काठमाडौं । जाडो बढ्दो छ, यसबेला तातो चिया पिउनुको मज्जा नै बेग्लै हुन्छ । सामान्यतया पानीमा चियापत्ती र चिनी हालेर त्यसलाई एक छिन उमाली चिया बनाइन्छ ।
परम्परागत हिसाबले चिया पकाउने यसरी नै हो । तर, बढ्दो व्यस्तता र झण्झट हटाउन अहिले धेरै मानिसले चिया पकाउने यो तरिका छाडेर टी-ब्याग प्रयोग गर्छन् ।
कार्यालय होस् या घर, चिया पारखीमाझ टी-ब्याग लोकप्रिय बन्दै गएको छ ।
तर, हालैको एक अनुसन्धानबाट बाथरुममा प्रयोग गरिने शौचालय सिटको तुलनामा टी-ब्याग धेरै घातक हुने गरेको पत्ता लागेको छ ।
उक्त अनुसन्धानअनुसार शौचालयको सिटमा जम्माजम्मी दुई सय २० किटाणु पाइएका छन् । एक मध्यम किसिमको टी-ब्यागमा भने ३७ सय ८५ वटा किटाणु पाइएका छन् । यो शौचालयको सिटमा पाइएका किटाणुको तुलनामा १७ गुणाभन्दा बढी हो ।
‘इनिसियल वासरुम हाइजिन’का अनुसन्धानकर्ताहरुले करिब एक हजार कामदारलाई अनुसन्धानमा सहभागी गराएका थिए । त्यसक्रममा करिब ८० प्रतिशत कामदारले चिया बनाउनुअघि हात धुन जरुरी नसम्भिmएको बताएका थिए ।
जबकि, हाइजिनका मामिलामा कार्यालयहरु बढी सचेत र सतर्क हुनुपर्ने उक्त अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. पिटर बारेट बताउँछन् ।
‘दी इन्डिपेन्डेन्ट’मा उल्लेख भएअनुसार डा. बारेटले भनेका छन्, ‘अफिसका भान्छामा प्रयोग गरिने जग, मग, टी-ब्यागलगायतमा अपनाइने असावधानीले रोग बढाउने काम गरिरहेको छ ।’
प्रतिक्रिया 4