+
+

आज प्रपोज डे, कसरी राख्ने प्रेम प्रस्ताव ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते १३:२०

‘प्रेम आँखाबाट सुरु हुन्छ र मनमा पुगेर टुगिन्छ ।’

प्रेमको सन्दर्भमा यसै भन्ने गरिन्छ । प्रेम आँखाले गर्ने कि मनले ? निसन्देह मनले । तर, यसको सुरुवात आँखाबाट हुन्छ । जब एकअर्कालाई देखिन्छ, मन पराइन्छ, आकषिर्त भइन्छ, भेटिन्छ, वात मारिन्छ । तब मनमा प्रेम अंकुराउँछ ।

नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।

प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।

तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्‍याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।

भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।

एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज  हाफ डन ।’

अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रपोज अर्थात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?

निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।

अतः प्रेमी वा प्रेमिकालाई कसरी प्रस्ताव राख्ने त ? यहाँ सुझाइएको छ ।

खास स्थान र समयको खोजी

प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।

क्यान्डल लाइट डिनर

आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

उपहार

प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ ? के मन पराउँछ ?

प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

भर्चुअल माध्यामबाट

अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।

ख्याल गर्नैपर्ने केहि कुरा

-प्रेम प्रस्ताव त्यसबेला मात्र राख्नुपर्छ, जब आफुले मन पराएको व्यक्तिको भावना सकारात्मक छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ ।

-प्रेम प्रस्ताव राख्नुअघि आफ्नो केटा/केटी साथीको मनोविज्ञान बुझ्नुपर्छ । यदि प्रस्ताव ठाडै अस्विकार गरिदियो भने आफुमा आघात पर्न सक्छ ।

-प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गरौं । जबसम्म सम्पूर्ण रुपमा केटा/केटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।

-क्षणिक आकर्षणको भरमा कसैलाई पनि प्रस्ताव नराखौं, त्यसको नतिजा राम्रो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?