Comments Add Comment

मिडियामैत्री प्रकाशः प्रचण्डको भित्री व्यवस्थापनमा रिक्तता

अब कसले गर्ला फेसबुक लाइभ ?

३ मंसिर, काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स तथा बिमस्टेक शिखर बैठकमा सहभागी हुन ०७३ असोज अन्तिम साता भारतको गोवा पुगेका थिए ।

सम्मेलनस्थलबाट होटेलतर्फ फर्किन कारगेटको समय पर्खिंदै गर्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनी बसेको स्थानमा आइपुगे । केही मिनट तीन नेताबीच वार्ता पनि भयो ।

उनीहरु त्यहाँबाट उठेलगत्तै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उक्त बैठकको तस्वीर ‘भाइरल’ भयो ।

त्रिपक्षीय वार्ता र सहकार्यको संकेतका रुपमा सञ्चारमाध्यममा पुर्‍याउने काम प्रचण्ड पुत्र प्रकाश दाहालले गरेका थिए । भारतीय पक्षले त्यसलगत्तै त्यो त्रिपक्षीय वार्ता नभई संयोगवस भएको भेट मात्र रहेको बतायो । तर, प्रकाशले खिचेको तस्बिर आफैं बोल्थ्यो, तीन नेताबीचको दुर्लभ भेटघाट थियो त्यो ।

पछिल्ला दिनमा प्रकाशले त्यसरी नै आफ्ना बाबुका राजनीतिक र पारिवारिक गतिविधि सार्वजनिक गर्न सघाउँदै आएका थिए ।

त्यसको अर्को शृंखला थियो, विजया दशमीमा परिवारसँग बसेर प्रचण्डले टीका र जमरा लगाएको तस्बिर । कम्युनिस्ट दर्शनका हिमायती र नास्तिक नेताका रुपमा व्याख्या गरिँदै आएका प्रचण्डको त्यो सबैलाई चकित तुल्याउने कदम थियो । र, त्यसलाई सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् उनै प्रकाशले सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डले दोस्रो कार्यकाल अगाडि बढाउँदै गर्दा प्रकाशले पनि आफ्नो विगतको छविमा परिवर्तन ल्याएका थिए । बाबुले सम्बोधन गरेका कार्यक्रमको समाचार उनी आफैं तयार पारेर सञ्चारमाध्यममा पठाउँथे ।

समाचारमा तलमाथि भए उनी आफैं सम्बन्धित सञ्चारमाध्यममा फोन गरेर वास्तविकता बताइदिन्थे ।

मुलुक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा होमिएका बेला उनको सक्रियताले सबैभन्दा बढी लाभ सञ्चारमाध्यमले नै उठाउन पाएका थिए । अघिल्लो साँझ नै उनी बाबुका भोलिका कार्यक्रम फेसबुकमा राखिदिन्थे । र, सञ्चारमाध्यमले सोही पोस्टमार्फत् प्रचण्डलाई पछ्याउन पाउँथे ।

‘फेसबुक लाइभ’ पछिल्ला दिनमा अधिकांश प्रयोगकर्ताले उपयोग गर्दै आएका छन् । प्रकाश पनि त्यसलाई अधिकतम प्रयोग गर्नेमध्येमा पर्थे । बाबु प्रचण्ड सहभागी कार्यक्रमको लाइभ अपडेट गराउँदै उनी सञ्चार माध्यमहरुका सहयोगी बन्थे ।

पछिल्ला दिनमा उनी बाबु प्रचण्ड प्रतिनिधि सभा उम्मेदवार बनेको चितवन-३ का चुनावी गतिविधिमा उनी ज्यादा केन्दि्रत देखिन्थे ।

प्रचण्डले स्थानीय तह निर्वाचनदेखि नै आफूलाई सामान्य भेषमा प्रस्तुत गर्दै आएका छन् । मर्निङ वाकमा निस्किने र सर्वसाधारणसँगै बसेर चिया पिउने शैलीलाई उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि निरन्तरता दिँदै आएका छन् । प्रकाशले ती कुनै गतिविधिलाई फेसबुक ‘वाल’बाहिर रहन दिएका थिएनन् ।

आमा-बाबु र पत्नी-छोराप्रतिको आशक्ति उनका फेसबुक पोस्टहरुबाट ठम्याउन सकिन्छ । १६ भदौ ०७१ मा सगरमाथा आधारशिविरबाट उनले आमा-बाबुको तस्बिर बोकेको फोटो फेसबुकमा राखेका थिए । लेखिएको थियो, आमा-बुवाभन्दा ठूलो यो दुनियाँमा केही हुँदैन । भगवान भनेकै आमा-बुवा हुन् ।

कलिलो वयका छोरासँग खिचेका तस्बिर त उनी दैनिकजसो पोस्ट गर्थे ।

माओवादीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाइँदै गर्दा प्रचण्डले बुहारीलाई प्रत्यक्ष र छोरालाई समानुपातिक सूचीमा राखेर परिवारवाद देखाएको आरोप लागेको थियो । गत १८ कात्तिकमा उक्त आरोप खण्डन गर्दै उनले लेखेका थिए, ‘म त्यो दौडमा छैन । पार्टीबाट केही अपेक्षा छैन । सकेजति सहयोग गर्ने हो ।’

सोही पोस्टमा आफूले विगतमा प्राविधिक गल्ती गरेको र पार्टीको कारवाही पनि भोगेको स्वीकारेका थिए । र, भविष्यमा माओवादीप्रति नै समर्पित हुने बताएका थिए ।

सन्तान वियोग हरेक बाबु-आमाका लागि असह्य वेदनाले भरिएको हुन्छ । जेठी छोरीको मृत्युको भएको चार वर्षपछि प्रचण्डले एक मात्र छोरा पनि गुमाएका छन् ।

हरेकजसो कार्यक्रममा भीड छिचोल्दै प्रकाशले बाबु प्रचण्डलाई स्टेजमा पुर्‍याउँथे । आइतबार तिनै छोराको निर्जीव शरीर हेर्न नर्भिक अस्पतालको प्रांगणमा उत्रिँदै गर्दा प्रचण्डलाई सहारा दिने सुरक्षाकर्मी मात्र थिए ।

अर्थात्, प्रचण्डले एक पुत्र मात्र होइन, आफ्नो आन्तरिक व्यवस्थापन गरिदिने एक इमानदार कार्यकर्ता पनि गुमाएका छन् । त्यो पीडा उनले पारिवारिक हिसाबबाट मात्र नभई राजनीतिक रुपमा पनि जीवनभर भोगिरहनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment