२२ माघ, पोखरा । सौराहा फुड फेष्टिवलको प्रचारका लागि रेवान सौराहाको टोली पोखरा आइपुगेको छ । यही माघ २८ देखि फागुन ३ गतेसम्म हुने १२ औं संस्करणको सौराहा फुड फेस्टिबलको प्रचारका लागि रेवान सौराहाको टोली पोखरा आइपुगेको हो ।
प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा हरेक वर्ष जस्तै यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा फुड फेस्टिबल गरिन लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
उनका अनुसार ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित फेस्टिबल ५ दिन चल्नेछ ।
फेस्टिबल प्रणय दिवसको दिन फागुन २ गते पूर्वाहृन ११ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ भने अन्य दिनहरुमा पूर्वाहृन ११ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
फेस्टिबलमा ५० वटा खाका स्टल रहने छ भने थप १० वटा प्रदर्शनी स्टल रहने आयोजक रेवान सौराहाले जनाएको छ ।
होटल, रेष्टुरेण्ट र सामानमा १५ प्रतिशत छुट
फेस्टिबलको अवसरमा रेवान सौराहाले होटल, रेष्टुरेण्ट तथा सामानहरुमा छुट दिने भएको छ ।
रेवान सौराहामा आबद्ध रेष्टुरेण्टहरुमा १५ प्रतिशत, क्षेत्री होटल संघ चितवनमा आबद्ध होटलहरुमा १५ प्रतिशत र साना पर्यटन ब्यबसायसँग आबद्ध ब्यबसायीहरुले सामान खरिदमा १५ प्रतिशत छुट दिने रेवान सौराहाले जनाएको हो ।
फेस्टिबल एरियामा पि|m वाइफाइकोसमेत ब्यबस्था गरिने रेवान सौराहाका अध्यक्ष गिरीले बताए ।
प्रेम पत्र लेखन प्रतियोगिता हुने
महोत्सवको अवसरमा रेवान सौराहाले प्रेम पत्र लेखन प्रतियोगिता गर्ने भएको छ । खुल्ला प्रेम पत्र लेखन प्रतियोगिता गरिने र उत्कृष्टलाई पुरस्कृत गरिने अध्यक्ष गिरीले बताए ।
उनका अनुसार महोत्सवको अवसरमा रेष्टुरेण्ट स्टाफहरुवीच वाटर रेस प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाहरुवीच म्यूजिकल चेयर प्रतियोगिता, ९ वर्ष मूनिका बालबालिकाहरुवीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना पकाउने प्रतियोगिता, घैला रंगाउने प्रतियोगितालगायतका कार्यक्रम हुनेछन् ।
फेस्टिबलमा स्वेदशी तथा विदेशी विभिन्न खानाको स्वादमा सास्कृतिक प्रस्तुतीमा रमाउन सकिने रेवान सौराहामा प्रथम उपाध्यक्ष दिपेन्ऽ खतिवडाले बताए ।
महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन गर्नुका साथै देशवासीलाई निम्तो दिदै कलासंस्कृती र खानाले भरपुर मनोरञ्जन प्रदान गरिने सौराहा रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट -राजन) ले प्रष्ट पारे ।
सौराहा र यस क्षेत्रको बरिपरी ओझेलमा परेका कला, संस्कृती र रहनसहनको प्रचारसँगै बिदेशी माँझ नेपाली कला संस्कृती चिनाउने र आदान प्रदान गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको उनले बताए ।
फेस्टिबलका संयोजक कपिल रेग्मीले बाहृय मात्र नभइ आन्तरिक पर्यटकको केन्द्र पनि सौराहा हुनसक्ने बताउँदै भने, ‘सौराहामा विदेशी मात्र होइन, अब अन्तरीक पर्यटकहरु पनि रमाउनु पर्छ ।’ उनले पोखरा र सौराहा एक अर्काका पर्याय भएको बताउँदै पर्यटनमा एकले अर्कालाई सघाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिए ।
रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले रेवान सौराहासँग आफूहरुले सँधै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई जारी राख्ने बताए ।
रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराबाट सौराहा घुम्न जानेको संख्या बढ्दै गएको बताउँदै यसमा रेवान पोखराले सँधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फेस्टिबलबाट प्राप्त आम्दानीको केही अंश सामाजिक कार्यमा खर्च गरिने रेवान सौराहाले जनाएको छ ।
रेवान सौराहाका अनुसार टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० प्रतिशत वृद्धवृद्धा र अपांगता भएकाहरुलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिनेछ ।
यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालय निर्माणका लागि, ५ प्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा प्रदान गरिने क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।
प्रतिक्रिया 4