Comments Add Comment

ढिकुरपोखरीमा सेमी हाइअल्टिच्यूड फुटबल मैदान बन्दै

३ फागुन, पोखरा ।  कास्कीको अन्नपूर्ण गाउँपालिकामा सेमी हाइअल्टिच्यूड फुटबल मैदान निर्माणको काम धमाधम भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ ढिकुरपोखरीमा सेमी हाइअल्टिच्यूडको ‘ढिकुरपोखरी खेल मैदान’ निर्माण तीव्र गतिमा भइरहेको हो ।

क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा समुन्द्री सतह भन्दा झण्डै २ हजार ८ सय फुटको उचाइमा खेल मैदान निर्माण भइरहेको छ । जुन सेमी हाइअल्टिच्यूडको मैदान हुने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

एक करोडको लगानीमा निर्माण भइरहेको फुटवल मैदान ११० मिटर लम्बाई र ७५ मिटर चौंडाईंको बनाउन लागिएको पौडेलले जानकारी दिए । उनले भने,’यो सेमी हाई अल्टिच्यूड मैदान हो, साथै अन्तर्राष्ट्रिय मापदण्डको पनि ।’

डेढ वर्ष अघिदेखि निर्माण सुरु भएको यो फुटबल मैदान अहिले निर्माणको अन्तिम चरणमा आइपुगेको छ । पहिलो चरणमा मैदान सम्याउने, चारैतिरबाट पानी तर्काउन नाला बनाउने र लेबलिङ गर्ने कार्य सकिएको छ ।

लेबलिङ सकिएपनि दुबो रोप्नको लागि आवश्यक माटोको अभावमा मैदान निर्माण केही समय रोकिदा केही ढिलाइ भएपनि अब बैशाखसम्ममा निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेबाट माटो लगेर दुबो रोप्ने मैदान निर्माण गर्न लागिएको उनले बताए । माटो लगेर पुरेपछि त्यहाँ दुबो रोपिने अध्यक्ष पौडेलले जानकारी दिए ।

मैदानको दक्षिणतर्फ औपचारिक कार्यक्रम गर्न स्टेज र पाहुनाहरु बस्नका लागि भीआईपी प्याराफिट निर्माण गरिने उनले बताए । मैदानको उत्तरतर्फ भने दर्शक बस्न प्राकृतिक रुपमा साधारण प्याराफिट बनाईने उनले जानकारी दिए ।

त्यस्तै, मैदान निर्माण सँगसँगै चेञ्जिङ रुम निर्माण गरिने उनले बताए । उनका अनुसार मैदानको दक्षिणतर्फ निर्माण गरिने भिआइपी प्याराफिटको पश्चिमपट्टी महिला तथा पुरुष दुबैका लागि चेञ्जिङ रुम छुट्टाछुट्टै बनाइन्छ । त्यस्तै, महिला तथा पुरुष शौचालय पनि निर्माण गरिनेछ ।

ढिकुरपोखरी खेल मैदानलाई पोखरा रंगशालाको वैकल्पिक खेल मैदानका रुपमा हेरिएको छ । यो निर्माण सम्पन्न भएमा पोखरा रंगशाला ब्यस्त रहेको समयमा त्यहाँ खेल खेलाउन सकिनेछ ।

मैदानलाई दक्षिण एसियाली खेलकुद सागको अभ्यास (वार्मअप) फुटवल मैदानका रुपमासमेत प्रयोग गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले बताए ।

उनका अनुसार वार्म अपका लागि ७ वटा खेल मैदान आवश्यक पर्ने र त्यसका लागि ढिकुरपोखरी खेल मैदानसहित पोखरा रंगशालाको पश्चिम पट्टीको मैदान, भण्डारढिक खेल मैदान, गण्डकी बोर्डिङ स्कुलको खेल मैदान, नेपाली सेनाको पश्चिम पृतना कार्यालय अर्थात बिजयपुर ब्यारेकको खेल मैदान र नेपाल प्रहरीको प्रदेश न्मबर ४ प्रहरी कार्यालयको खेल मैदानलाई प्रयोग गरिनेछ ।

अन्य सबै खेल मैदान तयारी अवस्थामा रहेपनि ढिकुर पोखरी खेल मैदान निर्माण सम्पन्न हुने अवस्थामा रहेको र भण्डारढिक खेल मैदानमा चेञ्जिङ रुम निर्माण बाहेक अन्य सबै काम सकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment