Comments Add Comment

सामसुङलाई धक्काः भारतमा शाओमी बन्यो नम्बर एक


सामसुङलाई उछिन्दै शाओमी भारतमा नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ । ‘चिनियाँ आइफोन’ भनेर चिनिने नयाँ खेलाडी शाओमीले सामसुङलाई ६ वर्षमा पहिलोपटक एक नम्बरबाट हुत्याएको हो ।

स्वतन्त्र अनुसन्धान संस्थाहरुका अनुसार सन् २०१७ को अन्तिम त्रैमासिकमा सबैभन्दा बढी साओमीका स्मार्टफोन बिक्री भएका थिए । यस अवधिमा शाओमीको बजार हिस्सा २५ प्रतिशत रहेको छ भने सामसुङको २३ प्रतिशत । त्यसपछि तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः लेनोभो, ओप्पो र भिभो रहेका छन् । यी तीनवटैको बजार हिस्सा ६ प्रतिशतको हाराहारीमा रहेको छ ।

‘चीनपछि विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा शाओमीको प्रभूत्व कायम हुनुमा यसको बजार विस्तार रणनीति र सस्तो मूल्य प्रमुख कारकतत्व हुन्,’ काउन्टरप्वाइन्ट रिसर्चका तरुण पाठकले भने ।

यसैबीच, अर्को रिसर्च फर्म क्यानालिसका अनुसार शिओमीले २०१७ को चौंथो त्रैमासिकमा ८२ लाख स्मार्टफोनहरु बिक्री गरेको छ । जबकि यो अवधिमा सामसुङका ७३ लाख फोन बिक्री भएका छन् । यसले शाओेमीको बजार हिस्सा २७ प्रतिशत र सामसुङको २५ प्रतिशत रहेको अनुमान गरेको छ ।

‘साओमीको सफलतामा धेरै तत्वहरुले काम गरेका छन् । तर मुख्य कारण भनेको यस कम्पनीको भारतीय ईकाईलाई स्थानीय व्यवसाय सञ्चालन गर्न दिइएको स्वायत्तता हो,’ क्यानालिसका विश्लेषक इशान दत्तले भने ।

यसमा कुनै आश्चर्य छैन कि कम मूल्य तर उच्चकोटीको रेडमी नोट ४ जस्ता फोनहरुले शाओमीर्लाइ इन्डियाको नम्बर १ ब्रान्ड बनाएका हुन् । केवल १० हजार भारुमा अलराउन्ड प्याकेज उपलब्ध गराएका यी फोनले आम सर्वसाधरणको बढ्दो रुपमा मन जितिरहेका छन् । भारतमा १५ हजारभन्दा कम मूल्यका फोनले अत्यधिक बजार लिने गरेका छन् ।

सामसुङले अनलाइन बिक्रीमा जोड दिने


जेसुकै भए पनि सामसुङलाई अहिले नै हल्कारुपले लिन भने मिल्दैन । कम्पनीले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिमा आफू नै अग्रणी रहेको दावी गरिरहेको छ ।

शाओमीसित टक्कर लिनुपरेपछि सामसुङले नयाँ स्मार्टफोन सिरिज लन्च गर्ने योजना बुनिरहेको छ । यी स्मार्टफोनहरु केही सस्ता र अनलाइन बिक्रीका लागि उपयुक्त हुनेछन् । यसले ५ हजारदेखि १५ हजार भारुसम्मको मोबाइल बजारमा ल्याउन आँटिरहेको बताइएको छ ।

अफलाइन बिक्रीमा सामसुङ अहिले पनि निकै अगाडि भए पनि अनलाइनमा भने शाओमीले यसलाई आच्छु आच्छु पारिरहेको छ । काउन्टरप्वाइन्ट र क्यानालिसले प्रकाशित गरेका तथ्यांकले पनि यही देखाउँछन् ।

रेडमी नोट ४ ले बजार पिट्यो


शाओमी रेडमी नोट ४ सन् २०१७ भरी भारतमा सबैभन्दा बेसी बिक्ने स्मार्टफोन बनेको छ । काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्टमा यो फोन एक नम्बरमा देखिएको हो ।

बढी बिक्री भएका फोनको सूचीमा शाओमीका तीन, सामसुङका चार, भिभोका दुई र ओप्पोको एक फोन समावेश छन् । सूचीमा शाओमी रेडमी ४ दोस्रो, सामसुङ ग्यालेक्सी जे २ तेस्रो, ओप्पो ए३७ चौंथो, शाओमी रेडमी४ ए पाचौं, सामसुङ ग्यालेक्सी जे ७ नेक्स्ट छैठौं, सामसुङ ग्यालेक्सी जे ७ प्राइम सातौं, सामसुङ गयालेक्सी जे२ (२०१६) आठौं, भिभो वाई५५एल नवौं र भिभो वाई५३ दशौं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment