Comments Add Comment

‘पुरातत्वसँग रानीपोखरीको मल्लकालीन डिजाइन छैन’


२३ माघ, काठमाडौं । पुरातत्व विभागले रानीपोखरीको मल्लकालीन डिजाइन आफूसँग नभएको बताएको छ ।

विज्ञ समूहले मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सिफारिस गरेपछि काठमाडौं महानगरपालिकाले पुरातत्वसँग डिजाइन मागेको थियो । तर, विभागसँग रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको मल्लकालीन डिजाइन छैन ।

विभागका एक अधिकारीले रानीपोखरीको मल्लकालीन नापजाँचको कुनै तथ्य नरहेको बताएका छन् । ‘एउटा चित्रका भरमा बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउन सकिँदैन,’ उनले भने,’मन्दिरको नाप र जगबारे अनविज्ञ छौं । एउटा तस्वीरको भरमा मल्ल्कालीन शैली जान सकिँदैन ।’

पुरातत्व विभागकै पूर्वप्रमुख विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्न सिफारिस गरेको थियो । तर, विज्ञ समूहले गरेको सिफारिसमै पुरातत्वको असहमति छ । पुरातत्व विभागबाट समूहमा रहेका तीन जनाले अझैसम्म सुझाव प्रतिवेदनमा हस्ताक्षर नै गरेका छैनन् ।

सुरुमा रानीपोखरीसँगै मन्दिर काठमाडौं महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि पुरातत्व आफैंले निर्माण गरिरहेको छ ।

महानगरले पोखरी निर्माणमा पनि कंक्रिट प्रयोग गरेपछि सम्पदाविद र स्थानीयले विरोध गरे । लामो विवादपछि महानगरले नै विज्ञ समूह बनाएर अध्ययन गराएको थियो ।

विज्ञ समूहको अध्ययनमा बालगोपालेश्वर मन्दिर विभिन्न काल खण्डमा तीन फरक स्वरुप पुननिर्माण गरिएको फेला पार्‍यो, जसमा सबैभन्दा पुरानो शैली ‘ग्रन्थकुट’लाई मानिएको छ ।

विज्ञ समूहले आफ्नो रिपोर्टमा अहिले भइरहेका काम रोकेर ग्रन्थकुट शैलीमा बनाउन सुझाव दिएको छ ।

तर, पुरातत्व विभाग भने विज्ञ समूहको सिफारिसलाई स्वीकार गर्न आनाकानी गरेको छ ।

मन्दिर पुनर्निर्माणका लागि विभागले एक करोड ५० लाखमा ठेक्का लागेको छ । ”जुद्धशमशेरले बनाएको जस्तै मन्दिर बनाउने गरी झ्याल ढोका बनिसके । ठेकेदारले केही रकम पनि बुझिसके,’ पुरातत्व विभागका एक अधिकारी भन्छन्, ‘विवाद रानीपोखरीमा भएको हो । विवाद नै नभएको मन्दिर मल्ल्कालीन बनाउने भनेर महानगरले गरेको गल्तीमा हामीलाई पनि सँगै सति लैजान खोजिँदैछ ।’

काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनिराम शर्मा भने पुरातत्वकै सहमतिमा प्राधिकरणसहित बैठक बसेर मल्लकालीन डिजाइन माग गर्ने निर्णय भएको बताउँछन् ।

सम्पदाविद सुदर्शनराज तिवारी भने मन्दिरलाई ग्रन्थकुट शैलीमा बनाउन समस्या नपर्ने तर्क गर्छन् । ‘मल्ल्कालमा मन्दिरमा वरिपरि घुम्ने पथ (प्रदक्षिणा) थिएन । पछि गुम्बज शैलीमा लगेर घुम्ने बाटो थपियो । अब पुनर्निर्माण गर्दा दुबैलाई राख्न सकिन्छ,’ उनी भन्छन् ।

अब दुबै काललाई प्रतिनिधित्व हुने गरी डिजाइन गर्दा मौलिकतालाई जोगाउन सकिने उनको तर्क छ ।

पाटनको भाइदेगः मन्दिरलाई राणाकालमा गुम्बज शैलीमा परिवर्तन गरिएपनि अहिले पुनर्निर्माण गर्दा मल्लकालको जस्तै प्यागोडामा शैलीमा बनाइएको उदारण दिँदै तिवारीले भने ‘राणाकलमा भएका गल्ती साँस्कृतिक विकासक्रम भन्दै कायमै राख्नुपर्छ भन्ने छैन ।’

पुरात्व विभाग भने भाइदेगःमा जस्तो रानीपोखरीको पुरानो आर्किटेक्चरल प्रमाण नभएको तर्क अघि सारेको छ । अहिले विभागसँग तत्कालीन प्रुसियाका राजकुमार वाल्डमारको नेपाल भ्रमण डायरीमा संकलित सन् १८४५ को रानीपोखरीको चित्र छ । त्यतिबेला रानीपोखरी बनेको करिब १ सय ७० वर्ष भइसकेको थियो ।

यही चित्र ग्रन्थकुट शैलीको प्रमाण हो । पुरातत्व विभागका अधिकारी भने चित्रकै भरमा ग्रन्थकुट शैलीको डिजाइन तयार गर्न सहज नभएको तर्क गर्दै आएको छ । चित्रमा मन्दिरको वास्तविक आकार नखुलेको र अनुमानका भरमा मात्रै मन्दिरको डिजाइन गर्नु पुरातत्वको मर्म विपरित हुने उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment