Comments Add Comment

प्रतिस्पर्धीलाई उपेन्द्रको प्रश्नः म कसरी बाहिरको भएँ ?

रामराजालाई राष्ट्रपति बन्न नदिनेहरु अहिले धर्तीपुत्र बनेका छन्ः उमेश यादव

८ मंसिर, सप्तरी। पहिलो चरणका चुनाव हुने जिल्लाहरुमा आइतबार मतदान हुँदैछ । दोस्रो चरणका चुनाव हुने क्षेत्रमा भने बल्ल चुनावी रौनक देखिन थालेको छ ।

सप्तरी २ का प्रतिनिधिसभाका उम्मेवादरहरु पनि भोट माग्नेदेखि कार्यकर्ता भेटघाटमा व्यस्त छन् । राजपा-फोरम गठबन्धनका साझा उम्मेदवार एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव राजविराजको कंचनपुर रोडस्थित पार्टी नेताको एक घरमा डेरा जमाएर बसेका छन् । उनी विहान बेलुका कार्यकर्ता भेट्छन् भने दिनभर निर्वाचन क्षेत्रका गाउँहरु घुम्ने गरेका छन् ।

यादवले आफू सप्तरी आएपछि जनतामा उत्साह थपिएको बताए । उनले भने, ‘जनताले मलाई आशाको दृष्टिकोणले हेरेका छन् भने म पनि जित्नेमा आशावादी छु ।’

मधेस आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा उदाएका यादव पहिलो र दोस्रो संविधानसभामा सुनसरी र मोरङबाट चुनाव लडेका थिए । यो पटक भने सप्तरी आएका छन् । उनलाई राजपासँगै कांग्रेसले समेत समर्थन गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवलाई प्रतिस्पर्धीहरुले बाहिरबाट आएको टुरिष्ट उम्मेदवारको आरोप लगाएका छन् । तर, उनी प्रतिप्रश्न गर्छन्, ‘म कसरी बाहिरको भएँ ?’ सप्तरी मेरो ेरो पूर्वजहरुको भूमि हो र म यही जन्मिएको हुँ ।’

राजनीतिमा योगदान नै नभएका तथा राजनीतिमा आएको दुई दिन मात्र भएकाहरुले आफ्नो बिरोध गरेको उनले बताए । ‘म कसैको कुनै किसिमको विरोध गर्दिनँ । तर, अन्यले मेरो बिरोध गरिरहेका छन्’ यादव भन्छन् ‘अर्काको विरोध गर्नु नै मनमा विद्वेष र घृणा बोक्नु हो, जुन मेरा प्रतिस्पर्धीमा छ ।’

संघीय फोरमका अध्यक्ष यादवले आफू सप्तरी जिल्लाकै समग्र समस्याबारे जानकार भएको बताए । ‘यहाँ एकदुई वटा मात्रै होइन, धेरै समस्या छ’ उनले भने, ‘जिल्लामा राज्य पक्षको लगानी अति न्यून भएर पनि समस्या बढेको देखिन्छ ।’

उनको बुझाइमा जिल्लामा बाटो भएपनि जर्जर छ । खेत भएपनि सिंचाई र उत्पादन छैन । विद्यालय भएपनि पढाई हुँदैन । स्वास्थ्य संस्था छ, उपचार छैन । पानी छ, तर, शुद्व पिउन छैन । जिल्लामा उद्योग, धन्दा छैन, युवाहरु विदेशिएका छन् ।

‘यी समस्याहरुको प्रमुख कारण नै राज्य हो र राज्यले सप्तरी जिल्लामा जुन किसिमले लगानी लगाउनुपथ्र्याे, त्यो लगाएको देखिएको छैन’ उनले भने, ‘सबैभन्दा पहिला त लगानी बढाउनु आवश्यक छ । अर्काेतर्फ काम गर्नु जरुरी छ ।’

प्रदेश १ को अभ्यास सफल भए एकीकरण

प्रदेश २ मा संघीय फोरम र राजपाले प्रदेश र प्रतिनिधिसभाका सबै सिटमा चुनावी तालमेल गरेका छन् ।

फोरम अध्यक्ष यादव यो निर्वाचन मधेशी गठबन्धनका लागिे अभ्यास भएको बताउँछन् । भन्छन्, ‘फोरम र राजपाले गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास प्रारम्भ गरेको छ । यो अभ्यास प्रारम्भ भए मधेशलाई धेरै फाइदा हुन्छ ।’

अघि थपे, ‘संविधानमा रहेका त्रुटि र मधेश अधिकारको सवालका प्रक्रियाहरु मात्रै अगाडि बढ्दैन, दुई पार्टी फोरम नेपाल र राजपाबीच एकताको प्रकृया पनि अगाडि बढ्छ ।’

यादवले पहिला प्रदेश २ लाई समृद्व बनाउने र त्यसपछि एक मधेश दुई प्रदेशको मुद्दा अघि बढाउने बताए ।

‘यसका निम्ति मधेसी जनताले तागत देखाउन आवश्यक छ’ यादवले भने, ‘स्थानीय निकायको निर्वाचनमा मधेसी जनताले जुन किसिमले तागत लगाउनुपथ्र्यो, त्यो लागेको देखिएन । यो पटक पूरा तागत लगाउनेछन् भन्ने विश्वास छ ।’

अरु उम्मेदवार टुरिष्ट हुन्ः उमेश यादव

वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता उमेश यादवको व्यस्तता पनि त्यस्तै छ । राजविराजस्थित आफ्नै निवासमा उनी कार्यकर्ता भेटघाट गर्छन् ।

संसदमा कुर्सी भाँचेपछि एकाएक चर्चामा आएका उमेश पूर्व सिचाइ मन्त्री पनि हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित उनी यस पटक पनि चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

‘मेरा प्रतिस्पर्धी उम्मेदवारहरुलाई नोट छ, मलाई भोट छ । उनीहरुको ठूलो नाम छ । मैले यहाँ गरेको काम छ’ नाराजस्तै टुक्का तयार गरेका उनले भने, ‘त्यहीं भएर म जित्छु ।’

आफू सप्तरीमै जन्मिएको तथा हुर्केबढेको बताउँदै उनले भने, ‘राजनीतिमा आएदेखि निरन्तर जनसम्पर्कमा रहेछु । संविधानसभामा मेरो आक्रामक भूमिका र सरकारमा सहभागी हुँदा जिल्लाका लागि प्रसस्त बजेट ल्याएको जनताले देखेका छन् ।’

उनले आफू जित्ने अर्काे तर्क पनि सुनाए । ‘मधेसी गठबन्धनमा धेरै फुट छ । वाम गठबन्धनमा कहिँ कुनै किसिमको फुट छैन । मेरो जित्ने आधार यो पनि हो ।’

उनले आफ्ना प्रतिस्पर्धीलाई ‘टुरिस्ट’ को संज्ञा दिए । उपेन्द्रतर्फ संकेत गर्दै भन्छन्, ‘जहाँ जन्मिए, त्यही ठाउँलाई छाडे ।’ राजपाका वागी उम्मेदवार जयप्रकाश ठाकुरबारे उनको टिप्पणी छ, ‘उहाँ त सिरहाबाट सप्तरी आएका हुन् ।’

मधेस केन्द्रीय दलहरुले उनलाई गैरमधेसी दलमा लागेको आरोप लषएका छन् । उनको जवाफ छ, ‘मधेसी पार्टीमा लागेका पहाडि जसरी कहिल्यै मधेसी बन्न सक्दैन, त्यसरी नै म पनि कहिल्यै पहाडि बन्न सक्दिनँ । मधेसी नै रहनेछु ।’

‘मधेसीको नाममा पार्टी खोल्नेहले पनि अहिले किन पार्टीको नामबाटै मधेसी शब्द गायव गरे त ? उनले फोरमतर्फ संकेत गर्दै अघि भने, ‘सप्तरीकै धर्तीको रामराजालाई राष्ट्रपति बन्न नदिनेहरु अहिले ठूलो धर्ती पुत्र बनेका छन् ।’

उनको नजरमा सप्तरीको समस्या

सप्तरी जिल्लामा धेरै समस्याहरु छ, त्यो कसैसँग नलुकेको बताउँछन् उमेश यादव । ‘समस्या छन्, त्यसको समाधान हुनु जरुरी छ’ उनले भने, ‘विगतदेखि जिल्लाका समस्याहरु समाधान गर्नेतर्फ लागेको छु । त्यसलाई निरन्तरता दिन्छु ।’

उनको विचारमा स्वास्थ्य र शिक्षासँगै कृषि, भौतिक पूर्वाधार क्षेत्रको अवस्था दयनीय छ । जिल्लामा पर्यटनको संभावना बोकेका धेरै ठाउँ भएपनि ओझेलमा परेको छ । कृषिलाई उद्योगसँग जोड्दै स्वरोजगारमूलक उत्पादनको आधार निर्माण गरिए कृषि क्षेत्र समृद्व बन्नुका साथै रोजगारीमा टेवा पुग्ने उनको धारणा छ ।

सरकारी विद्यालयको स्तरन्नोति र राम्रो पढाईका लागि नियमित अनुगमनको खाँचो रहेको उनको बुझाई छ । ग्रामिण सडकहरुलाई पक्कीमा परिणत गर्दै आन्तरिक राजस्व कार्यालय राजविराजमा स्थापना भए व्यापार, व्यवसाय बढ्ने उनले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको स्तरन्नोति गर्दै टिचिङ अस्पताल बनाइए यहाँका बासिन्दालाई राम्रो हुने धारणा उनको छ ।

जनता मेरो साथमा छः जयप्रकाश ठाकुर

सप्तरी २ का अर्का उम्मेदवार हुन् जयप्रकाश ठाकुर । उनी राजपाका तत्कालीन सहमहामन्त्री थिए । तर, पार्टीले चुनावी तालेमल गरेर संघीय फोरमका उपेन्द्र यादवलाई समर्थन गरेपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उम्मेदवार बनेपछि भोट माग्न व्यस्त उनी बिहानै घरबाट निस्कछन् र राति अबेर मात्र र्फकन्छन् । भन्छन्, ‘मेरो उम्मेदवारी नभई जनताको हो र मेरो जित निश्चित छ ।’

पार्टीले आफ्नो राजनीतिक हत्या गरेको बताउँदै यो जनताले बुझेको उनको दाबी छ । स्वतन्त्र उम्मेदवमर बनेपछि राजपाले उनलाई कारबाही पनि गरेको छ । यद्यपि यसले केहि फरक नपर्ने र आफू नै निर्वाचनमा जित्ने उनको दाबी छ ।

पार्टीको हैसियत राम्रो बनाउन मैले दिनरात एक गरेँ । कति दिन भोकै बसेँ त कति रात जागेरै विताएँ’ उनी भन्छन्, ‘यो कुरा पार्टीले मनन् नगरेपछि उम्मेदवारी दिएँ ।’

‘जयप्रकाश धन कमाउनका लागि राजनीतिमा आएको छ भनेर कसैले सोचे त्यो गलत हुनेछ । म त जनताको सेवा गर्नका निम्ति राजनीतिमा आएको छु’ उनको दाबी छ ।

सप्तरी कृषियोग्य जिल्ला भएपनि यहाँको कृषि अत्यन्तै पछाडि परेकाले त्यसलाई सुधार्ने, पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने आफ्नो उद्देश्य रहेको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment