Comments Add Comment

दार्चुलाका ७ स्थानी तह बैंक विहीनः बैंक खोल्ने प्रक्रिया अलपत्र

१३ फागुन, दार्चुला । जिल्लामा स्थानीय तहमा बैंक खोल्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको ७ महिना बितिसक्दा समेत यहाँका स्थानीय तहमा बैंकहरु खुल्न सकेका छैनन् ।

जिल्लामा रहेका ९ वटा स्थानीय तहमा कुन-कुन बैंकहरु स्थापना गरिने सो को बारेमा समेत टुङगो लागिसके पनि बैंकहरु स्थापना हुन सकेका छैनन् ।

गाउँगाउँमा सिंहदरबार भन्ने नारा घन्किएपनि ग्रामीण क्षेत्रका स्थानीयवासीले यो अनुभूति गर्न नपाएको गुनाशो गरेका छन् ।

ग्रामीण क्षेत्रबाटै सहज रुपमा सेवा लिने आशामा रहेका स्थानीय वासिन्दा अहिले घण्टौ हिँडेर सदरमुकाम धाउनु परेको छ ।

स्थानीय तहमा बैंकहरु नखुल्दा बैंकिङ कारोबारका लागि अझै सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको मार्मा गाउँपालिका वडा नम्बर ६ का दल्जितसिँह कोट्टारीले गुनासो गरे ।

‘स्थानीय तहमा बैंकिङ सेवा भएको भए घण्टौ हिडेर सदरमुकाम खलंगा आउनु पर्दैन्थ्यो,’ कोट्टारीले भने,’सनराइज बैंक स्थापना हुने भन्ने सुनेका थियौ तर अहिलेसम्म बैंक खुलेको छैन ।’

दार्चुलामा २ नगरपालिका तथा ७ गाउँपालिका सहित ९ स्थानीय तह रहेका छन् ।

सदरमुकाम क्षेत्र रहेको महाकाली नगरपालिकामा मात्रै करिब एक दर्जन बैंकहरु सञ्चालनमा रहेका छन् । महाकाली नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक, जनता बैंक, कृषि विकास बैंक, मेघा बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, एनआइसी एसिया बैंक गरी ७ वटा बैंकहरु सञ्चालनमा छन् ।

त्यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा पनि विगतदेखि नै जनता बैंकको शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालन गरिदै छ ।
हाल गोकुलेश्वरमा महालक्ष्मी बैंकसमेत स्थापना भइ सेवा सञ्चालन गरिरहेको छ । त्यस्तै जनता बैंकले जिल्लाका विभिन्न स्थानमा शाखा रहित बैंकिङ सेवा समेत दिइरहेको छ ।

जिल्लाका महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा बैंक स्थापना हुन सकेका छैनन् ।

कुन बैंक कहाँ खुल्ने ?

प्रत्येक स्थानीय तहमा बैंक स्थापना गरी बैकिङ सेवा सहज बनाउने उद्देश्य लिइएको छ । मार्मा गाउँपालिकामा सनराईज बैंक स्थापना गर्ने निर्णय भएको छ । मार्मा गाउँपालिकामा बैंकको शाखा स्थापनाका लागि भवन निर्माण भइरहेको र सम्झौता समेत भइसकेको सनराईज बैंक दार्चुलाका शाखा प्रबन्धक राकेश बुढाथोकीले बताए ।

त्यस्तै नौगाढ गाउँपालिकामा जनता बैंकको शाखा स्थापना गरिने छ । नौगाढ गाउँपालिकामा शाखा स्थापना गर्ने भनिए पनि भवन र इन्टरनेट सेवा अभावका कारण तत्काल शाखा स्थापना गर्न नसकिएको जनता बैंक दार्चुलाका प्रबन्धक प्रकाश भट्टले बताए ।

त्यस्तै दुहू गाउँपालिकामा ईन्भेष्टमेन्ट बैंकबाट बैंकिङ सेवा दिइने भएको छ । तर, दुहू गाउँपालिकामा पनि बैंक स्थापना हुन नसक्दा सेवाग्राहीहरु बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् । ‘ईन्भेस्टमेन्ट बैंकसंग कुरा भएको हो, हालसम्म अत्तो पत्तो छैन, अर्काे चरणमा दुहूमा शाखा स्थापना गर्छौ भन्ने खबर आएको छ ।’ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने ।

त्यस्तै दुई-दुई बैंकसंग शाखा स्थापनाको बारेमा छलफल भएको अपीहिमाल गाउँपालिकामा पनि हालसम्म बैंक खुल्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल डीएनका अनुसार एसबीआई बैंक र नेपाल बैंकसंग शाखा स्थापना गर्ने बारेमा छलफल भएको छ ।

त्यसैगरी लेकम गाउँपालिकामा लक्ष्मी बैंकले बैंकिङ सेवा दिने मोटामोटी छलफल भएको उपाध्यक्ष माधबी जोशीले बताए ।

त्यसैगरी मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंकको शाखा स्थापना हुने छ । व्याँस गाउँपालिकामा प्रभु बैंकको शाखा स्थापना गरिने गाउँपालिका उपाध्यक्ष हेमा भट्टले जानकारी दिइन् ।

गाउँपालिकामा बैंक स्थापन गर्न आबश्यक पूर्वाधार नहुदाँ बैंक स्थापन गर्न नसकिएको उपाध्यक्ष भट्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment