४ फागुन, सप्तरी । सप्तरीमा एक बालिकाको नाताले दाजु पर्ने युवकले नै बलात्कार र हत्या गरेको खुलेको छ ।
विरामी भएर सुतेकी बालिकाको निधन भएपछि परिवारका सदस्यहरुले अन्तिम संस्कारको तयारी गरेका थिए । तर, हजुरबुबाले हात तातो भेटेपछि अस्पताल लगियो, जहाँबाट बालिकाको मृत्यु होइन हत्या भएको आशंका जन्मियो । र, प्रहरी अनुसन्धानबाट पनि त्यही पुष्टि भएको छ ।
कसरी भयो घटना ?
घटना खड्ग नगरपालिका वडा नम्बर ९ लालपताको हो । ११ बषर्ीया बालिकालाई सामान्य रुघाखोकी लागेको थियो । २५ माघ २०७४ मा उनी आफ्नै कोठामा सुतिरहेकी थिइन् ।
नाताले दाइ पर्ने राजदेव मण्डल कोठामा प्रवेश गरे । ब्ल्यांकेट ओढेर सुतेकी बालिकालाई जबर्जस्ती गर्न खोजे । बिरामी अवस्थामा रहेकी बालिकाले रोक्ने प्रयास गरिन् तर, उनी सकिनन् ।
पीडित बालिका रुन तथा चिच्याउन थालेपछि राजदेवले उनकै कुर्ताको तुनाले घाँटी थिचिदिए ।
राजदेव कोठाबाट निस्के । विरामी भएर सुतेकी बालिका हलचल नगरेपछि परिवारका सदस्यले स्थानीय स्वास्थ्यमा पुर्याए । तर, बालिकाको मृत्यु भइसकेका कारण अन्तिम संस्कार गर्ने तयारी सुरु भयो ।
बालिकाको हजुरबुबाले हात तातो रहेको भनेपछि लहानको एक अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले घाँटीमा निलडाम देखे’ प्रहरी प्रमुख एसपी मुकेश सिंहले भने, ‘चिकित्सकले नै करणीसमेत भएको हुनसक्ने आशय व्यक्त गरेपछि हामीले अनुसन्धान सुरु गर्यौं ।’
अनुसन्धानका क्रममा २८ माघमा राजदेव पक्राउ परे । उनले बालिकाको करणी गरेर हत्या गरेको स्वीकार गरेका छन् । ‘सुरुमा त बालिकाको परिवारले बिरामी भएर केही भएको हुन सक्ने आंकलन गरेका थिए’ सिंहले भने, ‘तर, अनुसन्धानका क्रममा करणी र हत्या भएको खुल्यो ।’
लुकाउन हदैसम्मको प्रयास
पक्राउ परेका राजदेव मात्र १८ वर्षका हुन् । तर, उनले आफ्नो अपराध कर्म लुकाउन हदैसम्मको नाटक गरेका थिए ।
बालिकाको बलात्कारपछि हत्या गरेका उनले उनलाई अस्पताल लैजानसम्म सहयोग गरेका थिए ।
उनका अनुसार बलात्कारपछि उनी भाग्न खोजेका थिए । तर, बालिका चिच्याएपछि घाँटी थिचेर हत्या गरे । तर, परिवारका सदस्यले बालिकालाई के भएको थाहा पाएनन् र अस्पताल दौडाए ।
राजदेव पनि सँगसँगै अस्पताल पुगे । उनी मरिसकेको थाहा भएरै होला उनले कुनै डर नमानी बालिकाको परिवारजनसँग स्वास्थ्य संस्थासम्म पुगेर सहयोग गर्ने नाटक मञ्चन गरेका थिए ।
स्थानीय स्वास्थ्यकर्मीले बालिकाको मृत्यु भइसकेको भनेपछि दाह संस्कार गर्ने तयारी पनि गरियो । तर, बालिकाका हजुरबुबाले हात तातो रहेको बताएपछि अर्काे अस्पताल लगियो ।
जहाँ चिकित्सकले उनको हत्या भएको र जबर्जस्ती करणीसमेत भएको औंल्याए । यसपछि प्रहरीको केस बन्यो । र, प्रहरीले अनुसन्धान गर्दै जाँदा पीडित परिवारलाई सहानूभूति प्रकट गरिरहेका युवक नै बलात्कारी र हत्यारा भएको पुष्टि भएको छ । र उनी अहिले प्रहरीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय राजविराजले पत्रकार सम्मेलन गरी राजदेवलाई शुक्रबार सार्वजनिक गरेको छ । राजदेवबिरुद्व जबर्जस्ती करणी गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको एसपी सिंहले बताए ।
प्रतिक्रिया 4