२० फागुन, काभ्रे । काभ्रेको विकट घर्तीछापका ईन्द्रबहादुर जिम्वा गाउँमै इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यहीँबाट नागरिकता बनाउने आशमा थिए । तर, ५ वर्षसम्म पनि नागरिकता बनाउने टोली नआएपछि सदरमुकाम धुलिखेल नै धाउनुपर्यो ।
काभ्रेको डाँडापारि क्षेत्रका जनताको सहजताका लागि गृह मन्त्रालयले ५ वर्ष अगाडि घर्तीछापमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेपनि यसको कार्यान्वयन अझै हुन नसक्दा सो क्षेत्रका ईन्द्रबहादुर जस्ता धेरै व्यक्तिहरुले सास्ती पाएका छन् ।
सरकारले कर्मचारी र बजेट दुवैको व्यवस्थापन गरेपनि इलाका प्रशासन स्थापना अझै हुन सकेको छैन । डाँडापारि स्थापना हुने भनिएको इलाका प्रशासन कार्यालयको साइनबोर्ड बने पनि जिल्ला प्रशासन कार्यालयको लेखा शाखामा थन्काइएको छ । कार्यालय सञ्चालन विना नै गत आर्थिक वर्षमा इलाका प्रशासन कार्यालयको घरभाडा भनेर २० हजार १ सय २० खर्च गरिएको छ ।
‘नागरिकता बनाउनका लागि एक साता समय खर्चनु पर्ने भौगोलिक अवस्था छ,’ बनंखुकी सानुमाया मगरले भनिन्, ‘हामीलाई नागरिकता गाउँमा दिने नाममा कर्मचारी र फर्निचर खरिद भएछ, तर इलाकाको बोर्ड लेखा शाखामा थन्काइएको रैछ ।’
गत माघ १८ गते विकट डाँडापारि पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भाषणमा पटक–पटक इलाका प्रशासन तत्काल चलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए । गणतन्त्र धुलिखेलबाट विकट गाउँमा पनि आएको हेक्का राख्न उनले कर्मचारीलाई भाषणमा नै भनेका थिए । तर, कार्यान्वयन हुन नसक्दा स्थानीयबासीले सास्ती पाएका छन्
डाँडापारिका बासिन्दाले घर्तीछापमै इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै कहिले जिल्ला प्रशासन कार्यालय त कहिले गृह मन्त्रालयसम्म डेलिगेसन गए । तर अझैसम्म सुनुवाइ भएको छैन ।
‘सरकारी काम कहिले जाला घाम भनेजस्तै बन्दै पो गयो,’ महाभारत गाउँपालिकाका प्रमुख कान्छामान जिम्माले अनलाइनखबरलाई भने, ‘हामीले स्थानिय निर्वाचनपछि पनि धेरै प्रयास गर्यौं तर गाँठो कता अल्झियो अल्झियो ।’
गत माघ १८ गते विकट डाँडापारि पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भाषणमा पटक–पटक इलाका प्रशासन तत्काल चलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।
गणतन्त्र धुलिखेलबाट विकट गाउँमा पनि आएको हेक्का राख्न उनले कर्मचारीलाई भाषणमा नै भनेका थिए । तर कार्यान्वयन हुन नसक्दा स्थानीयबासीले सास्ती पाएका छन् ।
‘स्थान परिवर्तन जटिल’
इलाका प्रशासन कार्यालय सञ्चालनका लागि नेपाल सरकारले निर्णय गरेको स्थान तत्कालिन घर्तिछाप गाविस हो । नयाँ संरचना अनुसार महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकाको पायक पर्ने स्थान भनेको महाभारत गाउँपालिकाको बनखु हो ।
त्यसैलै स्थानीय जनप्रतिनिधिको माग पनि बनखुमा छ । तर, विगतको निर्णय र नयाँ संरचनाअनुसारको पायक पर्ने स्थानमा राख्ने निर्णयको मिलनविन्दु पहिल्याइएको छैन । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा स्थान परिवर्तनमा कानुनी जटिलता रहेको बताउँछन् ।
गृह मन्त्रालयले २०६९ मंसिर ८ गते काभ्रेका विकट १० गाविसका जनताहरुलाइ नागरिकता पाउन कै लागि दुई दिनसम्म हिँड्नु पर्ने वाध्यताको निकासका लागि घर्तिछापमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय गरेको थियो ।
कर्मचारी सदरमुकाममै
आर्थिक वर्ष ०७३/७४ बाट एकजना अधिकृतसहित ४ जना कर्मचारीसमेत खटाएको थियो । इलाका प्रशासन सञ्चालनका लागि फर्निचर तथा मेसिनरी सामान खरिदका लागि आएको रकमले सामानको खरिद समेत भैसकेको छ ।
जिल्ला प्रशासनको रेकर्ड अनुसार ५ लाख ९५ हजारको सामान गत आर्थिक वर्ष ०७३।७४ मा नै खरिद गरिएको थियो । खरिद भएका कम्प्युटर र आवश्यक पर्ने फर्निचर सबै सामाग्री जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन् । इलाका प्रशासनको नामप्लेट राखिएको बोर्ड समेत जिल्ला प्रशासनको लेखा शाखामा थन्काइएको छ ।
हाल कार्यालय प्रमुखका रुपमा झपेन्द्रराज खरेललाई गृहबाट पठाइए पनि उनी जिल्ला प्रशासनमा प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । करारमा कम्प्युटर अपरेटरका रुपमा रञ्जु खड्का र कार्यालय सहायकका रुपमा वाबुराम अस्थानी मगरलाई जिल्ला प्रशासनले नियुक्तसमेत गरेको छ । हाल रञ्जु जिल्ला प्रशासनमा कार्यरत छिन् भने वाबुराम इलाका प्रशासनतिरै कार्यालय कुर्ने गरेका छन् ।
प्रतिक्रिया 4