Comments Add Comment

ताङतिङदेखि याङजाकोटः स्थानीय परिकारसँगै रमणीय दृष्य


कास्कीको ताङतिङ होमस्टेमा पुग्दा स्थानीय आमा समूहको आतिथ्य स्मरणीय रह्यो । मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ नै सक्रियतापूर्वक लागेका थिए, स्वागत र आतिथ्यमा ।

र, होमस्टे पदमार्गको पहिचानमा निस्किएको टोली र सञ्चारकर्मीमाझ आफ्नो क्षेत्रको उज्वल भविष्यका लागि सहयोगको आग्रह गरे, आमा समूह र गाउँपालिका अध्यक्षले ।

उत्साहका साथ होमस्टेमार्फत् आन्तरिक/बाह्य पर्यटकलाई आकर्षित गर्न लागिपरेका उनीहरुको आशा प्राकृतिक थियो । त्यस टोलीको उद्देश्य नै थियो, त्यस क्षेत्रका होमस्टेहरुलाई जोड्ने गरी पदमार्गको रेखांकन गर्नु ।

पोखराबाट मोटरमा अढाइ घण्टामा पुगिन्छ, ताङतिङ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित गाउँमा १३ घरमा होमस्टे सुविधा छ । गुरुङ जीवनशैलीका साथै स्थानीय खानपिनबाट पर्यटक नलोभिने कुरै छैन । अझ, आमा समूहले घाँटु, सोरठी र झ्याउरेको तालमा नचाउँछन्, पर्यटकलाई ।

ताङतिङबाट करिब पाँच घण्टा पूर्वतर्फको उकालो चढेपछि तीन हजार ७७ मिटरमा करापु डाँडा पुग्यो, टोली । पदयात्रा मार्गभरि गुराँसे जंगल, जंगली फूलहरु, चराचुरुंगीको आवाज, सुन्दर गुरुङ बस्तीहरु र हिमाली दृष्यले यात्रा कम रोमाञ्चक बनाउँदैन ।

नौंचु डाँडा, स्तुपा, नौजले डाँडा, भेडी गोठ हुँदै ३१ सय मिटरको डाँडामा पुग्दा खाली भएको पेट र थकानभन्दा ज्यादा रोमाञ्चक दृष्यले लठ्याउँछन्, सबैलाई ।

करापुबाट देखिने सूर्योदय र सूर्यास्तको रमणीय दृष्यबाट को पो नलोभिएला र ! आँखैमा ठोक्किन आइपुग्छन्, मनास्लु, लमजुङ, माछापुच्छ्रे, मार्दी, अन्नपूर्ण साउथ, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ हिम शृंखलाहरुका सुन्दर दृष्य । र, करापु डाँडामा धर्मशालानजिकै ‘क्याम्पिङ’मा एक रात रमाउन पाइन्छ ।

करापु डाँडाबाट करिब पाँच घण्टा भिरालो जंगल हुँदै डाँडाभञ्ज्याङ र याङ्जाकोट पुगिन्छ । शुरुका केही भाग निकै अप्ठ्यारा छन् । पदमार्गको मर्मत र सुधार भएको छैन । क्योहोया डाँडा, देउराली, चौतारा, बाघखोर, ठाँटी पौवा, तउरो हुँदै याङ्जाकोट पुगिन्छ ।

समुद्री सतहबाट १४ सय ७७ मिटरमा अवस्थित याङ्जाकोटमा पनि होमस्टे सञ्चालनमा छ । गुरुङ जातिको बाहुल्य रहेको गाउँमा दलित र क्षत्रीको पनि बसोवास छ ।

त्यहाँ पनि स्थानीय बासिन्दाले बाजागाजासहित भव्य स्वागत गर्छन् । याङ्जाकोटबाट अन्नपूर्ण, लमजुङ, माछापुच्छ्रे हिमाल नजिकै देखिन्छन् । स्थानीय परिकार, गुरुङ जीवनशैलीका साथमा सांस्कृतिक कार्यक्रम देखाइन्छ । कृष्ण चरित्र, घाँटु र सोरठी नाच प्रस्तुत गरिन्छ ।

होमस्टे ट्रेकिङ ट्रेलको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदीका अनुसार यो रुटलाई भुजुङ, पसगाउँ र घलेगाउँका होमस्टेहरुसँग पनि जोड्न सकिने सम्भावना छ । जसबाट यस क्षेत्रका ग्रामीण भेगको पर्यटन विकासमा टेवा पुग्ने ठम्याइ छ, उक्त संस्थाको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment