Comments Add Comment

साउदीमा भ्रष्टाचारविरुद्धको कारबाहीबाट १०६ अर्ब डलर असुली

साउदीमा भ्रष्टाचार विरोधी अभियान सुरु गर्ने राजकुमार मोहम्मद विन सलमान

साउदी अरबमा भ्रष्टाचारविरुद्ध सुरु भएको कारबाहीको नतिजा देखिन थालेको छ । महान्यायाधीवक्ता शेख सउदी अस मुजीबले यस अभियानबाट १०६.७ अर्ब डलरको असुली भइसकेको बताएका छन् ।

उनले भनेका छन् ‘चार नोभेम्बरमा ३८१ जना हिरासतमा लिएकामा अब ५६ जना बाँकी छन्, उनीहरुसँग बयान जारी छ । बाँकी रहेकाहरूले आफ्नो दायित्व, नगद, शेयर र अन्य सम्पत्ति हस्तान्तरण गरिसकेका छन् ।’

हिरासतमा रहेकाहरुको नाम सार्वजनिक गरिएको छैन, तर राजकुमार, मन्त्री व्यापारीहरु रहेको अनुमान गरिएको छ ।

पक्राउ परेका विशेष व्यक्तिलाई रिट्ज काल्टर्न होटलमा राखिएको छ । यस होटलबाट पछिल्लो समय अर्बपति लगानीकर्ता राजकुमार अलाविद बिन तलाल र अलवलिद अल इब्राहिम रिहा भएका छन् । इब्राहिम अरब टेलिभिजन नेटवर्कका मालिक हुन् । उनीहरुले आफूहरु निर्दोष रहेको बताएका छन्, तर सरकारी अधिकारीहरुले भने उनीहरुले गल्ती स्वीकार गरी रिहाईका लागि आर्थिक सम्झौता गरेको बताएका छन् ।

अर्का राजकुमार मितेब बिन अबदुल्लाहले एक अर्ब डलर बराबरको सम्पत्ति बुझाएर आत्मसमपर्पण गर्दैछन् । उनी साउदी अरबका पुराना राजा अब्दुल्लाहका छोरा हुन् । त्यस्तै स्टेट मिनिस्टर इब्राहिम अल असफको नाम पनि रिहा हुनेको सूचीमा रहेको छ ।

महान्यायाधीवक्ता शेख मुजीबले हिरासतमा बाँकी रहेका ५६ जनासँग सरकारले सम्झौता अस्वीकार गरेको  बताएका छन् । किनकी उनीहरुमाथि अन्य आपराधिक मुद्दामा समेत छानबिन भइरहेको छ । थप अनुसन्धान गर्न उनीहरुलाई हिरासतमा राखिएको हो। उनीहरुलाई रिट्ज कार्लटन होटलबाट जेलमा स्थानान्तरण गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment