Comments Add Comment

वीर अस्पतालमा डायलासिस मेसिन दोब्बर थपिने


८ फागुन, काठमाडौं । मुलुककै जेठो अस्पताल वीर अस्पतालको मिर्गौला उपचार विभागमा डायलासिस मेसिनको संख्या दोब्बर थपिने भएको छ ।

हाल १० वटा मेसिनबाट मिर्गौला रोगीहरुको डायलासिस गर्दै आएको वीर अस्पतालमा रोटरी क्लबले नौवटा मेसिन प्रदान गरेको हो । अस्पतालको मिर्गौला विभागकी प्रमुख तथा वरिष्ठ नेफ्रोलोजिष्ट प्रा. डा. रजनी हाडाले निशुल्क डायलासिस गर्न आउने बिरामीहरुका लागि सजिलो हुने बताइन् ।

‘पर्याप्त डायलासिस मेसिन नहुँदा निशुल्क डायलासिस गराउन आउने बिरामीलाई चार पटक गराएपछि थप व्यवस्था आफै गर्नू भन्दै आएका छौं’ उनले भनिन् ।

निकट भविष्यमा उक्त मेसिन जडान गरेसँगै वीर अस्पतालको आइसियु तथा हेपाटाइटिस बी, सी तथा एचआईभी एड्सबाट पीडित बिरामीका लागि छुट्टै डायलासिस मेसिनको समेत व्यवस्था गर्ने डा. हाडाले जानकारी दिइन् । उनले मेन्टिनेन्स डायलासिसमा समेत थप बिरामीलाई सेवा दिने बताइन् ।

वीर अस्पतालमा निशुल्क डायलासिस सेवा सन् २०१७ को जनवरी एक तारेखदेखि २४ घण्टा नै सञ्चालन गर्दै आएको छ । अस्पतालले महिनामा दुई जनालाई मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।

वीरमा २००८ बाट मिर्गौलाको प्रत्यारोपण सुरु भएको हो । त्यसयता, वीरले हालसम्म १३५ जनाको मिर्गौलाको सफल प्रत्यारोपण गरिसकेको छ ।

सरकारले वीर अस्पतालसहित देशका २२ वटा अस्पतालमा हाल डायलासिस सेवा निशुल्क प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment