Comments Add Comment

‘सन्तुलित आहारले तनाव हटाउन सहयोग गर्छ’

भागदौडको जिन्दगी, गलत खानपान तथा नियमित व्यायामको कमीका कारण मानिसमा तनाव भइरहेको हुन्छ । तनावकै कारण बेचैनी, उच्च रक्तचाप, डिप्रेसनलगायतका समस्या बढ्दैछन् । तनावले नै धेरै मानिसमा मानसिक समस्यासमेत उत्पन्न गरिरहेको छ ।

केही उपाय अपनाउने हो भने हामी तनाव कम गर्न सक्छौं । स्वस्थ, व्यस्त र मस्त रहन सक्छौं । र, एउटा प्रभावकारी उपाय हो, सन्तुलित तथा पोषणयुक्त आहार ।

चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत पोषणविद् डा. भुपाल बानियाँका अनुसार खानपानमा सुधार ल्याउने हो भने हामी तनावबाट सहजै मुक्त हुन सक्छौं ।

‘नुन, तेल, मरमसलालगायतका खाद्यपदार्थको अधिक प्रयोगले शरीरमा प्रत्यक्ष असर गर्छ । समयमै यसमा नियन्त्रण नगरे दीर्घकालीन रोग निम्त्याउने कारकसमेत बन्नसक्छ’, बानियाँले भने ।

विशेषगरी, चाउचाउ, चिजबल, कुरकुरेलगायतका जंकफुडका साथै चटपटे, भुटनलगायतका नुन, तेलको बढी प्रयोग भएका खानेकुराले शरीरमा उच्च रक्तचापको समस्या निम्त्याउँछ । अनि मुटु रोग, मिर्गौला रोगको खतरा बढीहाल्छ ।

बानियाँका अनुसार नुनको बढी प्रयोगले उच्च रक्तचापको समस्या त हुन्छ नै रगतमा पानीको मात्रासमेत बढ्छ । जसका कारण मुटु रोग, हृदयाघात तथा स्ट्रोकलगायतका समस्या हुने गर्दछ ।

सामान्यतथा जंकफुड आपतकालीन अवस्थामा खाने खाना हो । तर शहरका धेरैजसो मानिस भोक लाग्यो कि बजारबाट किनेर जंक फुड खाइहाल्छन् । यस्ता जंकफुडमा सोडियमको स्तर, कोलेस्ट्रोल, स्याचुरेटेड फ्याट तथा अजिनोमोटोको मात्रा उच्च हुने गर्छ । तर, शरीरका लागि चाहिने भिटामिन, मिनरल्सलगायतका माइक्रो न्युटि्रयन्सयुक्त तत्व कम हुने गर्छ । यही कारण जंकफुडले शरीरको तौल बढाउनुका साथै उच्च रक्तचाप, मुटु, मिर्गौला रोगलगायतका दीर्घकालीन रोग निम्त्याउँछ ।

जंकफुडमा पाइने तत्वकै कारण बालबालिकामा तनाव सिर्जना हुन्छ । त्यतिमात्र हैन, घरमै बनाएको तर तेल, नुन बढी प्रयोग गरिएका खानेकुरा खानु पनि उचित होइन । यस्ता खाना खाँदा र बारम्बार एउटै तेल प्रयोग गर्दा शरीरमा ग्याष्ट्रिकको समस्या बढ्छ । ग्यास्टि्रक पुरानो भएमा यसले अल्सर, क्यान्सरलगायतका विभिन्न समस्या निम्त्याउँछ ।

यस्ता खानेकुराबाट हुने तनाव कम गर्न पोषणविदहरु फलफूल, हरिया सागपात, सलाद, हाडे बदामलगायतका खानेकुरा खान विशेष जोड दिन्छन् । ‘यी खाद्यान्नहरुमा एण्टी अक्सिडेन्ट तत्वहरुका साथै भरपुरमात्रामा फाइबर पाइन्छ । जसको मद्दतले मस्तिष्क ताजा रहनुका साथै तनाव कम हुने गर्छ’, डा. बानियाँ भन्छन् ।

दूध हालेको चिया, कफी कम पिउने हो भने पनि तनाव धेरै हदसम्म कम हुन्छ । बानियाँका अनुसार दूध हालेको चिया आफैमा ग्याष्ट्रिकको खानी हो । यसले शरीरमा क्यालोरीको मात्रा बढाउनुका साथै ग्याष्ट्रिक समेत बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment