Comments Add Comment

हेटौंडा राजधानी बनाए सांसदलाई डेरा ‘उपहार’

सरकारी भवन खोज्दै उपमहानगरपालिका

२३ माघ, हेटौँडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाका वासिन्दाले स्थायी राजधानी नै यहीँ कायम गर्न सांसदलाई डेरा खोज्नेदेखि सवारी व्यवस्थापनका विभिन्न तयारी गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले सांसदहरुलाई भाडाको घरमा बस्न नपर्ने गरी आवास व्यवस्था गर्न लागेको छ ।  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा नै आवासको व्यवस्था गर्ने तयारी छ ।

अन्य जिल्लाबाट आउने सांसदलाई सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको उनले बताए । ‘जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उहाँहरुको लागि आवासको व्यवस्था मिलिसकेको छ, चारजना मकवानपुर र छजना चितवनकाबाहेक अरु ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ’ उनले भने ।

महतका अनुसार भैंसेमा रहेको हेटौँडा सिमेन्ट उद्योगको क्वार्टर,  हेटौँडा कपडा उद्योगको खाली भवन, टिम्बर कर्पोरेसनको क्वार्टर र डिभिजन सडक कार्यालय भवनलाई सांसदको आवास बनाउने तयारी भइरहेको छ ।

मकवानपुरलाई स्थायी राजधानी बनाउन हेटौँडा उपमहानगरपालिकाले गरेको भवन व्यवस्थापनले थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताए ।

मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताए । उनले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनुनपर्ने जानकारी दिए ।

सडकपेटी र मालबाहक गाडीको व्यवस्थापन 

मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारको सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने र भारी सवारी आगमनमा समय निर्धारण गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटवालले हेटौँडाका सडकपेटीमा अस्तव्यस्त व्यवसाय र सडक नै जाम हुनेगरी रोकिने भारी सवारी साधनले राजधानी बनाउने सवालमा राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको बताए । उनले भने,  ‘हामी प्रदेशको स्थायी राजधानी बनाउने पहलमा छौं, बजार साँघुरो हुँदा सन्देश राम्रो जाँदैन ।’

उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत ध्रुव भुजेलले नगरपालिकाले गर्न चाहेको नगर व्यस्थापनमा उद्योग वाणिज्य संघको निर्णयले सहयोग पुग्ने बताए । विभिन्न क्षेत्रमा सोमबारदेखि भारी सवारी साधन जथाभावी प्रवेश गर्न नपाइने सवारी व्यवस्थापन समितिका अध्यक्ष काव्यमणि अधिकारीले बताए ।

सवारी साधनमा रोक

कान्तिराजपथको बुद्धचोकदेखि नगरपालिका मोडसम्म, सिमाचोकदेखि भुटनदेवी स्कूल मोडसम्म र भुटनदेवी स्कूल मोडदेखि शीतल महलचोकसम्मको क्षेत्रभित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको छ ।

बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि साझ ५ : ३० बजेसम्म नौ टनभन्दा बढी क्षमताका सवारी साधनले सामान लोड अनलोड गर्न नपाउने निर्णय भएको छ ।

सो क्षेत्रमा प्रवेश गरेका नौ टनभन्दा बढी क्षमता भएका सवारी साधन बिहान ९ बजेअगावै सो क्षेत्रबाट हटिसक्नु पर्नेछ भने बेलुका ५ : ३० पछि मात्र सो क्षेत्रमा प्रवेश पाउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment