+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कोमल वलीलाई कटाक्षः राष्ट्रिय सभामा झ्वाँक तन्नेरी फेला परुन् !

'पोइल जान पाम' अब 'राष्ट्रवादी गीत' ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते ८:०९
कार्टुन- विन्दु पौडेल/कोरिया

१० माघ, काठमाडौं । पोइल जान पाम् भन्ने गीतकी चर्चित गायिका कोमल वलीले एमालेबाट राष्ट्रियसभाको टिकट पाएपछि फेसबुकका भित्तामा एमाले नेता कार्यकर्ताहरुको ‘रोइलो’ मच्चिएको छ । कोमल वलीलाई जनताको बहुदलीय जनवाद (जबज) सँग जोडेर समेत चर्चा गर्न थालिएको छ ।

कमल थापा नेतृत्वको राप्रपाबाट चुनावको मुखमा एमालेमा प्रवेश गरेकी वली एमालेभित्रका त्यागी नेताहरुलाई पछाडि पार्दै केपी ओलीको विश्वास जित्न सफल भएकी छिन् । तर, वलीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएसँगै एमाले अध्यक्ष केपी ओली कडा आलोचनाको शिकार बनेका छन् । यस विषयमा व्यंग्यात्मक कार्टूनहरुसमेत बनेका छन् ।

कोमल ओलीलाई राष्ट्रियसभामा लैजाने एमाले निर्णयबाट सामाजिक सञ्जालमा देखिएका केही प्रतिक्रियाहरु यस्ता छन्-

प्रेस चौतारीका नेतासमेत रहेका एमाले समर्थक पत्रकार विश्वमणि सुवेदीले कोमल ओलीको तस्वीरसहित फेसबुकमा यस्तो व्यंग्यात्मक स्टाटस लेखे-

‘जनताको बहुदलीय जनवाद-जिन्दावाद । यसलाई अझ उन्नत र प्रभावकारी बनाउनका लागि, समाजवादी आन्दोलनको कार्यभारलाई मूर्त रुप दिनका लागि र कम्युनिष्ट आन्दोलनमा नवीनतम् उपलब्धी हासिल गर्न क. कोमल वलीको विजय एकमात्र शर्त हो । जबजको सान्दर्भिकता समाप्त नभएको यो बलियो प्रमाण पनि हो ।’

विश्वमणि सुवेदीकै स्टाटसजस्तो भाका आउने गरी एमालेका पुराना नेता कोमल भट्टराईले पनि कोमल वलीको तस्वीरसहित फेसबुकमा लेखे-‘जबजको च्याप्टर क्लोज भएको छैन । बुझ ! यसको सान्दर्भिकता अझै बढ्दैछ ।’

एमाले नेतृ रामकुमारी झाँक्रीलाई चाहिँ साहित्यकार खगेन्द्र संगाैंलाकाे कुरोले मन छोएछ । ‘काकाको कुरोले मन छोयो’ भन्दै रामकुमारी संग्रौलाको स्टाटस आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । जसमा भनिएको छ, ‘ठाकुर गैरे गणतन्त्रको आन्दोलनमा गगन, रामकुमारीसँगै सडक संघर्षमा कटिबद्ध थिए, केपी ओली तिनलाई गिज्याउँथे, होच्याउँथे । अहिले चुनावी टिकट नपाएर ओली प्रवृत्तिबाट गैरे दण्डित भए, जबजको ध्वजा फहराउन दीपक मनाङे, कोमल ओली पुरस्कृत भए । जो जस्तो छ उसलाई त्यस्तै त मनपर्छ मान्यवर !’

सबैले कोमल ओलीको उम्मेदवारीमाथि आलोचना गरिरहेका बेला डनका रुपमा परिचित बिराटनगरका एमाले कार्यकर्ता पर्शुराम बस्नेतले चाहिँ कोमल वलीको प्रतिरक्षा गरेका छन् ।

युवा संघका नेतासमेत रहेका बस्नेतले आफ्नो फेसबुक स्टाटसमा वलीको पक्षमा यस्तो लेखेका छन्- ‘आज मुहार पुस्तिकामा रास्टि्रय सभा उम्मेदवार सिफारिसको सम्बन्धमा जे गलत प्रचार भैरहेको छ, त्यो पार्टी निर्णय बिरुद्ध भैरहेको छ । जहाँसम्म कोमल ओलीको बारेमा गरिएका चर्चा हल्ला छन्, त्यो हल्लाको कुनै औचित्य छैन । उहाँ रास्टि्रय सभा सदस्य हुन सबै मापदण्ड पुगेर नै उम्मेदवार हुनुभएको हो । फेसबुके हल्ला र अपमानको केही अर्थ छैन । राजनीतिमा लागेका सबै नेता माननीय हुन सक्दैनन् ।’

प्रेस चौतारीका केन्द्रीय सदस्य प्रकाश सिलवालले पनि फेसबुक स्टाटसमा कोमल वलीको बचाऊ गरेका छन् ।

सिलवालले लेखेका छन्- ‘कोमल वलीले प्रतिनिधिसभा र प्रदेशसभामा टिकट नपाउँदा उनको पक्षमा सामाजिक सञ्जाल जसरी ‘धोका दिइयो’ भन्दै बगेको थियो अहिले राष्ट्रियसभामा उम्मेदवार बनाउने निर्णय हुँदा ‘जबज र सांस्कृतिक विचलन’ को कोणबाट टिप्पणी आएको छ । सबैलाई थाहा छ, कलाकारिता र पत्रकारितामा योगदान भए पनि उनी एमालेमा नवप्रवेशी हुन्, यसैका आधारमा उनी अयोग्य हुन्नन् । पार्टी र सांस्कृतिक क्षेत्रमा लामो योगदान गरेकालाई कसरी सम्मान र सम्बोधन गर्ने भन्ने प्रश्न मात्र हो । दङ्गाली भएकाले उनलाई पार्टी प्रवेश गराउन स्थायी कमिटी सदस्य शंकर पोखरेलको भूमिका भयो होला, तर अहिले उम्मेदवार बनाउने निर्णय स्थायी कमिटीको भएकाले नेताविशेष वा व्यक्तिकेन्द्रित विरोध गर्नुको अर्थ देखिँदैन ।’

एमालेनिकट नारायणी देवकोटाले चाहिँ कोमल ओलीलाई टिकट दिइनु ‘मण्डले समाजवाद’ हो भन्दै आफूहरुलाई यो स्वीकार्य नहुने बताएकी छिन् । नागरिक दैनिकमा प्रकाशित रविन सायमीको कार्टूनसँगै देवकोटाले यस्तो स्टाटस लेखेकी छिन्-

‘मण्डले समाजवाद मुर्दावाद । हिजो लोकतन्त्रका लागि सडकमा टाउको फुटाएका मानिसहरू सायद रोजीरोटीका लागि सस्तो श्रम गर्दै होलान् ! राजाको मन्त्री बन्न जानेलाई प्रदेश प्रमुख, राजाको प्रचार गर्नेलाई राष्ट्रिय सभामा सदस्य, हिजो राजाका पालामा महिला आयोग सदस्य बन्नेलाई महिला आयोगमा पुनः लैजाने तयारी ! हामी कसैले यस्तो दिन देख्न कुनै आन्दोलन गरेका थिएनौं हौ !’

कार्टुन रविन सायमि/नागरिक

त्यसैगरी एमाले कार्यकर्ता उषाकिरण तिम्सेनाले कोमल ओलीमाथि व्यंग्य गर्दै लेखेकी छिन्- ‘बर्दियाकी शोभा ज्ञवाली (निरन्तर जिल्लाबाट सिफारिसमा पर्ने तर माथि आएपछि नाम काटिनेमा ख्यातिप्राप्त ) र कोमल वली (६ महिना अगाडि एमाले प्रवेश, अब राष्ट्रियसभा सदस्य) दुबै नेकपा एमालेका महिला नेत्रीहरुलाई बधाई !’

त्यसो त सामाजिक सञ्जालमा कोमल वलीबारे बहस गर्नेहरुमा एमालेजन मात्रै छैनन् । अरु मानिसहरुले पनि एमालेको यस्तो निर्णयप्रति व्यंग्यवाण प्रहार गरेका छन् ।

मथुराप्रसाद ढकाल व्यंग्य गर्दै लेख्छन्- ‘नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनुभएको त्याग र योगदानको कदर गर्दै तपाईं कमरेड कोमल ओली राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनको साझा उमेदवार हुनु भएकोमा हार्दिक बदाई तथा विजयको शुभकाना !’

त्यसैगरी प्रशान्त लुइँटेल लेख्छन्- ‘भक्तजन कामरेडहरू म पनि सकेसम्म सकारात्मक नै सोच्ने गर्दछु । तर, यसपटक माफ गर्नुहोला, तपाईहरूले भनेको भनेर कोमल वलीलाई जनवादी गायिका मान्न सकिन ! बरू तपाईहरूले पोइल जान पाम भन्ने गीतलाई राष्ट्रवादी गीत घोषणा गर्नुभयों भने म पनि गाउन प्रयत्न गरौंला !’

त्यस्तै फडिन्द्र लुइँटेलले फेसबुकमा लेखेका छन्- ‘माननीय ज्युलाई बधाई छ… शिव शर्माहरू पाइने राष्ट्रिय सभामा झ्वाँक तन्नेरीहरू फेला परून् अग्रिम शुभकामना !’

यी पनि पढ्नुहोस्

म मन्त्रीका लागि योग्य व्यक्ति हुँ- कोमल वली

कोमल वलीसहित राष्ट्रियसभाका १७ सदस्य निर्विरोध निर्वाचित, कोको भिड्दैछन् चुनावमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?