Comments Add Comment

प्रदेश ४ः प्रतिनिधिसभामा एमालेका कसैले पनि हार्नु परेन

२८ मंसिर, पोखरा । प्रदेश ४ मा नेकपा एमाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका सबै क्षेत्रमा विजयी भएको छ । प्रदेशसभामा पनि एउटा बाहेक सबै क्षेत्रमा जीत हासिल गरेर पहिलो पार्टी बनेको हो ।

प्रतिनिधि सभामा १८ क्षेत्र रहेको यो प्रदेशमा गठबन्धन बनाउँदा एमालेको भागमा १३ र माओवादी केन्द्रको भागमा ५ क्षेत्र परेको थियो । एमालेले पाएका प्रतिनिधिसभातर्फ कास्कीका ३ वटै क्षेत्र जितेको छ । स्याङ्जा र तनहुँमा २/२ क्षेत्र रहेको दुबै जिल्लामा एमालेले जितेको छ । १/१ क्षेत्र रहेको मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा एमालेले जितेको छ । त्यसैगरी एमालेले लिएको बागलुङको क्षेत्र नम्बर १ मा पनि जितेको छ । नवलपुर २ मा पनि एमालेले जितेको छ ।

कांग्रेसले प्रदेश ४ लाई मजबुत ठानेको थियो । तर, प्रदेशबाट प्रतिनिधिसभाका १८ मध्ये जम्मा १ सिटमा चित्त बुझाउनुपर्‍यो । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट विजयी भए । गण्डकी र धवलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभामा १ जना पनि पठाउन सकेन ।

प्रदेश नम्बर ४ मा धवलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् । गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवलपुर क्षेत्र पर्छन् ।

गोरखा १ बाट माओवादीका हरि अधिकारी, २ बाट नयाँ शक्तिका बाबुराम भट्टराई, लमजुङबाट माओवादीका देव गुरुङ र बाग्लुङ २ बाट देवेन्द्र पौडेल विजयी भए । बाँकी १३ सिटमा एमालेले जीत हासिल गरेको छ ।

प्रतिनिधिसभामा १८ मध्ये १६ सिट जितेको वाम गठबन्धनले यो प्रदेशमा खसेको सदर मतमध्ये ५१ प्रतिशत मत ल्याएको छ ।

१ सिट मात्र जितेको कांग्रेसले वाम गठबन्धनलाई पछ्याउँदै ३९ प्रतिशत मत ल्याएको छ । यसमा नयाँ शक्तिका बाबुराम भट्टराइले ल्याएको ३१ हजार ८ सय ७ मत जोडिएको छैन । भट्टराईले ल्याएको मत जोड्दा ४२ प्रतिशत हुन आउँछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ का ११ जिल्लामा १० लाख ६० हजार ४ सय ३९ मत सदर भएको थियो । जसमध्ये वाम गठबन्धनले ५ लाख ४१ हजार ७ सय ४४ र कांग्रेस एक्लैले ४ लाख १८ हजार ७६ मत ल्याएको छ ।

शीर्ष नेताको हार

प्रदेश ४ को प्रतिनिधिसभामा कांग्रेस र माओवादीका भने शीर्ष नेताले पनि हार बेहोर्नुपर्‍यो । लगातार ५ वटा चुनावमा जितेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा एमालेका कृष्णकुमार श्रेष्ठसँग हार खेप्नु पर्‍यो ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई एमाले स्याङ्जा जिल्ला अध्यक्ष पद्मा अर्यालले हराएकी छन् । कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ २ मा एमालेका केदार सिग्देलसँग हारे भने रोमी गौचन थकाली मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनसँग पराजित भए ।

लामो समयसम्म कांग्रेसमै क्रियाशील तुलाचन ६ महिना अघि मात्र एमाले प्रवेश गरेका हुन् ।

उता माओवादीले सुरक्षित ठानेको गोरखा २ मा नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका बाबुराम भट्टराईसँग हारे । पहिला वाम गठबन्धनबाट सूर्य चिहृन लिएर चुनाव लड्ने घोषणा गरेका भट्टराईलाई माओवादीले गोरखा २ नदिने भएपछि गठबन्धनबाट बाहिरिएका थिए ।

वामलाई बहुमत

प्रत्यक्षमा ३६ र समानुपातिकबाट २४ गरी ६० सिट हुने प्रदेश ४ मा वाम गठवन्धनको वहुमत हुने प्रष्ट भएको छ । समानुपातिकमा हालसम्मको नतिजामा कांग्रेस दोस्रो नम्बरमा छ । प्रत्यक्षतर्फ एमाले १७, माओवादी ९, कांग्रेस ६, जनमोर्चा २, नयाँशक्ति १ र स्वतन्त्र १ जना विजयी भएका छन् । मनाङको प्रदेश सभा (ख) मा राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले एमालेको समर्थनमा चुनाव जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment