर्ष तहका नेता प्रदेशमा झर्नुहुँदैन भन्ने मान्यता नै गलत हो । हामी पहिलोपटक संघीय र प्रादेशिक संरचनामा जाँदैछौं । प्रदेशको संरचना बनाउनुपर्ने दायित्व हामीसँग छ । प्रदेश सरकारको आफ्नै महत्व छ । केन्द्र सरकारलाई पनि बलियो र स्थिर बनाउने भूमिका प्रदेश सरकारको छ । स्थानीय तहको कामलाई पनि सघाउनुपर्ने, लोकतन्त्रलाई तलैदेखि बलियो बनाउन यसले सघाउनुपर्छ ।

तीनवटा सरकारको कुरा गरिरहँदा यो प्रद्येश सरकार अत्यन्तै महत्वपूर्ण छ भन्ने ठानेर मैले प्रदेशमा जाने निर्णय गरेँ । हाम्रो प्रदेश कमिटीको सचिवालयले पनि सर्वसम्मत रुपमा मलाई नै प्रदेशको चुनाव लडाउने निर्णय गरेकाले पनि म प्रदेशसभाको उम्मेदवार बनेँ ।
भनेपछि अब ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने ?

मुख्यमन्त्री को बन्ने भन्ने कुरा पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । तर, म यो प्रदेशको संयोजक भएको र यो प्रदेश राजधानी समेत रहेको हुनाले हामीले नै नेतृत्व गर्नुपर्छ भन्ने कुरा पार्टीमा छलफल भयो । मुख्यमन्त्री म बन्ने कुरा अनुमान गर्न सकिने भयो । आवश्यकताको कुरा पनि होला । जितिसकेपछि पार्टीले मलाई मुख्यमन्त्री बनाउने निर्णय पनि गर्ला । म प्रदेश संयोजक नै चुनाव लडेपछि त्यो स्वाभाविक पनि भो ।

मुख्यमन्त्री बन्ने गरी अध्यक्ष केपी ओलीले तपाईलाई प्रदेशसमा पठाउनुभएको हो ?


शुरुमा म पनि प्रतिनिधिसभामै जाने कुरा पनि भएको हो । काठमाडौंको ९ नम्बर क्षेत्र मेरा लागि सुरक्षित पनि थियो । तर, मैले प्रदेशमा जानुपर्छ भन्ने सोचेँ ।

प्रतिनिधिसभामा म पटक-पटक चुनाव लडेँ हारेको अनुभव पनि लिएँ । जितेको अनुभव पनि लिएँ । मैले प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिका खेलिसकेको छु र २ पटक मन्त्री पनि भएँ, त्यसपछि मलाई के लाग्यो भने एउटै मान्छे पटक-पटक मन्त्री किन हुने ? हाम्रो पार्टीमा धेरै महिला कमरेडहरु हुनुहुन्छ । त्याग गरेका, जेलनेल भोगेका धेरै महिला कमरेडलाई अवसर दिनुपर्छ भन्ने लाग्यो । मैले नछाडेसम्म त अरु महिला कमरेडले अवसर नपाउने भए, त्यसैले पनि मैले मन्त्री पनि बन्दिनँ भनेँ र प्रतिनिधिसाको उम्मेदवार पनि बन्दिन भनेँ ।

अब तपाई हुन बाँकी मुख्यमन्त्री र प्रधानमन्त्री मात्रै रहृयो होइन ?

अहिले जे ढंगले प्रदेशसभामा गएँ, प्रदेश बनाउनुपर्छ भन्ने सोचेर गइएको हो । मैले एक्लैले बनाउने होइन, सबै साथीहरुलाई समेटेर यो प्रदेशलाई बनाउने । यो प्रदेशको समृद्धि र विकासका लागि मैले नेतृत्व लिनुपर्छ भन्ने हो ।

अहिले मुख्यमन्त्री बनेर ३ नम्बर प्रदेशलाई साँच्चिकै सम्बृद्धि र विकसित बनाउन सकियो भने त्यसपछि देश बनाउन सकिन्छ । प्रदेशको नेतृत्व राम्रोसँग गर्न सकियो भने देशको नेतृत्व गर्न सकिन्छ । यो एक प्रकारको नयाँ अनुभव, चुनौति र अवसर पनि हो मेरा लागि ।

तपाई मुख्यमन्त्रीको दाबेदार एकमात्र महिला नेता बन्नुभयो होइन ?
यो हाम्रा लागि नयाँ हो । अहिलेसम्म हामीले विभिन्न देशको अनुभव हेर्ने हो । भारतमा धेरै महिलाले प्रदेशको मुख्यमन्त्री बनेर चलाएको र सफल भएको हामीले देखेका छौं । अब महत्वपूर्ण पदमा बसेर तलको जिम्मेवारी लिनुहुँदैन भन्ने एक इञ्च पनि सोच्नुहुँदैन । महिलाले प्रदेशको राम्रोसँग नेतृत्व गर्न सकेभने देशको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण पनि मैले पेश गर्नु परेको छ ।

मैले महिलाको नाताले के भन्न जरुरी छ भने हामी स्थानीय तहमा ठूलो संख्यामा उपप्रमुख, वडा सदस्य, प्रमुख जस्ता पदमा निर्वाचित भएका छौं । उपप्रमुख भएका धेरै महिलासँग मैले कुरा गरेकी छु, उनीहरुमा धेरै ठूलो उत्साह, आत्मविश्वास देखिएको छ । महिलाले गर्न सक्दैनन् कि भन्ने थियो, तर महिलाले स्थानीय तहमा राम्रो काम गरिरहेका छन् ।

राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख भएर महिलाले नेपालबाट विश्वलाई उदाहरण दिइसकेका छन् । तीनैजनाले आ-आफ्नो ठाउँबाट अत्यन्तै राम्रो काम गर्नुभयो । यसले हामी सबै नेपाली महिलालाई स्थानीय तह, प्रदेश र केन्द्र सरकारसम्मको नेतृत्व गर्न आत्मबल बढाएको छ ।

अब हेर्दै जानुहोला, अहिले त महिलालाई अधिकांश स्थानीय तहमा उपप्रमुखमात्र बनाइएको छ, उनीहरुले आफ्नो कामकै कारण अब ५ वर्षपछि प्रमुखको दाबेदार धेरै उपप्रमुखहरु हुनेछन् । उनीहरुले एकैसाथ स्थानीय तहको नेतृत्व गर्दा नेपाल महिलाले शासन चलाउने देश बन्न सक्छ भविष्यमा ।

मुख्यमन्त्रीको दाबेदारी गरिरहँदा यो प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत आउने सम्भावना कति देख्नुभएको छ ?

हामी सामान्य बहुमतको कुरा गरिरहेका छैनौं, दुई तिहाई बहुमत ल्याएर यो प्रदेशमा बलियो र स्थिर सरकार चलाउँछौं । सामान्य बहुमत त एमाले एक्लैको छ । भर्खरै सकिएको स्थानीय तहको चुनावमा एमाले एक्लैले ५२ प्रतिशत मत पाएको प्रदेश हो यो । अहिले माओवादी समेत गठबन्धन भएपछि हामी दुई तिहाई ल्याउँछौं ।

यो प्रदेश अन्तर्गत प्रदेशसभा उम्मेदवार भएका प्रायः सबै वामपन्थी गठबन्धनका उम्मेदवार जित्दैछन् । अहिले सत्तापक्षले धाँधलीका अभ्यास गरिरहेको छ । अनेकों हतकण्डा अपनाइरहेको छ तर पनि हामी जित्छौं ।

यो प्रदेशको मुख्यमन्त्री बन्दै गर्दा के सोच बनाउनुभएको छ, यहाँको विकास र समृद्धिका लागि ?

अहिले हामीले यो प्रदेशमा सरकार बनाएपछि के गर्ने भनेर अवधारणा तयार गरिरहेका छौं । वाम गठबन्धनले यो प्रदेशमा दुई तिहाईको सरकार बनाएपछि हामी आफूलाई चाहिने कानुनहरु बनाएर सम्बृद्धिको बाटोमा जान्छौं ।

जलस्रोतका लागि यो प्रदेश उर्वर छ । उर्जा विकासलाई हामीले प्राथमिकताका साथ काम गर्नेछौं । पर्यटनका लागि यो प्रदेश अपार सम्भावना भएको ठाउँ हो । हामीले पर्यटन विकासका योजना ल्याएका छौं । वन जंगल जडीबुटीको भण्डार नै हो हाम्रो यो प्रदेश ।

चीनसँग सीमा जोडिएको प्रदेश भएकाले हामीले चीनको सहयोगमा धेरै काम गर्न सक्छौं । केरुङबाट रेलवे जोड्ने कुरा भयो, तातोपानी नाका व्यवस्थापन गर्ने कुरा भयो । पूर्वाधारको विकास गरेर ५ वर्षमा हामी देशकै सबैभन्दा समृद्ध प्रदेश बनाउन सक्छौं । त्यो भिजनसहित हामी काम गर्छौं, मचाहिँ यसमा ढुक्क छु ।
म हिजो भूमिगतकालमा पनि यही प्रदेशमा बसेर विभिन्न जिल्लामा काम गरें । यो प्रदेशका सबै जिल्लाका धेरैजसो गाउँमा पुगेकी छु । यो प्रदेशको विकास कसरी गर्नुपर्छ भन्ने मलाई थाहा छ ।

प्रदेश नम्बर ३ को राजधानी कहाँ बनाउने ?

अहिले त हामीले राजधानी कहाँ बनाउने भन्ने कुरा टुंगो लगाएका छैनौं । किनकि संविधानले प्रदेशसभालाई अधिकार दिएको छ । अहिले काभ्रेका साथीहरुले धुलिखेल भन्नुभएको छ । मकवानपुरका साथीले हेटौंडा भन्नुहोला ।

चितवनका साथीले चितवन भन्नुहोला । कोल्टे ठाउँमा चाहिँ बनाउनुहुँदैन, पायक पर्ने गरी राजधानी बनाउनुपर्छ । देशको राजधानी समेत यही प्रदेशमा रहेकाले त्यसको अलि पर छेउछाउमा प्रदेशको राजधानी बनाउनुपर्छ ।

लिंक जोड्ने गरी उपत्यका भन्दा पर हुनुपर्छ । काठमाडौंसँगै बस्नु चाहिँ हुँदैन भन्ने मलाई लाग्छ । काठमाडौंमा सँगै बस्यौं भने चाहिँ हामी उठ्नै सक्दैनौं । केन्द्रको पेलानमा परिन्छ । अलग्गै भूमिका नै हुदैन ।

हामीले अलि पर बसेर प्रदेशको राजधानी विकास गर्नुपर्छ, एउटा नयाँ ठाउँमा विकास हुन्छ । पायक पर्ने, जनतालाई सहज हुने आधारमा रामोछापदेखि रसुवासम्मका जनतालाई सहज हुने गरी हामीले प्रदेशको राजधानी बनाउनुपर्छ ।

यो प्रदेशमा एमालेका धेरै प्रभावशाली नेताहरु प्रदेशसभाको उम्मेदवार बनेका छन्, सबैले आफूलाई भावी मुख्यमन्त्रीको दाबेदार भन्दै भोट मागिरहेका छन्, भोलि मुख्यमन्त्री बन्ने बेलामा समस्या हुँदैन ?

यो त हामीले सल्लाह गरेर गएका हौं । पोलिटव्यूरो सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अरुण नेपाल, सानु श्रेष्ठ प्रत्यक्षमै प्रदेशसभामा लड्नुभएको छ ।

यो समस्यानै छैन, मुख्यमन्त्री एकजना हुने हो, हाम्रो पार्टीमा समस्या छैन । हाम्रो एउटा राम्रो र सक्षम टिम बन्छ । सबै साथीहरु, सक्षम नेताहरु प्रदेशमा आउनुभएको छ । यसले गर्दा प्रदेशमा गतिलो टिम बन्छ । कोही सभामुख बन्नुहुन्छ, कोही विज्ञताको हिसाबले सरकार चलाउन बस्नुहुन्छ । योग्य, अनुभवी र सिनियर साथीहरु प्रदेशसभाको चुनाव लड्दा यो प्रदेशको ओज बढेको छ ।

यो प्रदेश बनाउने अठोट एमालेले मात्र गरेको छ भन्ने त हामी उम्मेदवारहरुको नाम र अनुहार हेरेर पनि भन्न सकिन्छ । अरु पार्टीले त हाम्रो तहका सिनियर नेताहरु प्रदेशमा पठाएका छैनन् । हेर्दै जानुहोला, ३ नम्बर प्रदेशको सरकार सबैभन्दा सक्षम, बलियो र सशक्त बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment