Comments Add Comment

कार्यभार सम्हाल्दै नयाँ अर्थमन्त्रीले सुनाए पाँच सूत्र

सचिवले भने- आमाका अगाडि मामा के बखान गर्नू ?

१४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दैगर्दा मन्त्रालयका कर्मचारीहरु निकै मख्ख परेर सुनिरहेका थिए ।

मन्त्रीले आफ्नो पाँच बुँदे प्रतिवद्धता सुनाइसकेपछि अर्थ सचिव शंकरप्रसाद अधिकारीले भने ‘आमाको अगाडि मामाको के बखान गर्नू !’

अर्थतन्त्रबारे राम्रोसँग बुझेका खतिवडाका अगाडि कुनै ब्रिफिङ गरिरहनुनपर्ने कर्मचारीहरुको अभिव्यक्ति सुनियो ।

अर्थमन्त्री डा. खतिवडाले  हाल देखिएका समस्या अल्पकालीनमात्रै भएको बताए । अर्थमन्त्रीको पदबहाल गर्दै डा. खतिवडाले अर्थतन्त्रमा हाल देखिएको समस्या समाधान गर्न आफू सक्षम रहेको बताए ।

मन्त्री डा. खतिवडाले संविधानको मर्म, राज्यको निर्देशक सिद्धान्त, वाम सरकारको प्रतिवद्धता र राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिवद्धताबमोजिम आफू अघि बढ्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थसचिव शंकरप्रसाद अधिकारीले अर्थतन्त्रमा चुलिँदो व्यापार घाटा, रेमिट्यान्सको घट्दो वृद्धिदर, अनौपचारिक अर्थतन्त्रको फैलावट, संघीयता कार्यान्वयन, योजना र बजेट प्रणालीमा अनुशासनहिनता, राजश्व चुहावट र खर्च व्यवस्थापन हालको अर्थतन्त्रको प्रमुख चुनौतीका रुपमा रहेको औंल्याए ।

‘अर्थतन्त्रलाई राम्रोसँग बुझेको अर्थमन्त्री हामीले पाएका छौं, मन्त्रीज्यू आफैं अर्थतन्त्रको अवस्थाबारे जानकार हुनुहुन्छ,’ उनले भने, ‘आमाको अगाडि मामाको के बखान गर्नू Û’

त्यसैगरी राजश्व सचिव शिशिरकुमार ढुंगानाले मुलुकको अर्थतन्त्र पेचिलो अवस्थामा रहेको बताउँदै नवनियुक्त अर्थमन्त्रीको अभिभावकत्वमा मुलुकको अर्थतन्त्रले सही दिशा लिने विश्वास व्यक्त गरे ।

अर्थमन्त्रीको पाँच सूत्रीय प्रतिवद्धता यस्तो छ :

  • लोककल्याणकारी राज्यव्यवस्थाको अवधारणामा राज्यको अभिभावकत्वको भूमिकालाई सुदृढ बनाउने र त्यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने । राज्यको परिपूरक भूमिकामा रहने ।
  • सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने । अर्थतन्त्रमा पारदर्शिता, अनुसाशन र  कुशलतालाई प्राथमिकता राखिने ।
  • हाल मुलुकमा देखिएको समस्या बाहृय कारणले नभई आन्तरिक कारणले नै भएको हुनाले वित्तीय प्रणालीका संरचनात्मक समस्याको समाधान गरिने ।
  • आन्तरिक र बाहृय निजी क्षेत्रलाई परिचालन गरेर लगानी भित्र्याउन अधिकतम प्रयास गर्ने । लगानी बोर्डलाई क्रियाशील बनाउने ।
  • अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय स्वार्थमा परिचालन गर्न आवश्यक पहल गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment