Comments Add Comment

कांग्रेसमा बहसः देउवाको विकल्प को ? सिटौला, पौडेल कि अरु ?

यस्ता छन् कांग्रेस नेताका हेभीवेट अनुहार

२४ मंसिर, काठमाडौं । वाम गठबन्धनसँग शर्मनाक हार व्यहोरेको मुलुककै पूरानो दल नेपाली कांग्रेसभित्र पुनर्संरचनाको बहस शुरु भएको छ । शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अावाज उठ्न थालेको छ । तर, देउवाले राजीनामा दिएपछि पार्टी सभापति कसले चलाउने ? यसबारे कांग्रेसकै नेताहरु स्पष्ट छैनन् ।

कतिपय यस्ता नेता पनि देखिएका छन्, जो कांग्रेसको अहिलेको दुर्गतिका मुख्य खलनायक गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालाई मान्छन् । अहिले शेरबहादुर देउवालाई पनि त्यस्तै खलनायकका रुपमा विश्लेषण गर्न थालिएको छ ।

गिरिजाप्रसाद कोइरालाले मुलुकलाई गणतन्त्रको कोर्समा प्रवेश गराएको, आसन्न संवैधानिक संकट टार्न देउवाले आफ्नै पार्टी हार्दै गर्दा तीन तहको निर्वाचन गराएको र सिटौलाले माओवादीलाई जंगलबाट शान्ति प्रक्रियामा ल्याएर गल्ती गरेको बताउनेहरु कांग्रेसभित्र प्रशस्त छन् ।

कांग्रेसका कतिपय नेताहरु तत्काल पार्टी सभापति देउवाको राजीनामा चाहन्छन् । र, दोस्रो पुस्ताका नेतामा नेतृत्व हस्तान्तरण हुनुपर्ने ठान्छन् । तर, गम्भीर प्रश्न के छ भने देउवाले राजिना दिएपछि उनको विकल्प को ?

पूरानो पुस्ताका यी नेता

शेरबहादुर देउवा– पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा देउवाले संवैधानिक संकटको संघारमा मुलुकलाई निकास दिए । देशभर पार्टी नेताहरु हारिरहँदा उनले डडेलधुरामा आफ्नो विजय सुनिश्चित गरे ।

तर, आफ्नै पार्टी पाँच वर्षका लागि फराकिलो अन्तरसाथ प्रतिपक्षमा पुग्नुपर्ने नियतिबाट जोगाउन सकेनन् । नैतिक संकटमा जेलिएका देउवाबाट पार्टीको पुनर्संरचना गर्दै फेरि पुरानो विरासत फर्काउन सम्भव छ त ? पार्टीभित्र संशय झल्किन्छ ।

उनको विगतले पनि पार्टी पुनर्संरचनाको ‘कोर्स’को नेतृत्व लिन देउवा सक्षम रहेकोमा शंका छ । संसदीय व्यवस्थामा प्राडो, पजेरो, सांसद किनबेच, सुरा र सुन्दरीको प्रवेशका मुख्य कारक मानिन्छन्, उनी । जम्बो मन्त्रिपरिषद्को आफ्नै इतिहास ‘ब्रेक’ गर्दै अहिले प्रधानमन्त्री छन्, उनी ।

नैतिक संकटमा जेलिएका देउवाबाट पार्टीको पुनर्संरचना गर्दै फेरि पुरानो विरासत फर्काउन सम्भव छ त ? पार्टीभित्र संशय झल्किन्छ

कांग्रेसको १३औं महाधिवेशनमा विपक्षी अर्थात् रामचन्द्र पौडेल नेतृत्वको समूहलाई फराकिलो अन्तरसाथ हराउँदै गर्दा देउवाको नेतृत्वमा पार्टीले नयाँ उचाइ प्राप्त गर्ने आशा देखिन्थ्यो, नेता/कार्यकर्तामा । भइदियो उल्टो, उनी तत्कालीन सुदूरपश्चिमको साँघुरो घेरामा रमाएको देखियो । र, राज्य सञ्चालनको पाटोमा विवादै विवादको चक्रमा पिल्सिँदै गर्दा देशव्यापी रुपमा कांग्रेस अलोकप्रिय बन्न पुग्यो ।

त्यसैले सभापति देउवाको नेतृत्वमा कांग्रेसको पुनप्र्राप्ति सम्भव देखिँदैन । ७२ वसन्त पार गरिसकेका देउवाबाट अब नयाँ सोच र नेतृत्वभन्दा अवकाशको जीवनको मात्र अपेक्षा गर्न सकिन्छ ।

रामचन्द्र पौडेल– सिद्धान्तका हिसाबले कांग्रेसमा अहिले सबैभन्दा नैतिकवान नेता हुन्, पौडेल । तर, अनुयायीको पाटोबाट नि ? आफूबाहेकका उनका सिद्धान्तका अनुयायी देखा पर्न सकेनन् ।

सिद्धान्त नै नबिकेका नेताबाट कांग्रेसको व्यवहारिक सुधार सम्भव छ त ? पौडेलका हकमा पनि हरियो नभई रातो झण्डा देखापर्छ, परिदृष्यमा । अझ, आफैंले चुनाव हारेको नैतिक बलबाट पौडेलको नेतृत्वले कांग्रेसको ‘ओभर हल’ सम्भव देखिँदैन । उनलाई साँघुरो मनका धनी व्यक्तित्वको आरोप पार्टीभित्रैबाट लाग्ने गरेको नयाँ विषय होइन ।

नेता हुन र नेतृत्व गर्नका लागि फराकिलो छाति अनिवार्य शर्त हो । ७३ औं वसन्त पूरा गरिसकेका पौडेलमा त्यस्तो फराकिलो छाति विकास हुने आशा न्यून देखिन्छ ।

शशांक कोइराला– कांग्रेसका संस्थापक, विचार र व्यवहारका पथद्रष्टा बीपी कोइरालाका कान्छा पुत्रका रुपमा शशांकप्रति पार्टीभित्र ज्यादा आशा र भरोसा पाइन्छ, कांग्रेसका नेता/कार्यकर्तामा ।

कांग्रेस राजनीतिमा लागेको कोइराला परिवारको दोस्रो पुस्ताका सबैभन्दा कान्छा सदस्य हुन्, शशांक । पार्टीको १२ औं र १३औं महाधिवेशनमा उनले कार्यकर्ताको लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

०६४ र ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा उनी तत्कालीन नवलपरासी–१ बाट फराकिलो अन्तरसाथ विजयी बनेका थिए । अहिले पनि फराकिलो अन्तरसाथ अगाडि छन् ।

पेसाले शशांक नेत्ररोग विशेषज्ञ थिए । ‘टेक्नोक्र्याट’को पृष्ठभूमिबाट राजनीतिमा पदार्पण सहज विषय होइन । कांग्रेसको महामन्त्री बनिसक्दा पनि शशांकमा पूरानो पृष्ठभूमिले समस्या ल्याउने गरेको बेला–बेलामा प्रकट हुँदै आएको छ ।

शशांक कांग्रेसभित्र सक्रियता र संगठन विस्तारमा भन्दा रक्सी खाने र गेम खेलेर समय गुजार्ने बिलाशी नेताका रुपमा परिचित छन्

अबेर रातिसम्म बस्ने र बिहान ढिलो ओछ्यान छाड्ने दिनचर्याका कारण उनी कार्यकर्तामा भिज्न नसकिरहेको बताउनेहरु धेरै छन्, कांग्रेसमा । तर, लोभ नगर्ने र जति पनि खट्न सक्ने उनको व्यक्तित्वले आशा गर्ने झिनो ठाउँ दिन्छ ।

कांग्रेसमा दुई वर्गबाट पार्टी नेतृत्वमा पुग्ने परम्परा छ, वंश र वरिष्ठता । शशांकलाई वंश परम्पराका उत्तराधिकारीका रुपमा हेरिन थालेको दशक नाघेको छ । उनको विकल्पका रुपमा मानिने गरेका डा. शेखर कोइराला गृहजिल्ला मोरङबाट प्रतिनिधिसभा निर्वाचनमा पराजय भइसकेको सन्दर्भमा कोइराला परिवारका साझा उत्तराधिकारीको रुपमा शशांकलाई लिइन थालेको छ ।

तथापि, पार्टीको लज्जास्पद पराजयका पछाडि महामन्त्रीका रुपमा शशांकले पनि नैतिक जिम्मेवारी लिनुपर्ने अवस्था छ । र, कार्यकर्ताले शशांकलाई कति स्वीकार गर्छन्, त्यो भविष्यकै जिम्मा छाडिदिऊँ ।

शशांक कांग्रेसभित्र सक्रियता र संगठन विस्तारमा भन्दा रक्सी खाने र गेम खेलेर समय गुजार्ने बिलाशी नेताका रुपमा परिचित छन् । उनलाई पार्टी जिम्मा लगाउँदा देउवा भन्दा फरक नपर्ने कतिपय कार्यकर्ताको विश्लेषण छ । यद्यपि उनी कांग्रेसको सभापति दाबी गर्ने नेता हुन् ।

विचारका हिसाबले पनि शशांक स्पष्ट छैनन् । उनी संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षताका विरोधी हुन् ।

कृष्णप्रसाद सिटौला– गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कांग्रेसमा अलग्गै गुट निर्माण गरेका छन्, सिटौलाले । भावी नेतृत्वको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका सिटौला झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् ।

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाका एक विश्वास पात्रका रुपमा सिटौलाले निर्वाह गरेको भूमिकाकै कारण उनी राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल बनेका हुन् । तर, ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भएको पराजय गणतन्त्र नेपालको पहिलो संसदमा पनि दोहोरिएको छ ।

भावी पार्टी सभापतिका रुपमा सिटौलाले सर्वस्वीकार्यता नपाउने स्थिति छ ।

प्रकाशमान सिंह– स्वर्गीय गणेशमान सिंहका पुत्र प्रकशमानले काठमाडौं–१ मा पार्टीको विरासत जोगाउँदै मुलुकभरको वाम लहरलाई चुनौति दिएका छन् । कांग्रेसको १२ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका उनी अहिले भने केन्द्रीय सदस्यको भूमिकामा मात्र छन् ।

सिंह पनि कांग्रेसभित्र नेतृत्वका दाबेदार हुन् । तर, उनीमाथि पार्टीको कुशल संगठक बन्न नसकेको, अल्छी एवं कार्यकर्तामाझ धेरै घुलमिल हुन नसक्ने नेताको आरोप छ ।

डा. रामशरण महत– राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र त्यसपछि अर्थमन्त्रीका रुपमा नेपाललाई खुला बजार अर्थतन्त्रमा प्रवेश गराउने डा. महत नै हुन् । कांग्रेसको इतिहासमा सबैभन्दा आलोचित पात्र पनि उनी नै हुन् ।

कम्युनिस्टहरुले कांग्रेसले सबै उद्योगधन्दा कौडीको भाउमा बिक्री गरेको आरोपको केन्द्रमा डा. महत नै छन् । सामाजिक सुरक्षाको पाटोमा सिन्को नभाँच्दै गर्दा र भत्ता वितरणको विपक्षमा आवाज उठाउँदै गर्दा उनी कम्युनिस्ट एजेन्डाका नकारात्मक पक्ष बुझाउन सर्वथा असफल देखिन्छन् ।

कांग्रेसको आर्थिक एजेन्डा नै गलत भएको बुझाइ कार्यकर्तामा झाँगिँदै गर्दा उनी त्यही नै सही भएको प्रमाणित गर्न असफल छन् ।

कांग्रेसले भविष्यमा आफ्नो विगतको आर्थिक नीति समीक्षा गर्नुपर्ने टडकारो आवश्यकताबीच डा. महत पार्टी पुनर्संरचना प्रक्रियामा ‘डेट एक्स्पायर्ड’ हुने जोखिममा देखिन्छन् । किनभने कांग्रेसको भविष्य कम्युनिस्टहरुले समातेको दलाल पूँजीवादी धारबाट उकालो लाग्ने कुनै सम्भावना छैन । डा. महतजस्ता नेता अबको कांग्रेसका लागि सर्वस्वीकार्य हुन सक्ने कुनै गुञ्जायस देखिँदैन ।

अर्जुननरसिंह केसी– नुवाकोटमा आफ्नै विरासत गुमाउन पुगेका केसीबाट कांग्रेस पुनर्संरचनाको नेतृत्व लिन सक्ने मनोबलको अपेक्षा गर्न सकिँदैन । राजनीतिक व्यक्तित्व भइकन पनि आफ्ना केही कमजोरीका कारण उनी आलोचनाका पात्र बन्दै आएका छन् ।

आरजु राणा– कांग्रेसको सम्भ्रान्त साइनो गाँसिएको छ, डा. राणासँग । पढेलेखेकी र विद्वान छविकी उनी कांग्रेसको संस्कार र शैलीसँग एकाकार हुन नसकिरहेको देखा पर्छ ।

प्रधानमन्त्री पत्नीका रुपमा उनको भलादमीपन र परिपक्वता कार्यकर्ताको तहमा प्रतिबिम्बित हुन नसक्नु नै डा. राणाको मुख्य समस्या हो । तथापि, प्रधानमन्त्री देउवाको वृत्तमा भ्रष्टाचार मौलाउने मुख्य पात्रका रुपमा उनको आलोचना हुने गरेको छ ।

संघर्ष गरेर आएका नेताहरुले उनलाई नेता मान्दैनन् । र, ‘ब्याकडोर’ राजनीतिज्ञहरुकी संरक्षकका रुपमा उनी देखा पर्छिन् । प्रहरी, कर्मचारीको सरुवा, बढुवामा उनकै हस्तक्षेपका कारण देउवाले बदनामी बेहोर्नु परिरहेको आरोप लगाउनेहरु कांग्रेसमा प्रशस्त भेटिन्छन् ।

प्रत्यक्षतर्फ पहिलो चुनावमै पराजित भइसकेकी डा. राणाको नेतृत्वमा पार्टीको पुनर्संरचना असम्भव देखिन्छ ।

पूर्णबहादुर खड्का– पूर्वगृहमन्त्री खड्का सुर्खेतबाट चुनाव हारिसकेका छन् । कांग्रेस पुनर्संरचनाको नेतृत्व गर्ने मनोबल खस्किसकेको छ, उनको । आफ्ना समकक्षीमध्ये खड्का केही हदसम्म निष्कलंकित नेता मानिन्छन् । तर, उनी कुशल संगठन होइनन् ।

खुमबहादुर खड्का– भ्रष्टाचार काण्डमा जेल सजायँ भोगिसकेका खड्काबाट पार्टी पुनर्गठनको अपेक्षा गर्न सकिँदैन । कुशल संगठक भएका कारणले भ्रष्टाचार नडामिएको भए उनीबाट कांग्रेसको पुनर्गठन मात्र होइन, पुनर्जागरणकै अपेक्षा गर्न सकिन्थ्यो । तर, अहिले खुमबहादुर जति सक्रिय हुन्छन्, उति नै कांग्रेसको अलोकप्रियता बढ्छ ।

गोविन्दराज जोशी– भ्रष्टाचारमै मुछिइसकेका जोशीबाट पनि कांग्रेसको पुनर्ताजगी अपेक्षा गर्न सकिँदैन । वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन तनहुँ–१ मा जोशीले लगाएको बलकै कारण पनि उनी अब उक्त पार्टीको नेता नरहने संकेत पाइसकेका छन्, कार्यकर्ताले ।

जोशीले आफूलाई पुरानो कांग्रेस दाबी गरे पनि उनी पार्टीको नेतृत्वमा आउने सम्भावना छैन । आए भने कांग्रेसलाई नाम हैन बदनामी नै बढ्ता हात लाग्ने छ ।

मझौला कदका यी नेताहरु

कांग्रेसभित्र मझौला कदका केही नेताहरु पनि छन् । तिनीहरुबाट कांग्रेसको शुद्धीकरण कसरी सम्भव होला ? यो उमेर समूहका नेताहरु यस्ता छन् ।

महेश आचार्य– एक समय थियो, आचार्यलाई कम्युनिस्टसँग वैचारिक टक्कर लिन सक्ने एजेन्डा रहेको मानिन्थ्यो । तर, लम्बेतान भाषणमै सीमित देखिन्छ, उनको व्यक्तित्व ।

यसपटकको निर्वाचनमा वामपन्थीलाई अधिनायकवादी भन्दै घोषणापत्र तयार पार्ने नेता महेश नै थिए । यही घोषणापत्रले मुलुकभर पार्टीलाई पराजय चखायो । मोरङमा आचार्य आफैं पराजित बने । त्यसैले आचार्यबाट पार्टीलाई पुनर्ताजगी दिने आशा गर्न सकिने ‘ग्राउन्ड’ कमजोर भइसकेको छ ।

पार्टीको आर्थिक नीति नै गलत भएको बताउँदै आलोचना भइरहँदा डा. रामशरण महत सबै विष आफैं पिउन तत्पर देखिन्छन् । तर, त्यसको भागिदार आचार्य पनि हुन् । पार्टीभित्रै ‘देश बिगार्ने’ एक मुख्य पात्रका रुपमा आचार्यको आलोचना हुने गर्छ ।

कार्यकर्तालाई वास्ता नगर्ने र घरको चौघेरामै रमाउने उनको बानीले पनि सक्रिय राजनीतिको अपेक्षा कमजोर बनाइदिन्छ । यसपालिको चुनावमा आचार्यले आफ्नो सम्धीलाई प्रदेशमा उठाएको चर्चा खुबै चल्यो ।

कृषि विकास बैंकको जीएम बन्न खोज्दा गिरिजाले अर्थराज्यमन्त्री बनाएपछि आचार्यको सिंहदरबार यात्रा सुरु भएको हो । उनमा वौद्धिकता जति छ, संगठनात्मक कुशलता त्यति देखिँदैन ।

डा. मिनेन्द्र रिजाल– मोरङबाट आफ्ना सहयात्री सबै नेताले पराजयको सामना गर्दै गर्दा डा. रिजालले एकाएक चुनाव जितेर सबैलाई आश्चर्यमा पारेका छन् । सबैलाई मिलाउन सक्ने खुबीका कारण उनलाई पार्टीभित्र मन पराउनेहरुको कमी देखिँदैन ।

तर, डा. रिजाल कुशल संगठक होइनन् । प्राज्ञिक व्यक्तित्वको छविले उनलाई पार्टी काममा चौबीसै घण्टा तैनाथ रहने सुविधा नदिइरहेको प्रतीत हुन्छ । परिस्थितिको विश्लेषण र रणनीति तयार गर्ने खुबीका कारण डा. रिजाल पार्टी पंक्तिमा चिनिएका छन् ।

तर, पार्टीलाई नयाँ दिशा दिने सवालमा ‘ठूलाबडा’सँगको मात्र संगत गर्ने उनको बानी बाधक बन्न सक्छ । पटक–पटक मन्त्री बन्दा उनले त्यो घेरा नाघ्न सकेको देखिँदैनथ्यो । स–साना कमीकमजोरीलाई टाढा राख्न सके भने डा. रिजालबाट कांग्रेसजनले अपेक्षा गर्न सक्छन् ।

सुजाता कोइराला– कांग्रेसभित्र विवाद र चर्चामा आइरहने पात्र हुन् सुजाता । उनी न त कुशल संगठक, न पार्टी व्यवस्थापनमै अब्बल छिन् । तर, गिरिजाप्रसाद कोइरालाको विरासत भएका कारण उनी पनि नेतृत्वको दाबेदार बन्ने गरेकी छिन् ।

पछिल्लो समयमा सुजाता निकै संयमित छिन् । शेरबहादुर देउवाले लिँदै गरेको भारतपरस्त नीतिको आलोचना गर्दै सुजाता पार्टीको नेतृत्व युवा पंक्तिलाई दिनपर्ने पक्षमा छिन् । विगतमा केही दुरी रहेपनि हाल शशांक, शेखर र सुजाता कोइरालावीच राम्रो सम्बन्ध विकास भएको छ ।

केही महिना पहिले कोइरालात्रयले सामुहिक तस्वीर खिचाएर कांग्रेसको नेतृत्व आफूले गर्ने दाबी गरेका थिए ।

डा. शेखर कोइराला– कोइराला परिवारमा परिपक्व राजनीतिज्ञका रुपमा उदाउँदै गरेका डा. कोइराला यसपटकको निर्वाचनमा एमालेका सादगी नेता लालबाबु पण्डितसँगको पराजय का कारण कमजोर बनेका छन् ।

शेखर पार्टी सभापति देउवाका कटु आलोचक मानिन्छन् । स्थानीय तहको निर्वाचनमा असन्तुष्ट पक्षलाई आफ्नो वृत्तमा तान्ने उनको प्रयासको पार्टी वृत्तमा प्रशंसा भएको पनि थियो ।

तर, अहिले आफैं निर्वाचनमा पराजित भएको अवस्थामा डा. कोइरालाबाट पार्टीको नेतृत्व लिने तत्परतामा संशय गर्ने ठाउँ छ ।

यी नयाँ अनुहार, जसलाई पुराना कांग्रेसले पत्याउँदैनन्

गगन थापा– कांग्रेस मात्र होइन, देशले नै आशा गरेका युवा नेता हुन्, थापा । देशभर कांग्रेसविरोधी लहर चल्दै गर्दा थापाले काठमाडौं–४ बाट विजय हासिल गरेर आफूलाई खरो उतारेका छन् । सामाजिक सञ्जालमा उनका ‘फलोअर’ व्यापक छन् ।

थापामा नेतामा हुनुपर्ने गुण पनि प्रशस्त पाइन्छ । कार्यकर्ताको संरक्षण र पार्टी संगठनको रक्षामा उनको कार्यशैलीलाई बेठीक मान्न सकिँदैन ।

गगनलाई कांग्रेसभित्रको पुरानो पुस्ताले अझै केटाकेटी ठान्छ र पत्याउँदैन

तथापि, उनको बेला–बेलामा आलोचना भइरहन्छ । उनकै समवयी नेताहरु पनि थापाको आलोचना गर्न पछि पर्दैनन् ।

यद्यपि, कांग्रेसको पुनर्संरचनामा एक आशालाग्दा पात्र हुन्, गगन । प्रखर वक्ता, सबैसँग भिज्न सक्ने व्यक्तित्व र कुशल संगठकका नाताले कांग्रेसको नयाँ पुस्ताले गगनबाटै ज्यादा आशा गरेको पाइन्छ ।

तर, गगनलाई कांग्रेसभित्रको पुरानो पुस्ताले अझे केटाकेटी ठान्छ र पत्याउँदैन ।

धनराज गुरुङ– यसपटकको चुनावमा पार्टी सभापति देउवाको कोपभाजनमा परेका नेता हुन्, गुरुङ । उनले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ टिकट पाउन सकेनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउन अग्रसरता लिएका कारण उनको देशव्यापी प्रशंसा भएको थियो । कार्कीको दादागिरिविरुद्ध उभिने सक्ने आँट कांग्रेसमा गुरुङले नै गरेका थिए ।

कार्कीका कागजात माग गर्दा सिंहदरबार निर्वस्त्र उभिएको र संसद पनि निर्वस्त्र बस्न नमिल्ने उनको भनाइले तहल्का पिटेको थियो, त्यतिबेला । निडर, कुशल संगठक र प्रखर वक्ता गुरुङबाट कांग्रेसले नयाँ पुनर्जागरणको अपेक्षा गर्न सक्छ । तर, उनलाई पनि पुरानो बूढो पुस्ताले पत्याउँदैन ।

विश्वप्रकाश शर्मा– नेविसंघको अध्यक्षका रुपमा कांग्रेसको राजनीतिमा उदाएका हुन्, शर्मा । उच्च राजनीतिक संस्कार यिनको मुख्य पहिचान हो । सबैसँग घुलमिल हुन सक्ने, कार्यकर्तामाझ भिजेको व्यक्तित्व निर्माण गरेका छन् ।

भविष्यमा कांग्रेसलाई नयाँ दिशा दिन सक्ने खुबी भएका नेताका रुपमा पनि उनी चिनिने गरेका छन् । तर, शर्माका लागि दुर्भाग्य बनेर आएको छ, चुनावमा पराजय । उनले पहिलो पटक होइन, दोस्रो पटक चुनावी असफलता बेहोर्नुपरेको छ ।

कांग्रेसको संगठन गर्ने आत्मबलमा चुनावमा विजयले सुनमा सुगन्धझैं हुने थियो । शर्माका लागि त्यो अवसर भने बाँकी रहेन । शर्माका आलोचकहरु भन्ने गर्छन्, भाषणको प्लट तयार गर्दै गर्दा शर्मा उपन्यासकार बन्न लागे । आगामी दिनमा ठोस एजेन्डासाथ कांग्रेसमा हाबी हुन सके भने शर्माको मात्र होइन, पार्टीको भविष्य पनि उज्वल देखिन्छ ।

सुरेन्द्र पाण्डे– अध्ययनशील, बौद्धिक र भद्र छवि निर्माण गरेका छन्, पाण्डेले पछिल्ला दिनमा । डा. बाबुराम भट्टराईका लागि गोरखा–२ छाड्दै गर्दा कांग्रेस सभापति देउवाले पाण्डेलाई संसदीय राजनीतिमा पछाडि पारेका छन् ।

कांग्रेसमा एउटा आशालाग्दा युवा हुन्, पाण्डे । तर, उनको ठाडो प्रस्तुती शैली साथीभाइ माझ आलोचनाको विषय बन्दै आएको छ ।

प्रखरवक्ता र कुशल संगठकका रुपमा चिनिएका पाण्डेले पनि कांग्रेसको पुनर्जागरणमा भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

गुरुराज घिमिरे– खासमा, यसपटक मोरङमा महेश आचार्यले रोजेको निर्वाचन क्षेत्रमा घिमिरेको दाबी थियो । हुँदाहुँदा प्रदेशसभाको सिटमा पनि सम्धीलाई टिकट दिलाएर आचार्यले घिमिरेलाई टेक्ने ठाउँसम्म दिएनन् ।

त्यस हिसाबले कांग्रेसको शीर्षतहबाट पीडित युवा नेता हुन्, घिमिरे । नेविसंघको अध्यक्षका रुपमा ०६२/६३ को आन्दोलनमा गणतन्त्रको नारा कांग्रेसमा प्रवेश गराउनमा उनको पनि योगदान थियो । तर, महामन्त्री गगन थापाको प्रखर वक्तृत्व शैलीका कारण छायाँमा परे, घिमिरे ।
हुन त कांग्रेसमा प्रदीप गिरीजस्ता विद्वानहरु पनि नभएका होइनन् । तर, उनबाट विचार विश्लेषण बाहेक संगठनात्मक नेतृत्व हुन सक्ने देखिँदैन ।

कांग्रेसमा विमलेन्द्र निधी अर्का पात्र हुन् । तर, उनमा पनि सर्वस्वीकार्य राजनेता हुने क्षमता देखिँदैन ।

माथि चर्चा गरिएका नेताहरुले आफूलाई सच्याउँदै अगाडि बढे भने कांग्रेसको पुनरोदय र पुनप्र्राप्तिको कोर्स पूरा होला । अन्यथा पुरानै ढंगबाट अघि बढ्यो भने कांग्रेसको ‘कमब्याक’ कठिन हुने देखिन्छ आगामी दिनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment