+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
शहरी जीवनको सकस :

काठमाडौंः सुखको राजधानी हो कि दुःखको ?

घाटाको जिन्दगी बाँच्नेदेखि बिचौलियाको साम्राज्यसम्म

शिव मुखिया/कमल प्रसाईं शिव मुखिया/कमल प्रसाईं
२०७४ पुष १७ गते २०:२५

 

काठमाडौं । रंगीन राजधानी शहरभित्र असंख्य बासिन्दा छन्, जो श्यामश्वेत जीवन गुजारिरहेका छन् । ‘लुट’ चलचित्रका पात्र ‘हाकु काले’ ले बोल्ने यो डायलग काठमाडौंका निम्न मध्यमवर्गीयको दैनिकीसँग नियमितजसो ठोकिन पुग्छ- ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर । गिद्दै-गिद्दको शहर !’

सीमित आयका भरमा सागसब्जी किन्ने, रासनपानी जुटाउने, कोठाभाडा तिर्ने, छोराछोरीको स्कुलको महंगो शुल्क तिर्ने, गाडीभाडा जोहो गर्ने लगायतको मेलोमेसो मिलाउन नसकेर ऋणात्मक जीवन घिसारिरहेकाहरुको संख्या कति होला यो खाल्डोमा ?

काठमाडौंको भूगोल र यहाँको जनघनत्वको अनुपात हेर्दा हरेक व्यक्तिका लागि साँघुरो महसुस हुन्छ । यहाँ जति मानिस छन्, त्यसअनुरुप सबैको भागमा सुरक्षित ओत पनि छैन । सडकपेटी, गोदाम, टहरोदेखि अस्पतालको प्रतिक्षालयसम्म कतिले आश्रय लिइरहेका भेटिन्छन् ।

घाटाको जिन्दगी बाँच्नेहरु !

हातमुख जोर्ने मेलोमेसो खोज्दै सर्लाहीबाट २५ बर्षअघि काठमाडौं छिरेका गगनदेव राम थापाथलीमा एउटा कोठामा खुम्चिएका छन् । कोठाभाडा छ मासिक चार हजार । उनको दैनिक कमाई छ- औसत तीन सय रुपैयाँ ।

आफुसँगै बस्ने छोरासमेतको खाईखर्च बचाएर सर्लाहीका जहान-परिवार पाल्नुपर्ने वाध्यता छ गगनदेवसँग । उनको जस्तो ऋणात्मक जीवन बाँच्नेहरु शहरभरि छ्यापछ्याप्ती छन् ।

डालोमा बदाम बेच्दै हिँड्ने काभ्रेका सञ्जमान लामा भन्छन्, ‘कालिमाटीको टहरामा बस्छु । दुई/चार माना बदाम बेचेर कोठा भाडा तिर्न कहाँ सकिन्छ ?’

कालिकोटका देवजङ परियारसँग सटरको भाडा तिर्ने हैसियत छैन । उनी साथीहरुसँगै ब्यागमा ज्याकेट कोचेर बाटो-बाटो बेच्दै हिँड्छन् । रात कटाउन डल्लुको कोठामा पुग्छन् । त्यहाँ उनीसँगै अरु पाँच जना कोचिएर रात कटाउँछन् ।

खाने कुरै छाडौं, खाएको कुरा बिसर्जन गर्नसमेत समस्या छ । असनमा ३२ सय मासिक तिर्ने गरी कोठा लिएका विष्णु आचार्यले दिसा-पिसाबका लागि रत्नपार्कको कुनाकाप्चा चाहार्नुपर्छ ।

रत्नपार्क, सुन्धाराको भिडमा खोज्दै हिँड्ने हो भने, धेरैजसो यस्ता पात्र भेटिन्छन्, जो दैनिक डेढ दुई सयको कमाइको भरमा प्राण धानिरहेका छन् ।

रत्नपार्कको सडक पेटीमा तौल जोख्ने मेशिन राखेर बसेकी राधा पोखरेलको दैनिक कमाई मुस्किलले डेढ दुई सय हुन्छ । एकजनाले तौल जोखेवापत १० रुपैयाँ लिने गरेकी छिन् । पतिको स्थायी काम छैन । कमाइको टुंगो पनि छैन ।

बुढ्यौलीले गाँज्दै गरेको दुई ज्यानलाई ओंत लाग्न चावहिलमा सानो कोठा लिएका छन् उनीहरुले । कोठाभाडा छ तीन हजार रुपैयाँ । चावहिलबाट सार्वजनिक बसमा रत्नपार्क आउजाउ गर्नुपर्छ, जसको दैनिक खर्च ४० रुपैयाँ । साँझ घर पुगेपछि चिसो भान्सा तताउनै पर्‍यो, नुनतेल, चामल, सब्जीमा खर्च हुन्छ । जतिसुकै कञ्जुस हुँदा पनि खाईखर्च कम्तिमा आठ हजार पुग्छ ।

खर्च नगरौं, डेढ वित्ताको पेट भर्नै पर्‍यो । खर्च गरौं, कमाइको दिगो स्रोत छैन । न ज्यानमा ताकत छ, न पुख्र्यौली जायजेथा ।

‘बाँच्न परिहाल्यो, जहिलेसम्म हातखुट्टा चल्छ, तबसम्म यसैगरी बाचौंला । रोगले थला परेपछि जे होला’ भन्दैगर्दा उनी निकै भावुक देखिए ।

पाल्पाका विष्णु आचार्य पनि काठमाडौंको भिडमा मिसिन आइपुगेका छन् । उनी रत्नपार्ककै पेटीमा डेढ/दुई किलो बीरेनुन र फिटकिरीको पसल थापेर बसेका छन् । बलको काम गर्दागर्दै पेटको रोगले अशक्त भएपछि उनी सडकमा आइपुगेका हुन् । असनमा कोठा भाडा लिएका छन्, मासिक ३२ सय तिरेर । यससँगै पत्नी र उनको खाईखर्च जोड्दा यत्तिको कमाईले धान्नेखालको छैन । ‘बाध्यता छ’ उनी छोटकरीमा सुनाउँछन्, ‘मरीजाने बेला भएको छैन ।’

मुलुक संघीयतामा गइसकेपछि अब राजधानीको चाप घट्ने र मानिसहरु आफ्नै थातथलोमा फर्कने विश्लेषण पनि गर्न थालिएको छ । तैपनि काठमाडौंमै कहर काटेर बस्न मनपराउनेहरुको मन मोफसलतिर फर्किइहालेको अवस्था छैन

नवलपरासीकी निमकुमारी बस्याल केही रुद्राक्ष, फूल र धूप बिच्छ्याएर सडक पेटीमा बसेकी छिन् । हात हेर्न आउने ग्राहक कुरेर बस्दाबस्दै उनको बुढो ज्यान कक्रिन्छ । कम्मर दुख्छ, हातखुट्टा झमझम हुन्छन् । तर, दिनभर धुलो-धूँवा, कोलाहाल, कहिले चर्को घाम, कहिले कठ्यागि्रने चिसो खेपेर पनि उनको हातमा दैनिक दुई/तीन सय रुपैयाँ मात्र पर्न आउँछ । यत्तिको आम्दानीले पति र आफ्नो ज्यान पाल्न, कोठभाडा तिर्न सजिलो छैन । ‘यो पनि नगरेर के गरौं त ? अरु उपाय छैन’ उनी भन्छिन् ।

बाटो हिँड्ने बटुवाले दया-माया गरेको भरमा जीवनको भर खोज्नुपर्ने वाध्यता उनलाई छ । वीरे नुन नचाहिए पनि, हात हेराउनै नपरे पनि, तौल जोख्नै नपरे पनि केही बटुवा उनीहरुमाथि दया पोख्छन् ।

यस्तो दुःख हुँदाहुँदै गाउँबाट काठमाडौं किन छिरेको त ? यस्तो प्रश्न सोध्दा प्रायः सबैको एकै प्रकारको जवाफ पाइन्छ- गाउँमा बसेर के गर्ने ? काम पाइँदैन । देशको राजधानीमा काम गरी खान पाइएला, जीवन रमाइलो हुन्छ होला भनेर आएको नि ।

भोक र तीर्खाको राजधानी

राजधानीमा मानिसहरु उदरस्त भोक र तीर्खा शान्त पार्नका लागिमात्रै छिरेका छैनन्, उनीहरु अध्ययन, व्यवसाय, जागिर अनि स्वास्थ्योपचारका सपनासमेत बोकेर आउने गरेका छन् ।

रत्नपार्कको सडक किनारामा नाग्लो पसल थापेर बसेकी एक महिला भन्छिन्, ‘काठमाडौं कहाँ बस्ने ठाउँ हो र ?’

तर, बस्ने ठाउँ नभएर के गर्नु ? देशभरबाट यहीँ थुप्रो लागेको छ मानिसहरुको । कोही स्तरीय शिक्षा खोज्दै, कोही अवसर खोज्दै त कोही अनुकुल व्यापार र जागिर खोज्दै काठमाडौं खाल्डोभित्र घुस्रिएका छन् । सबैको समस्या, गुनासो, वाध्यता, पीडा, रहर, आकांक्षा पनि यही खाल्डोभित्रै गुम्सिएको छ । त्यसैको ‘बाइप्रोडक्ट’ हो, काठमाडौंमा बढ्दो महंगी, ठगी, लुछाचुँडी, कोलाहाल, प्रदूषण, दुर्गन्ध ।

पछिल्लो जनगणनालाई आधार मान्ने हो भने, काठमाडौंको चौघेराभित्र ४० लाख बढी मान्छे छन् । यहाँ दैनिक ३० लाख मानिस चलायमान हुन्छन् । नागढुंगा, साँगा, चोभार आदि नाका हुँदै हरेक दिन ७० हजार मानिस आउजाउ गर्ने अनुमान गरिँदै आएको छ ।

यत्तिको भिडलाई भोक मेट्न मात्रै ८ सय टन रासन चाहिन्छ । ११ सय टन सागसब्जी आवश्यक हुन्छ । तिर्खा मेट्नका लागि ३७ करोड ५० लाख लिटर पानी चाहिन्छ ।

जबकि पानीको आपूर्तिको स्थिति १० करोड लिटर मात्रै छ । यस्तै, ग्यास १८ हजार मेटि्रक टन दैनिक खपत गर्छ । राँगा-भैँसी, खसीबोका, कुखुरा, माछा, बंगुर गरेर दैनिक ६ लाख २३ हजार केजी खपत गर्छ ।

यहाँको चापअनुसार उपत्यकामा खानेपानीको स्रोत छैन । भूमिगत पानीको स्रोत सुक्दै गएको छ । इनार, ट्युववेल, ढुंगे धारा र नजिकका खोल्साखोल्सीको पानीले काठमाडौंको प्यास मेट्दैन ।

गाउँबाट चप्पलमात्रै लगाएर राजधानी छिरेकाहरुले वर्ग परिवर्तन गरेको कथा पनि धेरै सुन्ने गरिन्छ राजधानीमा । तर, यसरी प्रगति गर्नेहरुमा जग्गा दलाल, म्यानपावर दलाल, शिक्षा र मेडिकल क्षेत्रका माफियाहरु र भ्रष्टाचारी एवं ठगी धन्दा गर्नेहरु नै  छन्

राजधानीमा बिहान-बेलुकी छाक टार्न सागसब्जी किन्नुपर्छ, जसको अस्वाभाविक बढोत्तरी भइरहन्छ । ग्यासको हाहाकार मच्चिन्छ । नुनतेल, मरमसलाले भान्सालाई बोझिलो बनाउँछ ।

महंगी कतिसम्म छ भने एउटा सामान्य आय भएको परिवारले दुई छाक खाना जुटाउन र ओत लाग्नका लागि हम्मे पर्छ काठमाडौंमा । कतिपयले छाक कटाएर पनि गुजारा गरिरहेका छन् ।

आर्थिक सुरक्षा खोज्दै सरकारी जागिरमा झुण्डिएका कर्मचारीदेखि प्रहरी सेवासम्ममा खटिएका निम्न दर्जाका पेशाकर्मीलाई बाँच्नै धौ-धौ छ । उनीहरुको औसत कमाई १६ देखि १८ हजारको हाराहारीमा देखिन्छ । यत्तिको कमाइको अनुपातमा काठमाडौंको बसाइ धेरै खर्चिलो छ ।

सामान्यतः एउटा परिवार अटाउने कोठाका लागि मासिक ८ हजार रुपैयाँ लाग्छ । त्यसमा पानी, बत्ती, फोहोर, टीभी केबुल लाइनको अतिरिक्त खर्च जोडिन्छ ।

चारजनाको परिवारलाई खानका लागि मासिक चामल कम्तिमा ३० केजीको १८ सय रुपैयाँ पर्छ । सागसब्जी, नुन, तेल, वेसार, मरमसला आदिमा न्युनतम मासिक ७ हजार लाग्छ । ग्यासका लागि मासिक ६ सय खर्च लाग्छ । दुई बच्चालाई स्कुल पढाउन कम्तिमा ६ हजार मासिक शुल्क लाग्छ । यी न्युनतम आधारभूत खर्चमात्रै जोड्दा मासिक करिब २३ हजार रुपैयाँ हुन जान्छ ।

यसबाहेक पाहुनापात टार्ने, चाडपर्व मनाउने, दुखविराममा औषधिउपचार गर्ने, गाडीभाडा तिर्ने, लत्ताकपडा किन्ने जस्ता सामान्य भैपरी आउने खर्चको छुट्टै हिस्सा छ ।

सामाजिक जीवन बिताउनु परेपछि कहिलेकाहीँ भोजभतेरमा सामेल हुनुपर्छ, कहिले मनोरञ्जन गर्नुपर्छ, कहिले घुमफिर गर्नुपर्छ, कहिले सामाजिक काममा मिसिनुपर्छ, जसले अतिरिक्त व्ययभार बढाउने नै भयो ।

यसमध्ये पनि कतिपय दीर्घरोगी आमाबुबा वा सन्तान पाल्नुपर्ने बाध्यतामा छन् । कति पुर्ख्याैली ऋणले थिचिएका छन् । कतिलाई मुद्दा-मामिलाले चुसिरहेका छन् ।

समस्याका तमाम चाङले थिचिएर बस्ने काठमाडौंका निम्न र निम्नमध्यम वर्गीयको जीवनको एकसरो ग्राफ हो यो । यसले के देखाउँछ भने काठमाडौंमा अधिकांशले अभावै अभावको जीवन झेलिरहेका छन् ।

‘काठमाडौं दक्षिण एशियाकै सबैभन्दा खर्चालु शहर हो’ भनेर तीन बर्षअघिको विश्वव्यापी जीवनयापन खर्च प्रतिवेदनले देखाएको थियो ।

खाद्यान्न, यातायात, बसाई, पानी, टेलिफोन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका आधारमा काठमाडौं शहरको महंगो पहिचान बनेको छ ।

कमाइभन्दा खर्चको अनुपात बढी भएपछि सुख-सुविधामा खुम्चिनुपर्ने मात्र होइन, आधारभूत स्वास्थ्य-उपचारमा समेत कञ्जुस्याइँ गर्नुपर्ने बाध्यता छ धेरैसँग ।

त्यसो त गाउँबाट चप्पलमात्रै लगाएर राजधानी छिरेकाहरुले महल ठड्याएको र वर्ग परिवर्तन गरेको कथा पनि धेरै सुन्ने गरिन्छ राजधानीमा । तर, यसरी प्रगति गर्नेहरुमा जग्गा दलाल, म्यानपावर दलाल, शिक्षा र मेडिकल क्षेत्रका माफियाहरु र भ्रष्टाचारी एवं ठगी धन्दा गर्नेहरु नै बढ्ता देखिएका छन् । राजनीतिक दलालहरु पनि फस्टाएका छन् काठमाडौंमा । तर, मेहनत गरीखाने बहुसंख्यक मानिसहरुको जीवनमा यो शहरमा खासै सुखी शहर होइन ।

यद्यपि निजी क्षेत्रमा जागिर खानेहरु भन्दा सडकमा मालसामान बेच्ने नाङ्ले व्यापारी एवं मध्यमस्तरका व्यापारीहरुको जीवन केही सहज देखिन्छ । ट्याक्सी ड्राइभरहरु पनि साना जागिरेहरु भन्दा केही खुशी देखिन्छन् । बाँकी मानिस राजधानीमा कमाउन र जोहो गर्नका लागि होइन, बाँच्नकै लागिमात्रै बाँचिरहेका छन् ।

मुलुक संघीयतामा गइसकेपछि अब राजधानीको चाप घट्ने र मानिसहरु आफ्नै थातथलोमा फर्कने विश्लेषण पनि गर्न थालिएको छ । तैपनि काठमाडौंमै कहर काटेर बस्न मनपराउनेहरुको मन मोफसलतिर फर्किइहालेको अवस्था छैन ।

 

गाउँमा रोजगारीका सम्भावनाहरु नहुँदासम्म रत्नपार्कको सडक कुर्नेहरुको संख्या खासै घट्ने पनि देखिँदैन ।

बिचौलियाले खोक्रो बनाएको बजार

उत्पादक र उपभोक्ता जोडिने सोझो बाटो राजधानीमा छैन । सबै बिचौलियाको कब्जामा छ । राजधानीवासीको बसाइ खर्चिलो हुनुमा बिचौलियाको ठूलो हात छ

राजधानीमा डेरा खोजौं वा घर-घडेरी, लत्ताकपडा खोजौं वा सागसब्जी, ढुवानी खोजौं वा यातायात । बीचमा घुसि्रन आइपुग्छ, दलाल ।

डेरा खोजिदिनेदेखि सागसब्जीको मूल्य निर्धारण गर्नेसम्म दलालहरु चलायमान छन् । काठमाडौंमा उपभोक्ताले नुनदेखि सुनसम्म खरिद गर्दा अतिरिक्त व्ययभार बोक्नुपर्छ । किनभने त्यसमा दलाल वा बिचौलियाले हिस्सा खोस्ने गर्छ ।

उत्पादक र उपभोक्ता जोडिने सोझो बाटो राजधानीमा छैन । सबै बिचौलियाको कब्जामा छ । उसले जग्गा मिलाइदिए वापत, तरकारी भण्डारण गरिदिए वापत, गाडीको व्यवस्था गरिदिए वापत मोटो रकम असुल्छ । त्यतिमात्र होइन, बेलाबखत कृत्रिम अभाव सिर्जना गराएर हाहाकार मच्याइदिन्छ ।

राजधानीवासीको बसाइ खर्चिलो हुनुमा बिचौलियाको ठूलो हात छ । समाजशास्त्री डा. युवराज लुइँटेल भन्छन्, ‘अहिले काठमाडौंमा भित्रिने तरकारीको मूल्य पाँच चरणमा निर्धारण हुन्छ । दलाल र बिचौलिया आफैंले वस्तुको निर्धारण गर्ने परिपाटी छ ।’

याे पनि पढ्नुहाेस्

महंगी दोब्बर बढ्यो, बढेन आम्दानी

सरकारी जागिर, जीवन धान्नै धौधौ

दलाल अर्थतन्त्रको सामाजिक आयाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?