२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् ।
बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूची छ । पराजुलीको अध्यक्षतामा बैठक बस्न नदिन कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् ।
धर्नामा सहभागी अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।
अर्का अधिवक्ता युवराज बन्जाडेले न्यायालयको गरिमामाथि नै आँच आउने भएकाले पराजुलीले राजीनामा दिनुपर्ने बताए ।
साथै कामचलाउ अवस्थामा पुगेको सरकारलाई न्यायाधीश सिफारिस गर्ने अधिकार नरहेको दावी पनि उनीहरुले गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि पराजुलीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4