Comments Add Comment

पशुपतिनाथ मन्दिर परिसर सवारी मुक्त

बनकाली र उमाकुण्डमा पार्किङको व्यवस्था

 

११ पुस, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति मन्दिर परिसरमा पनि गाडीहरु निषेध गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि यो आवश्यक देखियो ।’

यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न पाउँथे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठेरो हुने गरेको थियो ।

‘मानिसहरु आध्यात्मिक चिन्तनको हिसाबले जाने भएकाले त्यहाँ अनावश्यक गाडीहरु लिएर जाँदा समस्या देखियो,’ डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’

शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पास

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको बेला पशुपतिनाथ मन्दिरको मूलढोकासम्मै गाडीहरु लगिएको थियो।

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपति क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।

पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।

‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

बनकाली र उमाकुण्डमा पार्किङ, वान-वेको व्यवस्था  

मरासिनीका अनुसार मंगलबारबाटै बनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीकाअनुसार गाडी पार्किङको लागि बनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट बनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।

फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment