Comments Add Comment

पशुपालक महिला किसानको दुखः न बजार, न प्रोत्साहन

सहकारीबाट आत्मनिर्भर बन्दै महिला

१८ पुस, सिमरा । बारा जितपुरसिमरा उपमहानगरपालिका औराहाकी कामना कार्कीको दैनिक दिनचर्या पशुुपालनमै बित्छ । स्नातक तह उतीर्ण गरेकी २८ बर्षे कामनाले सहकारीको सहयोगबाट पशुुपालन व्यवसायमा लागेर श्रम गरिरहेकी छन् ।

स्थानीय औराहा पशुुपालन कृषि सहकारी संस्थाले निर्माण गरिदिएको पशुर्फममा अहिले उनी सहकारीबाटै ऋण लिएर गाइपालन गर्छिन् । उनी जस्तै स्थानीय ६ जना महिला मिलेर १२ लाखको लगानीमा सुरु गरिएको गाईफार्ममा अहिले सानाठुला गरी १४ वटा गाई र एउटा भैँसी छन् ।

फार्ममा २ जना महिलाले रोजगारीसमेत पाएका छन् भने लगानीकर्ता उनीहरुपनि पशुुफार्ममै बिहान बेलुका काम गर्छन् । ८ महिना अघिबाट सुरु गरिएको गाईपालनबाट अहिले उनीहरुले आम्दानी लिन नसकेपनि सहकारीको ऋण भुत्तानी गर्न सक्षम देखिएका छन् ।

‘खर्च धेरै छ, आम्दानी थोरै छ,’ कामना भन्छिन्, ‘दूधको मूल्य पानी बराबर छ, दूध बेचेर सहकारीको ऋण तिर्न धौधौ हुन्छ । ‘

कृषि पेसामा लागेकी कामना सुरुको अवस्थामा आम्दानी राम्रो नभएपनि आफ्नो पेसा र कार्य प्रति गर्व रहेको बताउँछिन् ।

उनीहरुले फारमबाट उत्पादित दूध सहकारीले संचालन गरेको डेरीमा ल्याउने गरेका छन् । दैनिक ७५ देखि सिजनमा १२० लिटरसम्म दुध उत्पादन हुने भए पनि आम्दानी जति सबै गाईका लागि दाना र चोकरमा खर्च हुने उनी बताउँछिन् । मासिक ७० देखि ७५ हजारसम्म दाना र चोकरको खर्च कटाएर अहिले ४० देखी ५० हजारसम्मको आम्दानी भइरहेको उनको भनाइ छ ।

सोझो हिसाब गर्दा दिनभरी गोबर र माटोसँग खेल्ने कामनाले मासिक ७ देखि १० हजारसम्म आम्दानी गर्छिन् । बिभिन्न कृषिसम्बन्धी तालिमहरुमा कृषि पेसाको सुरुवाती चरणमा हतोत्साही हुन नहुने सीप सिकेको बताउने उनी बिस्तारै आम्दानी बढनेमा आशावादी छिन् ।

‘सुरु गरिहालियो, अब आत्तिएर पनि भएन, तालिममा सरहरुले बिस्तारै आम्दानी राम्रो हुन्छ भन्नुभएको भएर हामी निरन्तर श्रम गरिरहेका छौँ’ उनले भनिन् ‘सहकारीको ऋण तिर्न पुगेको छ त्यत्ति हो ।’

बजार छैन, खर्च धान्न धाैधाै

औराहा पशुपालन कृषि सहकारी संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्रीले डेरीमा संकलित दूधले उचित बजार नपाउँदा समस्या खेपिरहेको स्वीकार गरे । दैनिक १ हजार ५ सय देखि २ हजार लिटरसम्म संकलन हुने दूध उनीहरुले स्थानीय पसले र अन्य निजी डेरी उद्योगीहरुलाई बिक्री गरिरहेको बताए ।

‘नेपाली बजारमा दूधको अझै अपुग छ, तर हामीले यहाँ दूध कहाँ बेच्ने भन्ने चिन्ता छ’ उनले भने, ‘दूधको बजारीकरण नहुँदा बिचौलियाहरुलाई उनीहरुकै मनोमानी मूल्यमा बिक्री गरिरहनुपरेको छ । ‘

उनले दूधको उचित बजार र मूल्य नपाउँदा डेरी संचालन गर्न नै चुनौतिको सामना गर्नुपरेको बताए । सरकारले कृषि क्षेत्रमा प्रशस्त लगानी गरे पनि त्यो लगानी किसानसम्म नपुगेको गुनासो गर्दै उनले सरकारको अनुदानले ठूला लगानीका किसान र अनुदानका आशामा मात्रै कृषि धन्दामा लागेकाहरु मोटाएको बताए ।

‘सरकारको लगानी र अनुदान किसानसम्म पुग्न सकिरहेको छैन, दूधको मुल्य झन ओरालो लागिरहेको छ , यता दाना र चोकर दिन प्रतिदिन महँगिदो छ ।’ उनले गुनासो गरे , ‘बिचौलिया मोटाएका छन्, दूध किसान स्याहार सुसारे मात्र भएका छन्, ‘

यस्तै सहकारीका कोषाध्यक्ष प्रेम बरालले कृषि क्षेत्रमा उत्पादन, उद्योग र बजार किसानको हातमा भएमात्र किसानको श्रमको उचित प्रतिफल पाइने बताए । किसानले पसिना बगाएर दूध उत्पादन गरे पनि बजार र उद्योग ठूला व्यवसायीको पहुँचमा रहेकाले पनि किसानले समस्या खेप्नुपरेको बताए ।

‘व्यवसायीले किसानबाटै खरिद गरेको धानको मुल्य प्रतिकेजी १४ रुपैयाँ हुन्छ तर चामल ४० प्रतिकेजी हुन्छ अनि सोही धानको ढुटो प्रतिकेजी ३२ मा किन्नुपर्छ’, उनले उदाहरण दिदै भने , दूधमा पनि त्यस्तै समस्या छ , बिचौलिया बजारले किसान शोषणमा छन् ।’

नेपालका बजारमा अझै पनि भारतीय दूधकै भरथेग छ । भारतमा कृषि पेसामा सरकारी सहुलियतका कारण उत्पादन खर्च नेपालको तुलनामा कम रहेकाले पनि सीमा क्षेत्रमा भारतीय दूधले बजार लिइरहेका छन् । जसको प्रत्यक्ष असर नेपाली किसानलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment