Comments Add Comment

हिमपात पर्खिंदै उत्तरी गोरखाका बासिन्दा, सुरु भएन खेतीपाती

साहसिक पर्यटनमा धक्का पुग्ने छाँट

७ पुस, गोरखा । जिल्लाको उत्तरी भेगका विकट बस्तीहरुमा अहिलेसम्म हिमपात भएको छैन । छिमेकी जिल्लाहरु मनाङ र मुस्ताङका उत्तरी भेगमा भने हिमपात भइसकेको छ ।

‘अघिल्ला वर्षहरुमा यतिबेला हिउँ परिसक्थ्यो,’ सामागाउँका दिनेश तामाङले भने, ‘यस वर्ष भने अहिलेसम्म परेको छैन ।’

उनका अनुसार शुक्रबार पनि घाम लागेर मौसम सफा छ । त्यस भेगका साम्दो, सामागाउँ र स्यालामा बढी हिमपात हुन्छ । त्यस क्षेत्रमा पाँच फिटसम्म हिउँ जम्थ्यो । नाम्रुङ र ल्होमा भने हिउँ परे पनि जमेर बस्दैनथ्यो ।

हिउँ परेपछि उत्तरी क्षेत्रका बासिन्दाले खेती लगाउन शुरु गर्छन् । ‘अहिले हरियो कतै छैन, खेती लगाउने ठाउँ धुलाम्य छ,’ तामाङले भने, ‘अब हिउँ पर्छ अनि पग्लिएपछि खेतीपाती सुरु हुन्छ ।’

हिउँ पग्लिएसँगै जौ, आलु, सागसब्जीलगायत खेती गर्छन्, स्थानीय बासिन्दाले ।

हिमपातपछि चिसो अत्यधिक बढ्छ, त्यस भेगमा । चौंरी, भेडालगायत घरपालुवा चौपायालाई चरन क्षेत्र लैजान सकिँदैन ।

‘अरु बेला चौंरी, याकहरुलाई चरन क्षेत्रमा लगिन्छ, जंगलमै खान पाउँछन् । तर, हिउँ परेपछि बाहिर निस्किन सकिँदैन, घरमै राखेर पाल्नुपर्छ,’ स्थानीय मिङमार लामाले भने । यस पटक भने हिमपातपछिको कष्ट बेहोर्नुपरेको छैन, स्थानीय बासिन्दाले ।

हिउँ पर्ने आशामा केही स्थानीय बासिन्दा बेंसी झरिसकेका छन् । तर, अहिलेसम्म हिमपात हुने लक्षण नदेखिएपछि अधिकांश गाउँमै छन् ।

गोरखा नजिकैको मनास्लु हिमाल

पर्यटनको आधार हिउँ

विकट तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण उत्तरी गोरखा । हिमाल पग्लेर बनेका हिमतालहरु, तालका वरपर चरनका लागि आउने नाउर, मृगजस्ता जंगली जनावरहरु ।

त्यो दृष्यले कसको मन नलोभ्याउला र !

खासमा हिउँ नेपाली पर्यटन उद्योगको एक आधार पनि हो । हिउँ नपर्दा विकट भेगका किसानले खेतीपाती गर्न त पाउँदैनन् नै, शहरी क्षेत्रमा ट्रेकिङ एजेन्सी चलाउनेहरुको पनि दानापानी सुक्छ । र, साहसिक पर्यटकहरुले आफ्नो यात्रा अवधि कटौती गर्न थाल्छन् ।

उत्तरी गोरखाका बस्तीहरु हिमालकै काखमा छन् । हिउँ वषर्ा भएसँगै हिमालजस्तै देखिन्छन्, ती सबै ।

त्यही दृश्यावलोकनका लागि देश/विदेशका पर्यटकहरु उकालो लाग्छन् । हिउँ नै उत्तरी गोरखाको पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन । यसपटक भने साहसिक पर्यटनको सम्भावना कमजोर बन्दै गएको छ, त्यस भेगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment