Comments Add Comment

सातै प्रदेशले पाए मुख्यमन्त्री, चार वटामा सरकार बन्यो

कोको बने प्रदेश सरकारका मन्त्री ?

३ फागुन, काठमाडौं । प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।

प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन हुन बाँकी छ ।

विहीबार प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको हो ।

संघीयतामा प्रवेशसँगै पहिलो मुख्यमन्त्री बन्ने भाग्यमानीहरुमा शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट छन् ।

प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री निर्वाचित भइसकेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री संघीय समाजवादी फोरमका हुन् भने अरु ३ वटा प्रदेशका मुख्यमन्त्री एमालेबाट निर्वाचित भएका हुन् ।

प्रदेश १ मा पाँच सदस्यीय क्याबिनेट

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेका ३ र माओवादीका १ जना मन्त्री बनेका छन् । एमालेबाट हिक्मत कार्की गृह (आन्तरिक मामिला तथा कानुन), जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शेरधन राई र चारै जना मन्त्रीलाई बिहीबार प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईलाई युवा संघ जिल्ला कमिटी झापाले ३० किलोको माला लगाइदिएको छ, त्यस्तै गृहमन्त्री घिमिरेलाई पनि १५ किलोको माला लगाइदिएका छन् ।

प्रदेश २ मा तीन सदस्यीय सरकार

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल राजपाबाट एक/एक जना मन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विहीबार फोरमका विजय यादवलाई आर्थिक मामिला तथा योजना मन्त्री र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

मु्ख्यमन्त्री राउत तथा मन्त्रीहरु यादव र सोनलले बिहीबार नै प्रदेश प्रमुख कायस्थबाट सपथ लिएका छन् । राउतले भोजपुरीमा, यादवले मैथिलीमा र सोनलले हिन्दीमा सपथ लिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वीरगञ्ज महानगरपालिकाका वासिन्दाले १०१ किलोको माला लगाइदिएका छन् ।

जनकपुर चुरोट कारखानामा सपथ लिएर बाहिरिनेवित्तिकै राउतलाई वीरगञ्जका बासिन्दाले १०१ किलोको माला लगाइदिएका हुन् । प्रदेशको राजधानी माग्दै आएका वीरगञ्जबासीले आफ्नो जिल्लाबाट निर्वाचित सांसद मुख्यमन्त्री बनेको खुशियालीमा १०१ किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।

मुख्यमन्त्रीको सपथ लिएपछि राउतले जनकपुरको मुजेलियास्थित मधेस आन्दोलनका शहीदहरुको समाधिस्थलमा पुगेर फूलमाला अर्पण गरेका थिए ।

प्रदेश ३ मा तीन सदस्यीय सरकार

प्रदेश ३ मा यसअघि नै डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् । त्यहाँको ३ सदस्यीय मन्त्रिमण्डलमा एमालेका केशव स्थापित भौतिक पूर्वाधार मन्त्री छन् भने माओवादीका शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।

प्रदेश ४ मा सरकार विस्तार बाँकी

प्रदेश ४ मा एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री चयन भइसकेका छन् । तर, उनलाई पारिवारिक शोकमा परेका कारण मुख्यमन्त्रीको सपथ र मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

प्रदेश ५ मा तीन सदस्यीय सरकार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमाले र माओवादी केन्द्रबाट एक/एक जना मन्त्री समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह -आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरु केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका सांसदको समर्थन लिएर उनले प्रदेशप्रमुख दुर्गाकेशर खनालसमक्ष मुख्यमन्त्री दाबी गरेका थिए ।

बिहीबार एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । शाहीको सपथग्रहण शुक्रबार हुनेछ ।

यसअघि एमाले नेता कँडेलले प्रदेश ६ मा आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग गरेका थिए ।

त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री

प्रदेश ७ मा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट विहीबार मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले र माओवादी केन्द्रका प्रदेश सांसदको समर्थनमा बुधबार भट्टले आफूलाई मुख्यमन्त्री बनाउन दाबी गरेका थिए ।

कुल ५३ सदस्यीय प्रदेशसभा रहेको प्रदेश ७ मा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद छन् ।

मुख्यमन्त्री भट्टको सपथ शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment