+
+

गौचन हत्याकाण्डः कार्यदल र सीआईबीको अनुसन्धान बाझियो

कसले हानेको थियो गौचनलाई गोली ?

गौरव पोखरेल गौरव पोखरेल
२०७४ पुष १२ गते ९:२०

१२ पुस, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको घटनाको विषयमा छानविन गर्न गठित कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान रिपोर्ट बाझिएको छ ।

कार्यदल र सीआईबीको अनुसन्धान रिपोर्टमा घटनामा प्रयोग भएका सुटरबारे मत बाझिएको हो ।

गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गौचनको गोली हानी हत्या भएको थियो । उक्त घटना अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको नेतृत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलमा प्रहरीको विशेष ब्युरो, सीआईबी, अपराध महाशाखा र महानगरीय प्रहरी आयुक्त कार्यालयका अधिकारीहरु संलग्न थिए ।

कार्यदलले गौचनको हत्या भएको एक महिनापछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो । नुवाकोटका २१ वर्षीय राजीव स्याङ्ताङले गौचनलाई गोली प्रहार गरेको भनाइ कार्यदलको थियो ।

सीआईबीले गरेको अनुसन्धानले भने घटनामा सुटरका रुपमा श्याम गोम्बे र अमरबहादुर राणा प्रयोग भएको देखाएको छ ।

कार्यदलले गोली प्रहार गर्ने व्यक्ति भएको दाबी गरेका स्याङ्ताङलाई सीआईबीले समीरमानसिंह बस्न्यातका मुख्य सहयोगीमध्येका एक व्यक्ति मानेको छ ।

श्याम र अमर नेपाली सेनाका भगौडा हुन् । उनीहरु अझै फरार छन् ।

समीरमान भारतमा थिए कि चितवनमा ?

कार्यदलका संयोजक डीआईजी गणेश केसीले घटनामा संलग्न पाँच जनालाई सार्वजनिक गर्दै गौचन हत्याकाण्डका मुख्य योजनाकार समीरमान भएको बताएका थिए । र, कार्यदलले उनी भारतमा लुकेर बसेको आशंकामा खोजी तीव्र बनाएको थियो ।

यद्यपि, सीआईबीले ८ मंसिरमा घटनाका मुख्य योजनाकार समीरमानलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै कार्यदललाई नै चकित बनाइदियो ।

अर्को चकित पार्ने कुरा त के छ भने सीआईबीले समीरमानलाई चितवनबाट समातेर ल्याएको दाबी गर्दै गर्दा कार्यदल भने भारतको बैंगलोरमा उनी लुकेर बसेको स्थान र स्काइप आईडी पाएको बताउँदै पक्राउ गर्ने तयारीमा थियो ।

प्रहरीका केही अधिकारीहरु भने सीआईबीले भारतबाट पक्राउ गरेर ल्याई चितवनमा केही दिन राखेर काठमाडौं ल्याएको दाबी गर्छन् ।

सीआईबीले उनलाई सार्वजनिक गर्दा अर्को एउटा महत्वपूर्ण विषयसमेत बतायो । त्यो हो, करिब एक वर्षदेखि बस्नेत र पुनबीच कुनै सम्बन्ध छैन । गौचनको हत्यामा पुनको संलग्नता नरहेकोतर्फ सीआईबीको संकेत थियो, त्यो ।

गौचनको हत्याअघि ४ पुस ०७३ मा रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र २९ चैतमा काठमाडौं गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा दाबा लामामाथि भएको गोली प्रहारपछि सीआईबीले समीरमानलाई खोजी गरिरहेको थियो ।

गौचन हत्या अघिदेखि नै उनलाई खोजी गरिरहेकाले उक्त घटनालगत्तै पक्राउ गर्न सफल भएको सीआईबीको दाबी छ ।

के भन्छन् कार्यदल र सीआइबीका प्रमुख ?

कार्यदल प्रमुख डीआईजी केसी घटनामा दुई वटा गोलीको प्रयोग भएको बताउँछन् । सीआईबी र कार्यदलको प्रतिवेदन फरक परेको विषय अनुसन्धानकै क्रममा रहेकाले अहिले नै केही भन्न नसकिने उनी बताउँछन् ।

सीआईबी प्रमुख कार्की पनि अनुसन्धान जारी रहेको बताउँदै यस विषयमा धेरै कुरा बताउन चाहँदैनन् ।

समीरमान प्रहरी परिसर काठमाडौंले ‘ए ग्रेड’मा राखेका गुण्डा हुन् । उनी केही वर्षयता नेपाल र अन्य मुलुकमा रहेर व्यावसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप र व्यक्ति अपहरणलगायत अपराधमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

उनी अहिले सीआईबीको हिरासतमा छन् । उनको मुद्दा भने काठमाडौं प्रहरी परिसरमा चलिरहेको छ ।

गौचनले आफ्नो कन्स्ट्रक्सन कम्पनीमा कुमार घैंटेमार्फत् लगानी भित्र्याएका थिए । र, त्यही रकमसम्बन्धि विवादमा घैंटेको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

घैंटे समूहमा रहेका समीरमानले घैंटेको मृत्युपछि गौचनसँग अढाइ करोड रुपैयाँ माग गर्दै आएका थिए । तर, गौचनले रकम दिन नमानेपछि उनको गोली हानी हत्या भएको प्रहरीको ठम्याइ छ ।

यी समाचार पनि पढ्नुहोस्

गौचन हत्याकाण्डको नयाँ ट्वीस्टः घैंटेको लगानी फिर्ता नगर्दा हत्या !

दिनदहाडै यसरी मारिएका थिए गौचनः प्रकाशले ढुंगा हाने, राजीवले गोली चलाए

गौचन हत्याका मुख्य योजनाकार समीरमान पक्राउ

निर्माण व्यवसायी शरद गौचन शहीद घोषित

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?