Comments Add Comment

राष्ट्रियसभाका १७ सदस्य निर्विरोध निर्वाचित, को-को भिड्दैछन् चुनावमा ?

१० माघ, काठमाडौं । आगामी माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् ।

बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८/८ वटै सिटमा चुनाव हुनेछ ।

राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

को-को भए निर्विरोध ?

प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।

प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।

[sam_list] प्रदेश ३ र ४ मा सबै ८/८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।

प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।

प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ ।

खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।

निर्विरोध भए पनि तत्काल घोषणा नहुने

आरक्षण सिटमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरुलाई निर्विरोध भएको घोषणा नगरिने निर्वाचन कार्यालयले जनाएको छ । यसको प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

‘निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छैन, हामी १५ गतेमात्रै निर्विरोध भएको घोषणा गर्छौं’ दिपायलका निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले भने ‘यो बीचमा कसैले उम्मदेवारी फिर्ता लिन सक्छ वा कसैको विरुद्धमा उजुरी पर्न र उम्मेदवारी खारेज हुन पनि सक्छ ।’

कोको भए उम्मेदवार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment