Comments Add Comment

डडेलधुरामा देउवाले हार्ने माओवादीको दाबी

कांग्रेस नेता भन्छन्- प्रदेश ७ मा हाम्रै सरकार बन्छ !

१७ मंसिर, कैलाली (अत्तरिया) । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रदेश-७ मा कसले सरकार बनाउला भन्ने बहस चुलिएको छ । वाम र लोकतान्त्रिक गठबन्धन दुवैले आ-आफूले सरकार बनाउने दाबी गरेका छन् ।

पछिल्लो समय यस प्रदेशमा माओवादी नेता लेखराज भट्ट र कांग्रेस नेता रमेश लेखक क्रमशः वाम र लोकतान्त्रिक गठबन्धनका खास रणनीतिकार मानिन्छन् । दुवै नेताले अनलाइनखबरसँगको कुराकानीमा आ-आफ्नै दाबी प्रस्तुत गरे ।

भट्टको दाबी छ, प्रतिनिधिसभाका १६ मध्ये १० देखि १२ वटा सिट जित्ने । यस्तै, प्रदेशसभातर्फका ३२ मध्ये २१ देखि २५ सिटमा विजय हासिल हुने उनी दाबी गर्छन् ।

उनको बुझाइमा स्थानीय तह निर्वाचनमा बाजुरामा सबै सिट जितेको एमालेको मतमा माओवादीको मत पनि जोडिएको छ । ‘०७० सालको दोस्रो संविधानसभा निर्वाचनको मत जोड्दा पनि त्यस्तै देखिन्छ,’ उनी भन्छन्, ‘त्यसमा ०६४ सालको पनि मत विश्लेषण गर्नुपर्छ, जसबाट एउटा आँकडा आउँछ ।’

बझाङमा वाम गठबन्धनमा विवाद छ । र, आन्तरिकरुपमा नमिलेका कुराले केही थपघट हुन सक्ने भट्ट बताउँछन् । उनका अनुसार बैतडीमा पनि माइनस-प्लसको अवस्था छ ।

‘दार्चुलामा वाम गठबन्धनको बढ्ने देखिन्छ । अछाममा पनि घटबढकै अवस्था छ,’ उनी भन्छन्, ‘डोटीमा प्रतिस्पर्धा छ र दुवैको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि छ । तथापि, भन्न नसकिने स्थिति छ ।’

भट्टको विश्लेषणमा वाम गठबन्धनका कारण डडेलधुरामा शेरबहादुर देउवाले चुनाव हार्ने अवस्था छ । भन्छन्, ‘जनलहरका हिसाबले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनको लहर देखिन्छ, त्यस हिसाबले देउवाजी चुनाव हार्दैछन्, डडेलधुरामा ।’

उनी थप्छन्, ‘कञ्चनपुरमा केही थपघट हुन सक्छ । त्यहाँ विना मगरले जित्ने निश्चित छ । अरु दुई सिटमा प्रतिस्पर्धा देखिन्छ ।’

कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये केही ठाउँमा प्रतिस्पर्धा र केहीमा वाम गठबन्धनको जित सुनिश्चित रहेको भट्टको दाबी छ ।

‘त्यसैले प्रदेश ७ मा सरकार वाम गठबन्धनले बनाउँछ । त्यसमा कुनै शंका छैन । अझ, बहुमतकै सरकार बन्छ,’ भट्ट भन्छन् ।

कांग्रेस नेता लेखक भने यस प्रदेशमा कांग्रेस सरकार निश्चित भइसकेको दाबी गर्छन् । कञ्चनपुरका तीनवटै सिट कांग्रेसले जित्ने र कैलालीका अधिकांश सिटमा कांग्रेसले नै जित निकाल्ने दाबी पनि उनको छ ।

‘समग्रतामा भन्नुपर्दा प्रदेशमा कांग्रेसको सरकार बन्छ,’ लेखक यसरी आफ्नो तर्क पेश गर्छन्, ‘सबैभन्दा बढी सिट कैलाली र कञ्चनपुरमा छन्, दुवै जिल्लामा अधिकांश सिट हामी जित्छौं । त्यसो हुनासाथ हामी बहुमतमा जान्छौं ।’

प्रतिनिधिसभाका १६ मध्ये आठ वटा सिट कैलाली र कञ्चनपुरमा छन् । दुवै जिल्लामा कांग्रेस मजबुत रहेको लेखकको दाबी छ । पहाडमा पनि कुनै ठाउँमा कांग्रेसले जित्दा बहुमत हासिल हुने उनको तर्क छ ।

प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ३०/३५ सिटमा कांग्रेसले जित्ने तथा प्रतिनिधिसभाका बहुमत सिट हासिल गर्ने लेखकको दाबी छ ।

प्रदेश राजधानीको रस्साकस्सी

प्रदेश-७ को राजधानी कहाँ राखिएला ? कैलालीका अधिकांश उम्मेदवार अत्तरिया र धनगढीलाई समेटेर राजधानी स्थापना हुनुपर्ने पक्षमा देखिन्छन् । माओवादी नेता भट्ट पनि तिनैमध्येका हुन् ।

कांग्रेस नेता लेखक भने यो प्रदेशसभाको जिम्मामा रहेको बताएर उम्किन चाहे ।

उच्चअदालत र प्रहरीका एआईजीको कार्यालय साविकको सुदूरपश्चिमको सदरमुकाम दिपायलमा राखिएको छ, जुन पहाडी जिल्ला डोटीमा पर्छ । सुदूरपश्चिमका नौ वटै जिल्ला प्रदेश-७ मा छन् ।

पहाडका सात वटा जिल्लाका बासिन्दा दिपायलमै राजधानी राखिँदा पायक पर्ने बुझाइमा देखिन्छन् । तराईका बासिन्दा भने कैलालीमा राजधानी सारिनुपर्ने पक्षमा छन् ।

मुख्यमन्त्री को ?

कुराकानीका क्रममा धेरैले माओवादी नेता भट्ट या कांग्रेस नेता लेखकमध्ये एकजना मुख्यमन्त्री बन्दा राम्रो हुने बताए । तर, दुवै नेता प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका उम्मदेवारले मुख्यमन्त्री बन्न पाउँदैनन् ।

वाम गठबन्धनबाट बाजुरामा प्रदेशसभा उम्मेदवार बनेका पूर्वमन्त्री कर्ण थापाले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सार्दै आएका छन् । कैलालीका कांग्रेस नेता डा. रणबहादुर रावलले पनि मतदातासँगको भित्री संवादमा आफूलाई भावी मुख्यमन्त्री बताउने गरेका छन् ।

प्रदेशसभामा निर्वाचित भएर आउने प्रभावशाली नेताहरुमध्येबाटै यसको छिनोफानो हुने निश्चित छ ।

‘प्रदेशबाट कस-कसले जितेर आउँछन्, त्यहीअनुसार निर्णय लिइनेछ, मुख्यमन्त्रीमा,’ कांग्रेस नेता लेखक भन्छन्, ‘प्रदेशसभाको संसदीय दलले नै आफ्नो नेता छान्ने हो । प्रदेश-७ मा कांग्रेसको संसदीय दलले जसलाई नेता तोक्छ, उही मुख्यमन्त्री ।’

माओवादी नेता भट्ट पनि को मुख्यमन्त्री भन्ने विषय तत्काल टुंगो लागिनसकेको बताउँछन् । पार्टीले आफूलाई मुख्यमन्त्री बनाउन चाहे पनि त्यसको उपाय खोज्न सकिने उनी बताउँछन् ।

एसियाली राजमार्गदेखि त्रिदेशीय व्यापारसम्म

भट्टको बुझाइमा भारतमा सञ्चालन आइसकेको एसियाली राजमार्गले प्रदेश-७ को कायापलट गराउन सक्छ ।

भन्छन्, ‘इरान र अफगानिस्तान हुँदै एसियाली राजमार्ग यता जोडिँदैछ । नेपालसँग मात्र जोड्न बाँकी छअब, जसले प्रदेश-७ को आर्थिक विकासमा ठूलै फड्को मार्न सकिनेछ ।’

त्यसबाहेक पश्चिम सेती आयोजना, खुटिया-दिपायल फास्ट ट्रयाक, सेती राजमार्गलगायत आयोजनाको कार्यान्वयनबाट पहाडी भेगको आर्थिक विकासमा पनि फड्को मार्न सकिने भट्टको बुझाइ छ ।

भारतको राजधानी नयाँदिल्ली, उत्तरप्रदेशको लखनऊ, उत्तराञ्चलको देहरादुन, उत्तराखण्डका रुद्रपुर, किच्छा,बरेली, मुरादावाद, मेरठ, नोयडा, फरिदावाद, गुडगाउँजस्ता औद्योगिक तथा व्यापारिक केन्द्रसँग कनेक्टिभिटी विस्तार गर्दा पिछडिएको यस प्रदेशको विकास तीव्र गतिमा हुने उनी बताउँछन् ।

लेखक भने त्रिदेशीय व्यापारको कुरा गर्छन् । भन्छन्, ‘भारत र चीन जोडेर त्रिदेशीय व्यापार सञ्चालनको प्रचुर सम्भावना छ । दक्षिण र उत्तर दुवै छिमेकी मुलुकको व्यापारिक नाका बन्न सक्छ यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment