बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

कथा-बेनामे जर्नेल

Suzuki
डा. राजुबाबु श्रेष्ठ

किन हो कुन्नी उसले आफ्नो नाम बताएन । मैले मेरो परिचय दिइसक्दा पनि ऊ आफ्नो परिचय दिन इच्छुक देखिएन ।

हरियो आर्मी कम्ब्याटमा थियो ऊ । काँधमा कुनै दर्जा चिनाउने चिन्ह थिएन । कम्मरको पेटीमा सानो पेस्तोल थियो । खैरा मुठे जुँगा, मोटो शरीर, शरीर सुहाउँदो भुँडी । हेर्दै डर लाग्ने नीला-नीला आँखाहरु । उसको आँखाबाट निस्केको मप्रतिको तिरस्कृत हेराइ । उसको मुहारको आकृतिले नै देखाइरहेछ कि उसलाई गाउँमा मेरो उपस्थिति पटक्कै मन परेको छैन । म अर्थात् यूएनको प्रतिनिधि ।

मेरो काम नै हो, उसको गाउँ भिजिट गर्ने र समस्यामा परेकाहरुलाई मानवीय सहायता गर्ने । उसको गाउँ ग्राबानिचा आउँदा पटक-पटक भेट हुन्छ, ऊसँग । म सधैं हार्दिकतापूर्वक अभिभादन गर्न छाड्दिनँ ।

कहिलेकाहीं छोटो कुराकानी पनि हुन्छ । तर, उसले अंग्रेजी नबुझ्ने भएकाले मैले जानेको टाकनटुकन सर्बियन भाषाबाटै कुरा गर्छु । भाषाले भन्दा पनि उसको हाउभाउ, औंलाको इशारा र ओठ लेप्राइबाट ऊ यूएनका प्रतिनिधिहरुलाई मन पराउँदैन भन्ने स्पष्ट हुन्छ ।

आफूलाई मन नपराउनेसँग नजिकिन औधि मन पर्छ मलाई । आफ्ना त त्यसै आफ्ना छँदैछन् । मित्र त त्यसै पनि मित्र भैहाले । शत्रुलाई आफ्नो बनाउन सके पो राम्रो । उसको रुखो व्यवहार र हेलचेक्र्याईंका कारण पनि म उसको नजिक जान चाहन्थें ।

उसको काम र व्यवहार हेर्दा ऊ सर्बियन आर्मीको ठूलै मान्छे हो भन्ने बुझ्न गाह्रो थिएन । उसका वरपर जहिल्यै एक जत्था सिपाही ओहोरदोहोर गरिरहेकै हुन्थे । ऊ कसै न कसैलाई केही न केही काम लगाइरहेकै हुन्थ्यो ।

सानो भत्किएको घरमा थियो, उसको अफिस । हामीलाई उसको अफिसमा जाने अनुमति थिएन । घर-घरमा सहायता बाँड्दै हिँड्ने समयमा सडकमा नै भेटिन्थ्यो, धेरै समय । कहिलेकाहीं हामीले स्थानीयवासीलाई सहयोग गरिरहँदा ऊ आएर कडा पारामा स्थानीयवासीलाई केही कुरा भन्थ्यो । उसले हाम्रोबारेमा राम्रो भनेको छैन भन्ने लवजबाट पनि थाहा हुन्थ्यो । नबुझेका कुराहरु म दोभाषेसँग सोध्ने गर्थें ।

‘यिनीहरु यूएनका कुकुरहरु हुन् । क्रोएसियन सरकारलाई सहयोग गर्न अमेरिकाले पठाएका दलालहरु । यिनीहरुले दिएका सामानहरु लिनु तर आफ्ना कुराहरु केही पनि नभन्नु । पाउरोटी र माछाका क्यानहरु बाँडेर हाम्रो क्रायना हामीबाट खोस्न आएका हुन्, यिनीहरु,’ उसले गाउँलेहरुलाई यसै भन्दो रहेछ ।

उसका तर्फबाट सोच्ने हो भने त्यो केही हदसम्म ठीकै लाग्न पनि सक्छ । तर, युद्धको चपेटामा परेर पीडित भएका र युरोपेली नाकाबन्दीले थिलथिलो बनेका सर्बियनहरुलाई मानवीय सहायताका लागि पुगेका सबै यूएनका कर्मचारी उसले सोचेजस्तै चाहीं थिएनौं ।

यति उग्र सोच भएका कमान्डरका सिपाहीहरु कस्ता होलान् । उसको कुरा बुझेर मन डरले काँपे पनि मभित्र उसलाई भेट्ने र ऊसँग बसेर कफी पिउँदै लामो गफ गर्ने लालसा भने मेटिएको थिएन ।

मान्छेको मन यतिविधि उग्र किन हुन्छ ? मान्छे किन एकअर्काको ज्यान लिन आतुर देखिन्छन् ? एक टुक्रो माटोका लागि किन मार्न र मर्न उत्ताउलिन्छन्, मान्छेहरु ? जातीय कित्तामा बाँधिएर बिजातीयको सर्वनास गर्न किन मातिन्छन्, मान्छेहरु ? उसलाई देखेपछि यिनै कुराहरु खेल्थे, मेरो दिमागमा ।

सर्बियन गाउँहरु हाम्रो कार्यक्षेत्र भए पनि कार्यालय भने क्रोसियन भूभागमा थियो । पाक्राच स्टेसनबाट खटिएर आएका थियौं, हामी । ग्राबानिचा र पाक्राचको बीचैमा थियो, क्रोएसिया र सर्ब शासित स्वघोषित राज्य क्रायनाको बोर्डर ।

क्रोएसियाली भूभाग भए पनि युगोस्लाभिया विभाजन हुँदा सर्बियन बाहुल्यताको यस क्षेत्रका सर्बियनहरुले आफ्नो भूभाग नछाडी छुट्टै राज्य खडा गर्ने दिशामा अगाडि बढेकाले क्रोएसियासँग निरन्तर युद्धमा थिए ।

कानुनतः क्रोएसियाको भूभाग भए पनि क्रोएसिया सरकारको अधिनमा थिएनन्, यी क्षेत्र । सर्बियनहरु आफ्नो भूभाग नछाड्ने अडानमा थिए भने क्रोसियनहरु कुनै पनि हालतमा आफ्नो भूभाग लिएरै छाड्ने मनस्थिति बनाएर आक्रमणको पूर्ण तयारीमा थिए ।

बीचमा बसेका थिए, यूएनका शान्ति सेनाहरु । कुन बेला कस्तो युद्ध हुने कुनै ठेगान थिएन । बेला-बेलामा दुवैतर्फबाट बमबारी भइरहन्थ्यो । हाम्रो ज्यान जुनसुकै बखत पनि जोखिममा पर्न सक्ने हुनाले गाउँ भिजिटमा जाँदा चनाखो भएर वाकीटकीमा कार्यालयको सूचना सुनिरहनुपर्ने अनिवार्यता थियो ।

सर्ब शासित क्रायनामा नाकाबन्दीका कारण जीवन कष्टकर देखिन्थ्यो । पेट्रोलियम अभावका कारण सवारी साधनहरु घर-घरमा थन्किएका थिए । मालसामानको मूल्य छोइसक्नु थिएन । दैनिक उपभोग्य वस्तुहरु समेत अभाव रहेकाले यूएनका विभिन्न संस्थाहरु युद्धपीडितहरुलाई राहत पुर्‍याउन खटिएका थिए ।

कहिलेकाहीं अकस्मात् दुवैतर्फ बमबारी शुरु हुँदा हामीलाई तुरुन्त कार्यालय फिर्ता हुने सूचना प्राप्त हुन्थ्यो । सूचना पाएपछि सेकेन्ड पनि ढिला नगरी सर्बियन प्रशासित क्षेत्रको बोर्डर पार गरी क्रोसियन भूभागमा र्फकनु पथ्र्यो ।

कतिपय अवस्थामा नेटो र क्रोसियन फौजले क्रायनामाथि आक्रमण गर्दा सर्बियन आर्मीले हामीजस्ता यूएनका कर्मचारीलाई कब्जामा लिएर बार्गेनिङ गरेका घटनाहरु पनि थिए । त्यसैले, दुई पक्षबीच तनाव सिर्जना भएको अवस्थामा सर्बियन भूभागमा रहनुलाई उच्च जोखिम मानिन्थ्यो ।

क्रोएसियन भूभागमा चाहीं हामी पूर्ण सुरक्षित थियौं । क्रोएसियाको पक्षमा अधिकांश युरोपेली मुलुक, नेटो र अमेरिका रहेको हुनाले कुनै न कुनै दिन सर्बहरुले क्रायना छाड्नुपर्ने निश्चितजस्तै थियो । तापनि, त्यति सजिलै क्रायना छाड्न तयार थिएनन्, सर्बहरु । क्रोसियन सरकारको अधिनमा बस्न पनि मञ्जुर थिएनन् ।

हरेक बिहान पाक्राचबाट बोर्डर पार गरी ग्राबानिचा, क्राग्बेलगायत गाउँ पुग्नुपथ्र्याे, हामीलाई । कडा नाकाबन्दीका कारण सर्बहरुको जीवन कष्टकर बन्दै गएको थियो ।

खाद्यान्न संकटले दैनिकजसो खानेकुरा बोकी घर-घरमा पुर्‍याउन थालेका थियौं । कतिपय वृद्ध र बालबालिका त राहत बोकेर आएको हाम्रो गाडी देख्नासाथै झुम्मिन आउँथे । हामी घर नम्बर र घरमा बस्ने व्यक्तिको संख्या हेरी सामानहरु दिन्थ्यांै ।

एक बिहान हामी क्राग्बेबाट लन्चमा जानका लागि ग्राबानिचातर्फ आउँदै थियौं । बाटैमा रहेको ठूलो घरको कम्पाउन्डमा देखियो, उही आर्मी म्यान । त्यसदिन ऊ युनिर्फममा थिएन । उसलाई देख्नासाथै मैले उसकै घरछेउ सडकमा गाडी रोक्दै साथमा रहेको दोभाषे मोयालाई झर्ने इशारा गरें ।

‘दोबरदान, जेनेरल !’ मैले बिहानीको नमस्ते भनें ।

पहिलोपटक ऊ फिसिक्क हाँस्यो र भन्यो, ‘दोबरदान’ ।

धेरैपटकको भेटमा यो उसको पहिलो हाँसो थियो । मैले पटक-पटक गरेको अभिवादनसम्म नफर्काउने यो आर्मीम्यान एकाएक आज कसरी बदलियो । म आश्चर्य परें ।

मैले हाँस्दै इशाराले उसको कम्पाउन्डभित्र पस्ने अनुमति मागें । उसले सजिलै आँखीभौं माथि तानेर दुवै हातले इशारा गर्दै भित्र आउने संकेत गर्‍यो । म र मोया सँगै भित्र पस्यौं ।

मनमा एकै पटक अनकौं आशंका जन्मिए । कम्पाउन्डको कुनामा आगो बालेर फलामको जालीमा बंगुरको मासुका स्लाइसहरु सेकाउँदै थियो, एक युवक । सँगै स्थानीय बियरका चिसा बोतलहरु पनि देखिए । सोचें बुढाको घरमा आज केही कार्यक्रम होला । त्यहाँ बसेर डिस्टर्ब गर्न उचित लागेन ।

‘ति दोब्रो’ (तिमीलाई राम्रै छ ?) सोधें ।

‘दोब्रो, सुपर दोब्रो’ (राम्रो, धेरै राम्रो छ) उसले जवाफ फर्कायो ।

उसको र गाउँको हालचाल सोधेर बिदा मागें । अचम्मै भो उसले हामीलाई बिदा दिएन । ऊ आज घरमा परिवारसँग बिदा मनाउने सुरमा रहेछ । उसले दुई वटा कुर्सी ल्याउन युवकलाई अह्रायो । युवक दौडँदै गएर भित्रबाट दुई वटा कुर्सी ल्यायो ।

हामी चार जना कुर्सीमा बस्यौं । उसले फटाफट तीन वटा बियर खोलेर हाम्रो टेबलमा राखिदियो । हामी असमन्जसमा पर्‍यौं । उसले पटक-पटक बोतलतर्फ इशारा गरेपछि मात्र हामीले बियर उठाएर ठोकायौं, उसको बोतलसँग ।

अक्सर सर्बियन गाउँमा जाँदा हामीलाई त्यहाँको लोकल रक्सी ‘राक्या’ले स्वागत गर्थे, स्थानीय बासिन्दाले । उनीहरुको मन राख्न ड्युटीमा भए पनि थौरै-थौरै चाखिदिन्थ्यौं हामी । आज त आर्मी म्यानले बियरै अफर गरेको थियो ।

बियरसँगै शुरु भए, अनेकौं कुराहरु । उसको र मेरोबीचमा नबुझेका कुरा प्रष्ट पार्न मोया अगाडि सर्थिन् । हामीले २/३ घुट्को पनि नभ्याउँदै उसले पहिलो बोतल रित्यायो र अर्को खोल्यो ।

युवक चुपचाप बर्गरको मासु पोल्नमा व्यस्त थियो । मासु भनेपछि म अलि लोभी भएकाले कुरा गर्दा पनि मेरो आँखा भने बारम्बार पोलेको मासुतर्फ नै गइरहेको थियो ।

‘सेब्रेंका !’ उसले घरभित्र सुन्ने गरी कसैलाई ठूलो स्वरले पुकार्‍यो । र, उसकै भाषामा के-के के-के भन्यो ।

केहीबेरमै दुई महिला भाँडोमा सामान बोकेर हामीतर्फ आए । नजिकै आएर टेबलमा भाँडो राख्दै अगाडि उभिए ।

‘मेरी श्रीमती र छोरी सेब्रेंका,’ उसले परिचय दियो ।

ढोकाबाट निस्केदेखि नै मैले मासु हेर्न छाडेर उसकी छोरी सेब्रेंकालाई एकहोरो हेरिरहेको थिएँ । उनलाई देखेपछि मेरो अविवाहित युवा मनले पटक-पटक आफैसँग आत्मपुकारा गरेथ्यो, ‘यस्ता केटीहरु त हाम्रो देशमा पनि जन्मिउन् न २/४ दर्जन ।’

एउटा भाँडोमा आलु रहेछ र एउटामा हरियो सलाद । मैले दुवै जनालाई नमस्ते गरें । उनीहरुले पनि उसै गरी नमस्ते फर्काए । अब हामी ६ जना भयौं । लन्च गर्न हिँडेका हामी आर्मी म्यानकै घरमा फस्यौं । मोया खुशी नै देखिइन् । आजको लन्च यतै हुने भो ।

उसले दुई वटा बियर खोलेर श्रीमती र छोरीका अगाडि राखिदियो । फेरि शुरु भयो, चियर्सको शृंखला । बियरको घुट्को सँगै शुरु भयो, तात्तातो बंगुरको सेकुवा, आलु र सलाद भोजन । युवकले बियरको सट्टा पानी लियो । कुरा गर्दै जाँदा थाहा लाग्यो, ऊ गाउँकै आफन्तको छोरा रहेछ ।

बाबु लडाईंमा मारिएपछि यसै घरमा आएर बसेको रहेछ । सानैमा आमा मरेकाले सेब्रेंकाकै आमाले हुर्काएकी रहिछन्, उसलाई ।

आज बडो गजबको संयोग पर्‍यो । एउटा, कहिल्यै नबोल्ने र नहाँस्ने आर्मी म्यान बोले र खुलेर हाँसे । दोस्रो, ६ महिना यसै गाउँमा काम गर्दा पनि कहिल्यै नदेखिएकी सेब्रेंकासँग परिचय भयो । तेस्रो, आर्मी म्यानकी श्रीमती यति फरासिली रहिछन् कि उनले त बारम्बार घरमा आउने निम्तो दिएर मलाई सेब्रेंकासँग भेट्ने अवसरको ढोकासमेत खोलिदिइन् ।

माहोल तात्दै गए पनि म भने भित्र-भित्र सतर्क थिएँ । मोया पनि दोस्रो बोतलमा लागिसकेकी थिइन् । म भने पहिलो बोतलको आधाआधीमै अड्किरहेको थिएँ । किन-किन बारम्बार त्यो आर्मी म्यान र तिनकी बूढीभन्दा पनि सेब्रेंकामै गइरहेथ्यो, मेरो नजर ।

हाम्रो तिर भएको भए कति छोरीतिर नजर लगाएको भन्दै कुटीपठाउन बेर थिएन । तर, त्यहाँ त्यो सोचाइ पटक्कै देखिन्थेन । मेरै साइडमा थिइन्, सेब्रेंका । मसँगै धेरै बात गर्दै थिइन्, उनी ।

कुरा गर्दै जाँदा विस्तारै विस्तारै मन खुल्दै गयो । युद्धमा होमिएर धेरै दुःख भोगेको आर्मी म्यानको विचार बुझ्न मन लाग्यो । कुरै कुरामा मेरो मुखबाट फूत्त निस्कियो, ‘जेनेरल ! तिम्रो यति सुन्दर युगोस्लाभिया टुक्रिएको मलाई पटक्कै मन परेको छैन । आफ्नै दाजुभाइलाई मारेर जितेको युद्धको के अर्थ ?’

मेरो प्रश्नले ऊ गम्भीर बन्यो । साँच्चै ऊ बोल्नै सकेन । धेरैबेर मौन रह्यो ।

‘बोस ! हाम्रो सुन्दरतामा कसैको आँखा लाग्यो । हामी बाँडियौं । हामीबीचमा जातीयताको आगो सल्कियो । हामी एकअर्कालाई मार्न तम्सियौं । कतिलाई मार्‍यौं र कति मर्‍यौं पनि । रिजल्ट तिमीहरुको सामुन्ने छ । कसलाई के थाहा म आफैं कहिले मारिन्छु ।’

उसको कुराले मेरोभित्र कतै च्वास्स घोच्यो । राज्य टुक्रिँदा एउटा सिपाहीलाई भन्दा बढी कसलाई दुख्छ ? सायद उसको मन पनि राष्ट्रसँगै टुक्रिएको हुनुपर्छ । त्यसैले त मेरो प्रश्नले उसलाई यति दुःखी बनायो ।

हाम्रो वार्तालाप चुपचाप सुनिरहेकी थिइन्, सेब्रेंका । त्यति सुन्दर अनुहारमा हाँसो कतै हराएको थियो । गम्भीर माहोललाई थोरै रंगीन बनाउने सोचले सेब्रेंकातिर लक्षित गर्दै मैले प्याच्च बोले, ‘सेब्रेंका ! ती सुपर लियप्पो ।’ (सेब्रेंका तिमी साह्रै सुन्दर छ्यौ) ।

मेरो कुराले उनी फिस्स हाँसिन् र मलाई धन्यवाद दिइन् । उनको हाँसोले नै मलाई पुगिसकेको थियो, धन्यवाद थप टिप्स भयो । म फेरि चुप बसें ।

सेब्रेंकाले खल्तीबाट एउटा सेतो बट्टाको चुरोट निकालिन् र हामी सबैलाई झिक्ने इशारा गरिन् । उनको बुवा, आमा र मोयाले १/१ खिल्ली निकाले । म र युवकले लिएनौं ।

सेब्रेंकाले लाइटर पनि निकालिन् र प्याट्ट पारेर जोडिन्, ओठको चुरोटमा । चारैतर्फ चुरोटको धुवाँ उड्न थाल्यो । युवक मासु पोल्नमा व्यस्त थियो । पाक्नासाथै ऊ हाम्रो टेबलको भाँडोमा राखिदिन्थ्यो । हामी भाँडोबाट प्लेट हुँदै मुखसम्म पुर्‍याउँथ्यौं ।

‘बियर र सिगरेट मेरी छोरीका पि्रय वस्तुहरु हुन्, बोस !’ खुशी हुँदै छोरीको बानी बतायो उसले ।

हुन त, युरोपेली समाजमा डि्रंक्स र स्मोकलाई सामान्य मानिन्छ । हाम्रो समाजमा भने हामीलाई अझैसम्म पचाउन गाह्रो छ । लगभग दुई घण्टा बसेर करिब १२ बजेतिर हिँड्यौं, कार्यालयतर्फ । कुराहरु धेरै थिए तर गर्न बाँकी राखेर निस्कियौं हामी ।

कार्यालय नपुगुन्जेलसम्म सेब्रेंकाले फुस्स-फुस्स उडाएको चुरोटको धुवाँ र आर्मी म्यानको मलिन अनुहार निकैबेर सम्भिmएँ । हिउँजस्तो सफा र बेदाग अनुहारमा समुन्द्रजस्ता नीला-नीला आँखाहरुले सेब्रेंकाको सुन्दरता बयान गरिनसक्नुको थियो ।

त्यति सुन्दर मुहारमा हाँसोको मात्रा भने पुगेको थिएन । दुई घण्टाको बसाइमा उनी खुलेर हाँसेको हेर्ने मेरो मनको धोको थाती नै राखी निस्किएको थिएँ म । सायद युद्धको क्रुर नियतिले खोसेको हुनुपर्छ, उनको हाँसो । मैले मनमनै यस्तै लख काटें ।

त्यस भेटपछि हरेक दिन त्यो बाटो हिँड्दा सेब्रेंकाको घरतिर आँखा पुर्‍याउँथें । गाडीको झ्यालबाटै भए पनि उनलाई हेरेर हात हल्लाउने इच्छा उर्लिन्थ्यो । तर, कहिल्यै पूरा भएन, मेरो त्यो इच्छा ।

गाउँका कार्यक्रमहरुमा उनलाई खोज्न मेरा दुवै आँखा चलायमान हुन्थे । तर, त्यहाँ पनि निराशा नै हात लाग्थ्यो । आर्मी म्यान सधैं अफिस र बाटोमै भेटिन्थे । कसैगरे पनि उसको घरमा जाने बहाना मिल्दै मिल्दैनथ्यो । घरी-घरी त्यो बसाइमा सेब्रेंकाले मप्रति फ्याँकेका नजरहरुले पछ्याउँथे ।

अविवाहित हुँदा जुनसुकै केटीले हेर्दा पनि उत्ताउलिने मन त्यसदिन त झनै उम्लिएको थियो । मन न हो । यसले कहाँ हेर्दो रहेछ र देशको सिमाना । कहाँ देख्दो रहेछ र जातको लक्ष्मण रेखा । कहाँ डराउँदो रहेछ र विद्रोही सेनाका जर्नेलको बन्दुकसँग । यो त फगत बस्दो रहेछ, मन परेको ठाउँमा र त्यहीं सकिँदो रहेछ आफैं ।

करिब एक महिनापछिको बिदाको एक दिन म कार्यालयको ड्युटी सकेर एक्लै लागें, सेब्रेंकाको घरतर्फ । बिदामा जाग्रेब जाँदा यूएनको पीएक्सबाट किनेर ल्याएको एक बक्सा ५५५ चुरोट र एक बोतल रेड लेबल हि्वस्की पनि झोलामा राखेको थिएँ ।

मेरा नेपाली मित्र मदन र मनोज मलाई यसरी नजान सुझाउथें । तर, उनीहरुको सुझाव मान्न मेरो मन तयार थिएन । म त्यहाँ जानुमा दुई कारण थिए ।

पहिलो, ती आर्मी म्यानसँग सम्पर्क बढाएर बिद्रोही सेनाबाट हुनसक्ने जोखिमबाट बच्ने र उनीहरुको वास्तविक कहानी बुझ्ने । दोस्रो, सेब्रेंकासँग मनभरि बात मार्ने । दुवै कुरा मेरा लागि चुनौतीपूर्ण थिए ।

करिब ३ः३० बजेतिर पुगें, उनको गेटमा । भाग्यले बाहिरै थिए, ती आर्मी म्यान । गाडी रोकेर झोला बोक्दै छिरें, कम्पाउन्डभित्र । कम्पाउन्ड भन्नु मात्रको थियो, सडकबाट भित्रको सबै छ्यांग देखिने । त्यस दिन पनि ती बूढाले मेरो अभिवादन हार्दिकतापूर्वक स्वीकार्दै मलाई भित्र लिएर गए ।

ढोकाबाट भित्रको ठूलो बैठकको सोफामा बसें म । भित्रबाट उसकी श्रीमती हाँस्दै आइन् । मैले झोलाबाट हि्वस्कीको बोतल झिकेर बूढालाई दिएँ । उसको अनुहारमा खुशीका रेखा तरंगिए । पटक-पटक धन्यवाद दिए । मैले चुरोटको बक्सा झिकेर सेब्रेंकाका लागि भनें । तत्कालै उनले सेब्रेंकालाई बोलाए । किचनबाट फुत्त निस्किइन्, सेब्रेंका ।

मलिन मलिनै थियो, अनुहार । तर, मैले चुरोटको बक्सा देखाउँदै अघि बढेपछि उनको अनुहारमा पहिलो पटक साँच्चिकै खुशी दौडियो । उनले मेरो नजिक आएर मलाई ग्वाम्म अँगालो हाल्दै धन्यवाद दिइन् । मेरो धड्कन एकैछिन स्थिर भयो । म अप्ठ्यारो हाँसो हाँसें ।

मलाई अँगालोको मोह र आर्मी म्यानको डरले एकै साथ गाँजेको थियो । उनले चुरोटको बट्टालाई यसरी गालामा टाँसिन् कि चुरोट नै हो, उनको सबैभन्दा मनपर्ने प्रेमि । एक बट्टा चुरोट र एक बोतल रक्सीले ल्याएको त्यो खुशीलाई मैले भटाभट मनको क्यामेरामा कैद गरें ।

तुरुन्तै किचेनबाट केकका विभिन्न परिकार बोकेर आइन्, आमा । केक र जुस सँगै गफियौं निकैबेर । बूढालाई हि्वस्की खान अनुरोध गरें । उनले कुनै कार्यक्रममा खाने इच्छा जनाए । सेब्रेंकाले एउटा चुरोट झिकेर सल्काइन् । दोभाषे साथमा नभएकाले म अलि खुलेर कुरा गर्न चाहिरहेको थिएँ । बूढा आज निकै खुलेका थिए । नाकाबन्दीका कारण बाहिरी देशको हि्वस्की र चुरोट किन्न नपाइने भएकाले यतिबिघ्न खुशी भएको राज पनि खोले बूढाले ।

युद्धपूर्व सेब्रेंका पाक्राचको कलेजमा पढ्दिरहिछन् । तर, युद्धको आगोले जलेछन्, उनका सपना । उनको घरको त्यति नजिक रहेको कलेज अब कहिल्यै जान नमिल्ने गरी सिमानाले छेकिदिएछ । पढाइ रोकिएपछि घरमा नै बसेर टोलाउनेभन्दा अरु उपाय पनि केही बाँकी रहेन ।

यसभन्दा नि दुःखद् कुरो त उनलाई आफ्नो ज्यानभन्दा पनि बढी माया गर्ने उसको नोभाक उतै छुटेछन् । युद्धको समयमा घरभित्रै लुकेर ज्यान बचाएपछि कैयौं पटक पुगेछन्, उनी पाक्राचको बोर्डरमा । वारि र पारि हेराहेर गर्ने अवसर त मिलेछ । तर, दुईतिरको सेनाको हाइअलर्ट र यूएन सेनाको सुरक्षाका कारण बोल्ने र भेट्ने काम हुन सकेनछ ।

दुवै जना आ-आफ्नै जातीय क्षेत्रमा रहेकाले उनीहरुको पवित्र प्रेम जातीय रंगमा डुबेर सकिएछ । पछि बोर्डर निषेधित क्षेत्र बनेपछि उनीहरुको प्रेमको बिरुवा त्यहीं सुकेर मरेछ । महिनौंसम्म उनी कोठामै रोएर बसिछन् । फोन, चिठ्ठीपत्र केहीबाट पनि सम्पर्क हुन नसकेपछि आफैंलाई सम्झाएर आजकल एक्लै घरैमा बस्दिरहिछन् ।

उनकी आमाले गहभरी आँशु पार्दै बताइन्, छोरीको रामकहानी । आर्मी म्यान बियर खोलेर पिउन थाले । सेब्रेंकाको अनुहार थोरै अँध्यारो भयो । मैले विगत भुलेर वर्तमानमा बाँच्न अनुरोध गरें । कुराकानीको क्रममा सेब्रेंकाले जानेको थौरै अंग्रेजीले निकै सघायो, मलाई । दैनिकजसो कहीं न कहीं केही न केही घटना भइरहेको त्यो अप्ठ्यारो समयमा म स्थानीय विद्रोही सेनाकै एक कमान्डरको घरमा थिएँ ।

पेसाले हामी दुईबीच कोसौंको दूरी थियो । तर, माय र मानवताले हामी निकै नजिक । त्यस्तो रिसालु र यूएनविरोधी बूढोसँग यति चाँडै यसरी बसिएला भन्नेचाहीं म आफैंले पनि सोचेको थिइनँ ।

गफै गफमा मेरो पाखुरामा रहेको नेपालको झण्डा भएको ब्याचलाई हेरेर घोत्लिइन् आमा । उनको जिज्ञासालाई मेट्न बूढा बोले, ‘स्तो कम्निस्टा कन्ट्री’ (ऊ पनि कम्युनिस्ट देशको हो) । त्यतिबेला नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा प्रथम पटक कम्युनिस्ट सरकार बनेको थियो ।

समाचारमा सुनेछन् क्यार बूढाले । कम्युनिस्ट भनेपछि अलिअलि सद्भाव देखाउँदा रहेछन्, सर्बियनहरु । सायद रुस र सर्बियासँगको घनिष्ठताको कारण पनि बनेको होला, यस्तो विचार । मैले पनि सगरमाथा र बुद्धको नाम लिएर देशको चिनारी अझै फराकिलो बनाएँ ।

केही महिनाअघि मात्र नेटोले सरायबोमा बम हमला गरेपछि क्रोएसियनहरुले ४८ जना हामीजस्तै यूएनका प्रहरीलाई कब्जामा लिएका थिए । त्यसमा दुई जना हाम्रै नेपाली साथी पनि थिए । हामी डरले काँपेका थियौं ।

विद्रोहीहरुले मारिदिने आशंकाले सबै नेपालीको मन आत्तिएको थियो । पछि नेटोले हमला रोकेपछि दुई दिन राखेर सबैलाई छाडिदिए । पल-पल जिन्दगीको जोखिम मोल्नुपर्ने अवस्था थियो । तर पनि, युद्धको त्यो दुन्दुभीमा माया र खुशीको पल खोज्न भने कहिल्यै छाडिनँ ।

कुन समय कहाँ पुगेर हाम्रै जिन्दगीको पनि ठेगान थिएन । मलाई बूढासँग यही कुरो सोध्न मन लाग्यो र प्याच्च बोलें, ‘जेनेरल ! तिमीहरुलाई नेटोले हमला गर्‍यो भने त हामीलाई कब्जामा लिन्छौ होला हगी ?’

‘अवश्य पनि लिनुपर्छ, हाम्रो सेफ्टीका लागि पनि तिमीहरुलाई नलिइकन हुँदै हुँदैन,’ बूढाले बियरको घुट्को लिँदै सामान्य लवजमा बोले ।

‘कुरो मिलेन भने हामी सबैलाई मारिदिने त ?’ मैले फेरि बोलें ।

मेरो मुखमा हेरेर मुसुक्क हाँस्दै बोल्यो ऊ, ‘तिमी नेपालीहरुलाई चाहीं अन्तिममा पारौंला नि, तिमी मेरो साथी भएका कारण तिम्रो झण्डा पाखुरामा लगाउनेजति सबैलाई सक्दो हेरौंला नि हुन्न ?’ बोलेर फेरि मुस्कुरायो ऊ ।

मनको कुनामा चिसो पस्यो । सेब्रेंका ध्यान दिएर हाम्रो वार्तालापलाई सहजीकरण गर्दै थिइन् । गफको सिलसिलामा पटक-पटक चोरी-चोरी मेरा आँखा सेब्रेंकाको अनुहारमा दौडिन्थे । आक्कल-झुक्कल आँखा पनि जुध्थे । म प्रेमिल नजरले हेरिरहन्थें, उनका आँखामा । उनी आफैं केहीबेर आँखा जुधेपछि आँखा यताउता घुमाउँथिन् ।

घाम अस्ताउन लागेकोले मैले निस्किने अनुरोध गरें । सबै परिवारले उठेर मलाई बिदा दिए । ढोकाबाट झर्दै गर्दा आमाले फेरि-फेरि आउनु है भनेर निम्ता दिइन् ।

‘जेनेरलले मलाई कारवाही गर्ला नी मामा,’ मैले हाँस्दै जिस्किएको भावमा व्यंग्य गरें ।

‘नेमा प्रोब्लेमा, नेमा प्रोब्लेमा,’ बूढाले घरमा आउन कुनै समस्या नभएको जनाऊ दिए । म हात हल्लाउँदै गाडी चढेर सुइकिएँ, पाक्राचतर्फ ।

धेरै दिनसम्म सेब्रेंकाले चुरोटको बक्सा देखेर हाँसेको त्यो क्षणले बारम्बार सताइरह्यो । वास्तवमै म नजानिँदो पाराले उनीसँग नजिकिएको थिएँ । सायद यो मेरो एकोहोरो सोच पनि हुन सक्थ्यो । तर, एकोहोरो नै सही, म मौका मिल्नासाथै उनको घरमा जाने बहाना खोज्ने भइसकेको थिएँ । मलाई उनको घरमा आउने-जाने अनुमतिसमेत मिलिसकेको थियो ।

जब म पाक्राच र ग्राबानिचाको तुलना गर्थें, कताकता नमिठो फरक अनुभव हुन्थ्यो । सँगै जोडिएको पाक्राचमा होटेल, डिस्को, कलेज, ट्रान्स्पोर्टेसनलगायत सबै सुविधा प्राप्त थिए । तर, क्रायनामा आफ्नै गाडी पनि इन्धन अभावले थन्किएका थिए । रेस्टुराँको नामो निशान थिएन ।

धनी-गरिब सबैको हालत उस्तै थियो । त्यस्तो चरम नाकाबन्दीमा पनि सर्बियनहरु आफ्नै उब्जनीमा बाँचेका थिए । साना-साना भिराला डाँडाहरुमा हरिया गहुँबाली र ती गहुँबालीकै बीच-बीचमा मिलाएर गरिएको फलफूल खेती हेर्न लायकको थियो ।

कतै थिएन ढुंगाको डाँडो । घर वरिपरि नै थिए, अनेकौं साना-साना जातका फलफूलहरु । घर-घरमा देखिन्थे, बंगुर र भेडाका बथानहरु । सर्बियनहरुको साहसलाई देख्दा अनौठो लाग्थ्यो ।

पाउरोटी, बंगुरका मासु र बियर पिउँदै खुशी-खुशी होमिएका थिए, लडाईंमा । ती पहाडका थुम्का-थुम्कामा बालुवाका बोराहरु चाङ लगाएर बनाएका ठूल-ठूला आडहरुको पछाडि बसेर आरामले लडिरहेका थिए, युद्ध ।

ती सैनिक क्षेत्रमा भने हामीलाई जाने छुट थिएन तर बाटोमा जाँदाजाँदै पनि थुप्रै देखिन्थे, थुम्का-थुम्कामा किल्ला बनाएर बसेका सर्ब सेनाहरु । क्रोएसियन भूभागमा जस्तो मनपरेकी युवतीसँग रेस्टुराँमा बोलाएर भेट्ने, बियर पिउने र मनभरि गफ गर्ने अवस्था थिएन, क्रायनामा ।

सेब्रेंकासँग एकान्तमा बसेर उनको मनको पीडा बाँड्न चाहन्थें म । तर, मेरा लागि त्यसो गर्नु सम्भव पनि थिएन र हीतकर पनि । उनीसँग बाहिर भेट्दै हिँड्दा सर्ब सेनाका सिपाहीहरुबाटै खतरा पनि आइलाग्न सक्थ्यो । मन भने नराम्रोसँग भड्किएको थियो ।

साता, १० दिनमा उनलाई भेटिएन भने काम गर्ने जाँगरै मरेर जान्थ्यो । हरेक साता उनको घरमा जाने केही न केही बहाना खोजिरहन्थें । कहिलेकाहीं कुखुराको मासु त कहिले माछा बोकेर आमालाई भेट्ने बहानामा सेब्रेंकाको घरमा पुग्थें म । सायद उनलाई थाहा थियो, म आमालाई होइन, उनकै लागि यसरी बारम्बार आइरहेछु ।

महिनाको एक पटक तलब बुझेका बेला एक बक्सा ५५५ चुरोट र एक बोतल हि्वस्की उपहार लैजाने त नियम नै बसेको थियो । खै किन हो थाहा छैन, सेब्रेंकाको हाँसो देखेको दिन मेरो मनै उज्यालो हुन्थ्यो ।

उनको घरमा जाने क्रम बढेपछि मेरा नेपाली साथीहरुले मलाई पटक-पटक सतर्क गराए पनि । बाघको खोरमा चिहाउन नजानु भन्दै गाली पनि गर्थे । मेरो मन भने आर्मी म्यानलाई आफ्नै परिवारको सदस्यजस्तो ठान्न थालिसकेको थियो । हुँदाहुँदा उनीहरुले पनि मलाई आफ्नै परिवारको सदस्यजस्तो ठान्न थालिसकेका थिए ।

सेब्रेंकाले मीठो कुरो पकाएका बेला मेरो भागसमेत राख्न थालिसकेकी रहिछन् । कुरै कुरामा उनले एकदिन भनेकी थिइन्, ‘कहिलेकाहीं तिमी आउँदा ह्याप्पी फिल गर्छु । तिमी मेरो घरमा आइरहे हुन्थ्योजस्तो लाग्छ ।’

प्रतिक्रियामा केवल हाँसेर टारेको थिएँ, मैले । उनकी आमा जसलाई म मामा भन्थें, उनी पनि मेरो आगमनले खुशी देखिन्थिन् । आर्मी म्यानको कुरो म जान्दिनँ । तर, घरका बहुमत सदस्य मेरो उपस्थितिमा रमाउँथे ।

कलेज जान छाडेको धेरैपछि हाँस्न थालेकी रहिछन्, सेब्रेंका । सायद छोरीको हाँसो फर्काइदिएको भएर पनि मसँग खुशी भएकी होलिन्, मामा । बैठकमा उनी र म मात्रै थियौ । कफीको सर्को तान्दै धेरैबेर कुरा गर्‍यौं ।

युद्धले उनको प्रेमि खोसेकोप्रति निकै भावविह्वल बनिन् । आफ्नै बाबुको पनि विरोध गर्न भ्याइन् । उनलाई आफ्नै देशको ठाउँ-ठाउँमा सिमाना तोक्दै हिँड्ने सर्बियन र क्रोएसियन सेनाप्रति घृणा लाग्दो रहेछ ।

म आफू पनि प्रेमको ठाउँ युद्धले लिन नसक्ने कुरामा दृढ थिएँ । म उनलाई तुरुन्तै उनको प्रेमिसँग भेटाउन चाहन्थें तर मेरो चाहनाले मात्र केही हुनेवाला थिएन ।

सिमाना काटेर वारपार गर्नु लगभग असम्भव थियो । उनको पीडा कम गर्ने औषधि मसँग थिएन । मैले पटक-पटक विगत भुलेर वर्तमानमा बाँच्न सुझाएँ । जीवनको लामो समय अगाडि रहेकाले अगाडि हेरेर हिँड्न अनुरोध गरें । उनले सहमतिमा टाउको हल्लाइन् ।

मलाई त्यहाँबाट निस्कनै मन लागेन । उनी पनि मसँग खुशी-खुशी कुरा गर्दै थिइन् । मलाई कतै न कतै उनले बाँधेर राखेको आभास भैरहेथ्यो । आज उनको र मेरो मनको भावना साटिएको थियो । उनले मलाई आफ्नो जीवनका सबै पीडा बताएकी थिइन् । म उनको पीडाको साक्षी बनेको थिएँ ।

धेरैबेरको कुराकानीपछि उनले मेरोबारेमा पनि जान्न चाहिन् । मैले पनि आफू एक्लै रहेको आफ्नो जीवन कहानी बताएँ । मेरो कुरा सुनेपछि खै किन किन उनी केही सहज देखिइन् ।

‘मलाई आजकल किन किन तिमी प्यारो लाग्न थालेका छौ, तिम्रो आँखामा कति धेरै लभ देख्छु म । यो के हो भन त ?’ उनले सजिलै प्रश्न राखिन् मेरा सामु ।

‘मलाई पनि थाहा छैन सेब्रेंका, मलाई पनि तिम्रो माया लाग्न थालेको छ । यति धेरै च्यालेन्ज देख्दादेख्दै पनि मलाई तिम्रो घर आइरहन मनलाग्छ ।’

‘सायद जीवनमा मेरो भागमा दुःख मात्र परेको छ । जसलाई मैले आफ्नो मुटुभन्दा प्यारो ठानें, उसलाई युद्धले कहिल्यै भेट्न नपाउने गरी छुट्यायो । अब तिमीलाई माया गरुँ भने यो पनि केही महिनाका लागि मात्र हुनेछ । तिमी मिसन सकेर जानेछौ । न त मलाई तिमीसँग जान मिल्छ, न तिमी फेरि फर्की आउनेछौ । भेरी नाइस गेम अफ लाइफ,’ उनी गम्भीर बनिन् ।

मसँग जवाफ थिएन । उनी सोह्रै आना सत्य बोल्दै थिइन् । यो वास्तवमा जीवनको एउटा खेल नै थियो । मायाको खेल । मनको खेल । नियतिको खेल ।

धेरैबेरको कुराकानीपछि साँझ पाँच बजे निस्किएँ । उनको घरबाट कोठा पुग्दासम्म मन भारी भइरह्यो । उनको कुराले बारम्बार जोडजोडले हिर्काइरह्यो, मनका भित्ताहरुमा । साथीहरु साँझको रमझममा लागिसकेका थिए । म पनि मिसिएँ त्यही भीडमा ।

उनको कुरा बिर्सन हाम्फालें, चिसो बियरको तलाउमा । जति बियर खाँदा पनि फिटिक्कै छोएन मलाई । खाँदाखाँदै कतिबेर निदाएँछु, पत्तै भएन । बिहान उठ्दा बियरका क्यानहरु लडिरहेका थिए, भुईंमा ।

त्यो भेटको ५/६ दिन भएको थियो । म फेरि भेट्ने बहाना खोज्दै थिएँ । अफिसबाट इमर्जेन्सीको सूचना आयो । कसैलाई पनि आफ्नो घरबाट बाहिर ननिस्कन निर्देशन जारी भयो । यस्तो सूचना जारी भएपछि कुनै घटना भएमा आफैं जिम्मेवार हुनुपर्थ्यो ।

सोही राति क्रोएसियन सेनाले क्रायनामा आक्रमण गरेछन् । रातैभरि बमबारी र गोलीका आवाजहरु अनगिन्ति सुनिए । सबै यूएनका कर्मचारी घर-घरमै बसे । कार्यालय बन्द भयो । हामी सधैं सहायता बोकेर हिँडेका गाउँहरु कब्जा गर्न क्रोएसियन सेना अगाडि बढ्यो । दुई रात, तीन दिन घमासान युद्ध चल्यो ।

मलाई ती बूढा आर्मी म्यानको चिन्ताले सतायो । सेब्रेंकाको चिन्ताले सतायो । मामाको चिन्ताले सतायो । कुनै समाचार हेर्ने अवस्था थिएन । कतैबाट जानकारी आउने अवस्था थिएन । क्रोसियन सेना क्रायनियन सर्ब सेनाको दाँजोमा धेरै गुणा स्रोतसाधन सम्पन्न रहेको र शक्तिशाली मुलुकहरुको साथ पाएकाले उनीहरुले क्रायना कब्जा गर्ने कुरामा कुनै शंका थिएन ।

युद्ध भइसकेपछि क्षति नहुने कुरो पनि भएन । तर, म सेब्रेंकाको परिवार रक्षाको कामना गर्नमा लागेको थिए । क्रायना जित्नु या हार्नुसँग मेरो कुनै ठूलो चासो थिएन । तर, ती आर्मी म्यानलाई केही नभइदिए हुन्थ्यो भनेर भगवानसँग प्रार्थना गरिरहें ।

अन्ततः युद्ध समाप्त भयो । चौथो दिन बिहानै हामी कार्यालय जानुपर्ने भयो । आठ बजे कार्यालय पुगेपछि हामी सबैलाई क्रायनाका सर्बहरुलाई सुरक्षित सिमाना कटाउने जिम्मेवारी दिई ग्राबानिचातर्फ खटाइयो ।

हामी १५/२० वटा गाडीको लस्करका साथ ग्राबानिचा पुग्यौं । सडकभरि मानिसको ठूलो भीड थियो । हिजो देखिएका सबै झण्डाको ठाउँमा क्रोएसियन झण्डाहरु फहराइरहेका थिए । बाटोका छेउछेउमा क्रोएसियन आर्मीका ट्यांकहरु देखिन्थे । क्रोएसियन प्रहरीहरु गाउँभरि छ्यापछ्याप्ती थिए ।

हिजो अस्ति गाउँमा देखिने युवक कोही देखिन्थेनन् । बूढाबूढी, महिला र केटाकेटीको घुइँचो थियो । सबैका आँखामा एक किसिमको उदासीपन देखिन्थ्यो । कोही रुँदै गरेको देखिन्थ्यो । पुरुषहरु नदेखिनुको एउटै कारण थियो । या त उनीहरु युद्धमा मारिए या त्यहाँबाट भागे ।

मनमा नमिठोसँग पीडाको बाढी पस्यो । आर्मी म्यान कहाँ गए होलान् । जिउदै होलान् कि मारिए होलान् । सेब्रेंका, मामा र सानो भाइ कहाँ होलान् । पक्कै यही भीडमा हुनुपर्छ । मेरा आँखाहरु निकै तेज गतिमा दौडिए, भीडको टाउको टाउकोमा ।

एकातर्फ बसहरुको लाइन थियो । बीच-बीचमा यूएन प्रहरीका गाडीहरु । केही स्थानीय बासिन्दाका गाडी र ट्रयाक्टरहरु । आँखाले देखेसम्म थिए, मान्छे र गाडीका लाइन ।

सर्बियनहरुको त्यसदिनको रुवाइले मेरो छाती भिजेको थियो । उनीहरु आफ्नो गाउँ छाडेर जाँदै थिए । आफ्नो घर आँगन र भएका सबै जायजेथा छाडेर शरणार्थी जीवन जिउन प्रस्थान गर्न लागेका थिए । एउटा छुट्टै कोलाहल, छुट्टै पीडा, छुट्टै रोदन यत्रतत्र सर्वत्र थियो ।

मभित्र उनीहरुमा जसरी नै दन्किरहेको थियो, विछोडको ज्वाला । मलाई डाँको छाडेर रुन मन लागेको थियो तर मेरो कर्तव्यले मलाई त्यसो गर्न रोकेको थियो । हरेक भीडको झुण्डमा बसेकी केटी सेब्रेंका हो कि भन्दै नियाल्थें । हरेक अधबैंसे महिलामा मामाको मुहार खोंज्थें ।

मेरो घण्टौंको प्रयासमा पनि मैले सेब्रेंकाको परिवारलाई भेटाउन सकिनँ । आर्मी अफिसरको परिवार भनेर कुनै अनिष्ट त भएन भन्ने आशंकाले फत्याकफुतुक गल्यो, जिउ । आँखाबाट आँशु र्झन नदिन भरमग्दुर प्रयास गरिरहेको थिएँ ।

सेब्रेंकाको अवस्था बुझ्न आतुर थियो मन । सेब्रेंका जीवित छन् कि छैनन् भन्ने जानकारी मात्र लिन पाए पनि मनको ठूलो बोझ कम हुने थियो । आँखाहरु उनलाई खोज्न अझै थाकेका थिएनन् ।

गाडीहरु विस्तारै चल्न थाले । म सडकछेउमै उभिएको थिएँ । आफूभन्दा अगाडि रहेका गाडीहरु विस्तारै बढ्न थाले । कोही दौडँदै बस चढ्न थाले । कोही ट्रयाक्टरमा सामान हाल्दै थिए ।

जब धीमा गतिमा चलेको रातो ट्रयाक्टर मेरो अगाडि आएर रोकियो, मेरो सास टक्क अडियो । ट्रयाक्टरमा आधा मुख छोपेकी सेब्रेंका र मामा मलाई हेर्दै आँशु झार्दै थिए । उनका बाबु र भाइ त्यहाँ थिएनन् । म केही अगाडि ट्रयाक्टरतर्फ बढेर उनको नजिक उभिएँ ।

दुवैका आँखाबाट अविरल आँशु बगिरहेको थियो । मैले पकेटबाट रुमाल झिकी निरन्तर पुछिरहें, मेरा दुवै आँखा । म यूएनको प्रहरी, मैले उनीहरुको दुःखमा रुनु हुँदै हुँदैन । म यतिखेर मान्छेभन्दा पनि बढी यूएनको अधिकारी हुँ । मेरो रुवाइले युद्ध जितेर खुशी मनाइरहेका सेनालाई नराम्रो लाग्न सक्छ । म आफैंमाथि पनि पक्षपातको आरोप लाग्न सक्छ । मैले जोडजोडले मनलाई कठोर बनाएँ ।

म अझै नजिक गएँ ।  सेब्रेंकाले छोपेको अनुहारमा काटेको सानो घाउ प्रष्ट देखिन्थ्यो । ट्रयाक्टरको ढालामा समाएको मेरो हातमा मामाले बेस्सरी समाइन् र मन फुकाएर रोइन् । सेब्रेंका केही नबोली मलाई एकोहोरो हेरिरहिन्, कतै आत्मा छाडेर आएको शरीरले झैं ।

उनका आँखाबाट आँशु होइन, मेरो आफ्नै रगत बगिरहेजस्तै भइरहेथ्यो, मलाई । म निर्जीव उभिइरहें । मसँग उनीहरुलाई रोक्ने सामथ्र्य थिएन । केही सहयोग गर्न सक्ने हैसियत पनि थिएन । सँगै बसेर मन हल्का हुने गरी रुन मन लागेको थियो, त्यसो गर्न सक्ने अवस्था पनि थिएन ।

हाम्रो ट्रयाक्टर रोकिएकाले अगाडिका गाडी ३०-४० मिटर पर पुगिसकेका थिए । हाम्रो पछाडि रहेका सबै गाडीले हामीलाई नोटिस गर्ने बेला भएकाले मैले सेब्रेंकातर्फ विदाइको हात बढाउँदै बोलें, ‘सेब्रेंका ! तिमी यो संसारमा जहाँ रहे पनि खुशी रहनु । म मेरो भगवानसँग प्रार्थना गर्नेछु- मेरो भागको खुशी पनि काटेर तिम्रो भागमा राखिदिनु ।’

उनले बेजोडले मेरो हात समातिन् र आवाज नै आउने गरी घुँक्क घुँक्क गर्न थालिन् ।

मैले आफूलाई बलपूर्वक संयमित बनाउँदै फेरि बोलें, ‘तिमीलाई अबको दिनमा कहिल्यै नछाड्ने मान्छे मिलोस्, जसले तिमीलाई संसारभरको खुशी दिन सकोस् ।’

ट्रयाक्टर विस्तारै अगाडि बढ्यो । मेरो र उनको हात छुट्यो । आमा-छोरी दुवै पछाडि फर्केर मलाई हेर्दै आँशुको धारासहित हात हल्लाउँदै टाढा भए । म सडकमा उभिइरहें ।

अकस्मात् मेरो कानमा सेब्रेंकाको आवाज ठोक्कियो, ‘राजु Û फेरि एकपटक बन्दुकसँग मेरो प्रेम हार्‍यो । दुस्मनहरुको गोलीबाट तिम्रो आर्मी म्यान मारियो । म लुटिएँ । तिम्री मामाको मन मर्‍यो । म मेरो प्रेम, घरआँगन सबै छाडेर जाँदैछु । मात्र नोभाक, तिमी र बचपनका यादहरु बोकेर जाँदैछु । तिमी त प्रेमले जित्छ भन्थ्यौ । यदि तिम्रो कुरो साँचो रहेछ भने कुनै दिन तिम्रो प्रेम बोकेर तिमीलाई भेट्न आइपुग्नेछु, तिम्रो गाउँ । संसार सानो छ । तिमीलाई धेरै धेरै माया ।’

सेब्रेंका नजिकै छ कि भनेर यताउति हेरें । उनी चढेको ट्रयाक्टर निकै टाढा पुगिसकेको थियो । मेरो शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । अगाडि क्रोएसियन प्रहरीहरु जितको खुशी मनाइरहेका थिए ।

म थचक्क पेटीमा बसेर सेब्रेंका गएको दिशातर्फ हेरिरहें । आँखामा नाचिरह्यो सेब्रेंका र मामाको दुःखी अनुहार । आँखा चिम्म गरेर रुमालले पुछें, दुवै आँखा । मनको क्यान्भासमा आर्मी म्यानको हँसिलो तस्बिर देखियो । हाँस्दा हाँस्दै रुन्चे स्वर पारेर बोल्यो ऊ, ‘बोस ! हामीले क्रायना बचाउन सकेनौं । म मारिनुभन्दा पनि छोरीको इज्जत बचाउन नसकेकामा दुःखी छु । तिमीलाई धेरै माया गर्थिन्, सेब्रेंका । विचरीको भाग्यमा माया लेखिएकै रहेनछ । तिम्रो भलो होस् ।’

आँखा खोल्दा आर्मी म्यान त्यहाँ थिएन । जताततै शून्यता थियो । मैले मनमनै आर्मी म्यानको आत्माको चीरशान्तिको कामना गरें । सेब्रेंका गएको बाटो हेर्दै उनलाई नयाँ जीवनको शुभकामना दिएँ र कार्यालयतर्फ लागें । बाटैमा पर्ने सेब्रेंकाको घरतर्फ हेर्नै मन लागेन ।

सोचें, अबदेखि कहिल्यै आउनुपर्ने छैन यी गाउँहरुमा, पाउरोटी, जुस र औषधिहरु बोकेर । यी गाउँहरुमा कोही हुने छैनन्, मलाई चिन्ने मान्छेहरु । सोच्दै पनि मनमा भयानक आँधी उर्लिएर आयो । मनको त्यो आँधीले मलाई ध्वस्त पार्नु अगावै गाउँ छाडें र बोर्डर कटेर पुगें पाक्राच ।

२०७४ माघ २८ गते १६:४१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • janak लेख्नुहुन्छ    |   २०७४ माघ २८ गते २१:१९

    sarai Mann chunay

    2
    0
    Share

  • bibek लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते १२:००

    Sachikai jivanta katha lagyo.

    1
    0
    Share

  • Prabin Pathak लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते १५:०३

    Sarai man chhoyo. Ekdam utkrista katha. Katha padhunjel maile aafu lai nai tehi chhu jasto mahasus gare.

    1
    0
    Share

  • Ganesh Chaudhary लेख्नुहुन्छ    |   २०७४ फागुन ७ गते ११:४९

    after long, मार्मिक कथा पढन पाइयो, धन्यवाद Dr. Rajubabu sir..

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this