Comments Add Comment

काठमाडौंमा चैत्यको पहिलो वैज्ञानिक उत्खननः यसरी भयो पुनर्निर्माण

भैरव र अजिमालाई राखियो साक्षी

तस्वीर: यूनेस्को/A. Cobo

२८ पुस, काठमाडौं । ३ फागुन ०७३ मा केही स्थानीय बासिन्दाका साथ पुरातत्व विभाग र राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोका प्रतिनिधि स्वयम्भूनाथ स्तुपा परिसरमा जम्मा भए ।

त्यतिबेला १२ वैशाख ०७२ को विनासकारी भूकम्पको दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो । यो जमघटको खास उद्देश्य थियो, मंगल बहुद्वार चैत्यको उत्खनन क्रममा भेटिएका सामग्रीलाई सांकेतिक रुपमा पुनःस्थापना गर्ने कार्यक्रमको अवलोकन गर्नु ।

त्यो नेपालमा पहिलो वैज्ञानिक तवरको उत्खनन थियो । उक्त स्थानमा ढुंगा र इँटामा कुँदिएका आकृति तथा हजारौँ किलो स-साना माटाका सामग्री भेटिएका थिए ।

प्रतिस्थापन कार्यक्रम चल्दै गर्दा शायद सबैको दिमागमा एउटै कुरा थियो, स्थानीय बासिन्दाले युद्धका देवता मानेका भैरव र अजिमाले सबै क्रियाकलाप हेरिरहेका छन् किनकि चैत्यलाई आजसम्म बचाएर राख्ने उनीहरु नै हुन् ।

त्यहाँ भेटिएको एउटा लेखोटमा स्तुपालाई बदल्न खोज्ने जोकोहीले पनि भगवान्बाट दुःख पाउने लेखिएको थियो । त्यसैले भगवान्लाई खुशी पार्न क्षमापूजा गरे मात्र उन्नाइसौँ शताब्दीको उक्त चैत्यको पुनर्निर्माण गर्न सकिने उनीहरुको मत थियो ।

पुनर्निर्माणका क्रममा स्थानीय बासिन्दाले आफ्नातर्फबाट विभिन्न सिक्का र गहना भगवानका नाममा समर्पण गरेका थिए । क्षमापूजापछि स्थानीय समुदाय, पुरातत्व विभाग र युनेस्कोका प्रतिनिधिहरुले उक्त सम्पदाको विस्तृत पुनर्निर्माण थाले । पक्कै पनि यो सजिलो काम थिएन ।

प्रथमतः उत्खनन शुरु भएको महिनौँ बितिसकेको थियो र समय बढ्दै जाँदा स्थानीयवासीको धैर्य कमजोर हुँदै थियो । अर्कातिर, चैत्यमा भएका ‘संरचनागत गल्तीहरु’ सच्याउने कि नसच्याउने भनेर पुरातत्वविदहरुबीच पनि विवाद थियो ।

‘हरेक संरचना छिट्टै पुनर्निर्माण होस् भन्ने स्थानीयवासीको चाहना थियो,’ परियोजनामा संलग्न पुरातत्वविद् देवेन्द्र भट्टराई भन्छन् ।

मंगल बहुद्वार चैत्यको पुनर्निर्माण सकियो, प्राणप्रतिष्ठाको साइत कुर्दै समुदायका ज्येष्ठ सदस्यहरु

स्वयम्भू महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरका अनुसार त्यहाँ घुम्न आउने विदेशी पर्यटकले पनि पुनर्निर्माण कहिले सकिन्छ भनेर सोध्थे । ‘भत्किएका भवनका इँटा र ढुंगा यत्रतत्र थिए । स्थानीय बासिन्दा तिनलाई छिट्टै पन्छाइयोस् भन्ने चाहन्थे,’ भट्टराई भन्छन् ।

पुरातत्वविदहरु भने चैत्यको राम्रोसँग वैज्ञानिक उत्खनन गर्ने आफ्नो योजनामा दृढ थिए । र, काम पनि थालिसकेका थिए ।

तर, निर्माणकै क्रममा पुरातत्वविद्हरु बीच फेरि विवादले समस्या निम्त्यायो । ‘यो मंगल बहुद्वार चैत्यको केन्द्रमा एउटा काठको खम्बा (योशी) छ । स्वयम्भू महाचैत्यमा पनि त्यस्तै खम्बा छ,’ पुनर्निर्माणमा संलग्न अर्का पुरातत्वविद् डेबिड एन्डोल्फाटो भन्छन् ।

पुरातत्वविदहरुको एक समूहले चैत्यको पुनर्निर्माण पहिलेजस्तो थियो, त्यस्तै हुनुपर्ने बताए । अर्को समूहले उक्त योशी गलत तरिकाले राखिएको र त्यो गल्ती सुधार्नुपर्ने बताए ।

‘सामान्यतया यस्तो योशी चैत्यको आधारतिर फैलिएको हुन्छ । तर, यहाँको योशी त्यस्तो छैन,’ भट्टराई प्रस्ट्याउँछन् ।

अन्त्यमा स्थानीय समुदायले भनेअनुसार नै हुने भयो । योशीलाई बदल्न खोज्नु भनेको समग्र संरचना बदल्नु हो र चैत्यको रक्षा गरिरहेका भगवान्का लागि यो पि्रय हुँदैन भन्ने उनीहरुको निष्कर्ष रह्यो ।

‘त्यसपछि योजना तयार भयो र पुनर्निर्माण शुरु हुने बेला महासमितिले नेतृत्व गर्‍यो,’ तुलाधर भन्छन्, ‘हामीले सकेसम्म पुरानै सीप, प्रविधि र सामग्री प्रयोग गर्नेतर्फ विशेष ध्यान दियौँ ।’

तुलाधरका अनुसार महासमितिले यसका लागि विशेष तरिकाले बनाइएका इँटा (माह्पा) मगायो । विशेष किसिमकै चुन र माटो पनि तयार गरियो । ‘सकेसम्म सबै कुरा सर्वोत्कृष्ट होस् भन्ने हाम्रो चाहना थियो । दक्ष जनशक्ति तथा उत्कृष्ट सामग्रीका लागि हामीले धेरै दुःख गर्‍यौँ,’ तुलाधर दाबी गर्छन् ।

यसरी चैत्यको पुनर्निर्माण त सकियो । फेरि अर्को समस्या आइपर्‍यो । चैत्यका बाहिरतिर धेरै खोपा थिए र हरेक खोपामा १/१ मूर्ति थिए । पुनर्निर्माणमा संलग्न सबै पुरातत्वविदको चाहना तान्त्रिक महत्वसहित स्थापित ती मूर्तिहरु जुन-जुन खोपामा थिए, त्यहीँ राख्ने थियो ।

तर, कहाँ कुन मूर्ति थियो भन्ने कसैलाई थाहा थिएन । संयोगवस, जर्मनीको हेडेलबर्ग विश्वविद्यालयका अतिथि प्राध्यापक माणिक बज्राचार्यसँग ती खोपासहितको चैत्यको तस्बिर रहेछ र ती मूर्तिलाई पहिलाकै ठाउँमा राख्न सम्भव भयो ।

चैत्यको पुनर्निर्माण सकिएको महिनौँ बितिसकेको छ । समुदायका ज्येष्ठ सदस्यहरु प्राणप्रतिष्ठाको साइत कुरेर बसेका छन् । उनीहरुलाई थाहा छ, उनीहरुले मानिआएका युद्धका देवताले प्राणप्रतिष्ठापछि पनि सबै कुरा हजारौँ वर्षदेखि चलिआएको परम्पराअनुसार नै चलून् भन्ने चाहेका छन् ।

यो पनि पढ्नुस्

काठमाडौंमा पहिलो धातुचैत्य उत्खननले उजागर गरेका तथ्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment