Comments Add Comment

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ

१० मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई मत दिन पाउने छैनन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गरेका छन् ।

गोरखा-२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ ।

राेल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र माओवादी नेतृ अोनसरी घर्तीमगरले पनि मतदान गरेका छन् ।

उनीहरूले रोल्पा नगरपालिका ७ बाल उदय मावि माडीचाैर केन्द्रबाट मतदान गरेका हुन् । एकमात्र निर्वाचन क्षेत्र रहेको राेल्पाबाट अनन्त प्रतिनिधिभा सदस्यमा र उनकी पत्नी अोनसरी घर्तीमगर समानुपातिकतर्फ उम्मेदवार छिन् ।

यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी-४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हालेका छन् । उनी सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ का उम्मेदवार हुन् ।

अग्नि सापकोटा

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मै नेपाली कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेत पनि प्रतिस्पर्धामा छन् । उनले पनि मतदान गरेका छन् ।

मोहनबहादुर बस्नेत

एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका-३ नारायणी उमावि केन्द्रमा छ । उनले पनि मतदान गरेका छन् ।

योगेश भट्टराई

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका-५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उनले यहीबाट मतदान गरेका छन् ।

जनार्दन शर्मा

कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैछन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले पनि आज मतदान गर्दैछन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका-९ मा छ ।

उनको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैछन् ।

यसैगरी पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पनि मतदान गरेका छन् । उनले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावि केन्द्रबाट मतदान गरेका छन् । जाजरकोटमा कांग्रेसबाट राजीवविक्रम शाह उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment