Comments Add Comment

मध्यराति बालुवाटारमा बाझाबाझ ! विद्या भण्डारीलाई ५ वर्ष गुट चलाउन छुट ?

झलनाथले हापे, घनश्यामले 'नोट अफ डिसेन्ट' भने

२३ फागुन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा राति एक बजेसम्म एमाले नेताहरुको क्ल्याङ-मल्याङ सुनिन्थ्यो । राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई नै बनाउने कि विकल्प खोज्ने भन्ने विषयमा स्थायी कमिटीका २२ जना नेता आधा रातसम्म बाझाबाझ र माथापच्चीसी गरेपछि माइन्युट भोलि लेखौंला भन्दै उठेर हिँडे ।

आगामी ५ वर्षका लागि राष्ट्रपतिजस्तो गरिमायुक्त पदमा कस्तो व्यक्तिलाई लैजाने भन्नेबारेमा महत्वपूर्ण छलफल हुनुपर्नेमा एमाले नेताहरु खासै गम्भीर देखिएनन् ।

‘जब भयो राति, अनि बुढी ताती’ भन्ने नेपाली आहानजस्तै राष्ट्रपतिको मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा डाकिएको बैठकमा मझौला नेताहरुले अलि चर्का कुरा राखे पनि शीर्ष भनिएका नेताहरुचाहिँ नतमस्तकजस्तै देखिएको सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णयका लागि डाकिएको बैठकमा वामदेव गौतम लगभग मौनजस्तै बसे भने माधव नेपालले पनि विद्या भण्डारीको विपक्षमा बोलेनन् ।

अन्ततः नेताहरुको मुड बुझेर झलनाथ खनालले पनि राष्ट्रपतिको उम्मदेवारी फिर्ता लिएको घोषणा गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई भने, ‘ल तपाई चलाउनोस् ।’

एमाले बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव धनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायतका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका थिए ।

विद्याले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर गुट चलाउने गरेको नेताहरुको आरोप थियो ।

बैठकमा कसले के भने ?

‘राष्ट्रपतिजस्तो मान्छेले शीतलनिवासमा बसेर गुटबन्दी गरेको कदापी स्वीकार्य हुन सक्दैन,’ बैठकमा अष्टलक्ष्मीले राष्ट्रपति भण्डारीको खरो आलोचना गर्दै भनिन्, ‘शीतलनिवासमा बसेर यसरी गुट चलाउन पाइँदैन ।’

विशेष गरी प्रदेश नम्बर ३ को मुख्यमन्त्री छनोट गर्ने बेलामा राष्ट्रपति भण्डारीले अष्टलक्ष्मी शाक्यलाई मत नदिनु भन्दै एमाले सांसदहरुलाई टेलिफोन गरेको आरोप नेताहरुले लगाए ।

एमाले स्रोतका अनुसार विद्या भण्डारीको सक्रियताकै कारण अष्टलक्ष्मीले प्रदेश ३ को दलका नेतामा चुनाव हारेकी हुन् । ‘एकजना महिलालाई राष्ट्रपति दोहोर्‍याउने कुरा गर्दा पार्टीमा सबैभन्दा त्याग र इतिहास बोकेको अर्को महिलालाई लात्तले हानेर भित्तामा पुराउने कति न्यायोचित हो ?’ बैठकमा अष्टलक्ष्मीले प्रश्न गरिन्, ‘मैले राष्टपति, प्रधानमन्त्री दावी गरेकी थिइनँ, एउटा मुख्यमन्त्री बन्छु भन्दा मलाई लात हानियो । मेराविरुद्ध शीतलनिवासबाट विद्रोह गराइयो, गुटबन्दी गरेर शीतलनिवासबाटै उम्मेदवार खडा गरेर चलखेल गरियो । यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो ।’

बैठकमा सचिव योगेश भट्टराईले अध्यक्ष ओलीमाथि प्रश्न गरे, ‘पार्टी कसरी लाउनुहुन्छ ? कार्यकारी प्रमुख भइसकेको व्यक्ति राष्ट्रपति हुन नहुने हो भने हिजो गिरिजाप्रसादलाई किन बनाउन खोजियो ? सुशील कोइरालालाई राष्ट्रपतिको अफर गर्ने तपाई कमरेड केपी ओली कामरेड नै होइन ? अहिले पार्टी एकता गरिरहँदा प्रचण्ड राष्ट्रपति हुन तयार भएको भए हामी मान्थ्यौं कि मान्दैनथ्यौं ?’

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले विद्या भण्डारीको पक्षमा बोल्दै भने, ‘विद्याजीले २ वर्षमात्र संक्रमणकालमा काम गर्नुभयो । उमेर भर्खर ५४/५५ वर्ष छ । अहिले नै विदा गर्दा अन्याय पनि हुन्छ । एक कार्यकाल पूरा गर्न दिउँ ।’

पोखरेलको जवाफमा योगेशले भने, ‘उमेरको कुरा गर्ने हो भने, उहाँ ५ वर्षपछि ६० वर्ष हुनुुहुन्छ । सक्रिय राजनीतिमा फर्किने भनेर उहाँको सचिवालयलाई हबाला दिँदै समाचार आएको छ, फेरि पनि उहाँ दुई कार्यकाल राष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किन समय छँदैछ ।’

राष्ट्रपतिका बारेमा कुनै प्रतिक्रिया नदिएका माधव नेपालले पनि बैठकमा केपी ओलीमाथि आफ्नो गुनासो पोखे, ‘यो पार्टीमा माधव नेपाल पक्षका भनेर नेताहरुलाई पेल्ने काम भएको छ ।’

बैठकमा भीम रावलले पनि माधव नेपालकै लाइनमा उभिँदै झलनाथको पक्षमा बोलेनन् । उनले विद्याको घुमाउरो पारामा समर्थन गरे ।

बैठकमा बामदेवले एक शब्द पनि बोलेनन् । बामदेव निकट किरण गुरुङलेे प्रधानमन्त्री भइसकेको मन्न्छे राष्टपति बनाउन हुँदैन भने ।

बैठकभरि विद्या भण्डारीको धेरै नै आलोचना भयो । उनका बारेमा उठेका कुरा उनलाई सुनाउने भन्ने निर्णय पनि भयो । साथै पार्टीको आन्तरिक जीवनबारे एउटा गम्भीर बैठक गर्ने पनि सहमति भएको नेताहरुले बताएका छन् ।

ओली नरम बनेपछि झलनाथले हापे

छलफल हुँदैजाँदा सुरुमा झलनाथ खनाल पार्टी अध्यक्ष केपी ओलीप्रति आलोचनात्मक रुपमा प्रस्तुत भए । पार्टीले गर्ने निर्णयहरु संस्थागतरुपमा हुनुपर्नेमा अध्यक्षले एकलौटी गरिरहेको आशय खनालले व्यक्त गरे ।

जुनसुकै निर्णयहरु पनि संस्थागतरुपमा हुनुपर्छ भन्ने खनालले माग गरे ।

खनालको असन्तुष्टि आउनासाथ पार्टी अध्यक्ष ओलीले हामी इलेभेन्थ आवरमा छौं, अबदेखि सबैकामहरु सररल्लाह गरेर गर्छु, सबैलाई साथैमा लिएर अघि बढ्छु भन्दै आत्मालोचनाको शैलीमा आफूलाई प्रस्तुत गरेपछि खनाल पग्लिए । र, ‘ ठीकै छ, उसोभए अध्यक्षज्यु अगाडि बढ्नोस्, मैले आफ्नो दाबी फिर्ता लिएँ’ भन्दै पछि हटे ।

अष्टलक्ष्मीको नाम लिँदै भुसालको नोटअफ डिसेन्ट

बैठकमा सहभागी एक एमाले नेताका अनुसार राष्ट्रपतिको उम्मेदवारी झलनाथ खनालले हापे पनि उपमहासचिव घनश्याम भुसालले अष्टलक्ष्मी शाक्यलाई किन राष्ट्रपति बनाउन नहुने भन्दै शाक्यको नाम प्रस्ताव गरे ।

जवाफमा केपी ओली पक्षका केही नेताहरुले यस्तो उमेर छँदै विद्या भण्डारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठाएका थिए । त्यसको जवाफमा भुसाल पक्षका नेताले विद्याको मात्रै किन व्यवस्थापन ? युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरुको पनि त व्यवस्थापन गर्नुपर्छ होला नि ? भन्ने प्रतिप्रंश्न गरे ।

नेताहरुवीच गज्याङगुजुङ चलिरहँदा केहीबेर सुवास नेम्वाङ र अष्टलक्ष्मी वीचमा पनि भनाभन भएको थियो ।

उपमहासचिव भुसालले अष्टलक्ष्मीको नाम राष्ट्रपतिका लागि प्रस्ताव गरे पनि बैठकले विद्या भण्डारीलाई नै पुनः दोहोर्‍याउने निर्णय सुनायो । त्यसको जवाफमा भुसालले बैठकमा भने, ‘विद्या भण्डारीको नाममा मेरो केही भन्नु छैन, तर पार्टी सञ्चालन र निर्णय प्रक्रिया जुन ढंगबाट भइरहेको छ, यसमा मेरो नोडअफ डिसेन्ट छ, माइन्युटमा त्यो उल्लेख होस् ।’

तर, मध्यराति भइसकेकाले माइन्युट भोलि लेखौंला भन्दै नेताहरु छुटे । उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्छु भने पनि बिहान एमाले पार्टीको आधिकारिक वेवसाइटमा ‘विद्या भण्डारी सर्वसम्मत राष्ट्रपतिको उम्मदेवार’ भन्ने समाचार आयो ।

‘याँली बियाँली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई’

विद्या भण्डारी नै राष्ट्रपतिमा दोहोरिने कुरा एमाले वृत्तमा लगभग ‘ओपन सेक्रेट’नै थियो । तैपनि झलनाथ खनालले निकै जोडबल गरेका कारण भण्डारीको पक्षमा निर्णय गर्न सहज नहुने अनुमान लगाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार उज्यालोमा बैठक बोलाएनन् ।

झलनाथ माधव नेपाल र बामदेव गौतमसहितका नेताहरुसँग उनले ब्रेक फास्ट मिटिङ गरे । दिउँसो संसदमा एमालेबाट माधव नेपाललाई बोल्न दिए । अनि स्थायी कमिटी बैठकअघि बालुवाटारमा जन्मदिनको केक काटेर माधव नेपाललाई खुवाए ।

यसरी ‘याँली बियाँली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई’ भन्ने आहान जसरी रातपरेपछि बल्ल स्थायी कमिटी बैठकमा प्रस्तावको बिस्कुन सुकाइयो ।

बैठक साँझ ७ बजेबाट बैठक शुरु भयो । बैठकको सुरुमै अधिकांश नेताले विद्या भण्डारीको भूमिकामाथि आलोचना गरे । शीतलनिवासबाट गुट चलाएको, क्याम्पसका स्ववियु सभापतिदेखि वडाध्यक्षको टिकटमा समेत भागबण्डा गरेको । प्रदेश १ र ३ को मुख्यमन्त्रीमा भागबण्डा खोजेको अनि मन्त्री र सांसदमा भागबण्डा खोजेको आरोप विद्या भण्डारीमाथि लाग्यो ।

टिप्पणीः एउटा अलोकतान्त्रिक अभ्यास

एमालेको स्थायी कमिटीमा २२ जना नेता छन् । राष्ट्रपति कसलाई बनाउने भन्ने राष्ट्रकै लागि महत्वपूर्ण मानिने विषयमा निर्णय गर्न केन्द्रीय सदस्यहरुलाई समेत कुनै भूमिका दिइएन । केन्द्रीय सदस्य वा पोलिटब्यूरो सदस्यसम्मलाई पनि अपनत्व लिन नदिई राष्ट्रपतिको उम्मेदवार तय गरियो ।

एमालेको पार्टी जीवनमा यो एउटा अलोकतान्त्रिक अभ्यास हो, तर यसको असर सिंगै देशले व्यहोर्नुपर्ने छ । विद्या भण्डारी नै राष्ट्रपतिको उम्मेदवार भएको भए पनि कमसेकम केन्द्रीय समितिको बैठकमा प्रस्ताव ल्याएर पर्याप्त छलफल गरिएको भए त्यो लोकतान्त्रिक अभ्यास हुने एमालेकै नेताहरु स्वीकार्छन् । तर, एमालेका केन्द्रीय सदस्यहरु यो मामिलामा मूकदर्शक एवं निरीह देखिएका छन् ।

यसका लागि विद्या वा झलनाथकै वीचबाट मात्रै खोज्नुपर्छ भन्ने थिएन, भारतमा अब्दुल कलामलाई बनाइएजस्तै कुनै सम्मानित नागरिकलाई राष्ट्रपति बनाउने परम्परा बसाइएको भए वाम नेताहरुले देशमा नयाँ अभ्यास गर्न लागेको सन्देश जान सक्थ्यो ।

जस्तो कि प्रदेश १ र ३ को दलको नेता छान्दा एमालेले जबजको भावना यही हो भन्दै आन्तरिक चुनाव गरेको थियो । त्यसरी निर्वाचनमा जानुपर्ने जोड केपी ओलीकै पक्षका नेताहरुको थियो । तर, यही जबजको थ्यौरी राष्ट्रपतिको उम्मेवार छान्दा लागू गरिएन ।

एमालेका एक नेताका अनुसार कमसेकम एमालेको केन्द्रीय कमिटीले राष्ट्रपतिको उम्मेदवारबारे छलफल गरेर प्रतिस्पर्धाका आधारमा तय गरेको भए एमालेभित्र आन्तरिक लोकतन्त्र छ भन्ने मान्यता स्थापित हुने थियो, तर हचुवाका भरमा अँध्यारो कोठामा बसेर मध्यरातमा राष्ट्रपतिको उम्मदेवार खडा गरियो ।

राष्ट्रपति भण्डारीमाथि गुटबन्दी गरेको र शीतलनिवासबाटै पार्टी चलाउने गरेको आरोप लागिरहेको छ, त्यो पनि उनकै मातृ पार्टीकै नेताहरुबाट । अर्कोतर्फ शीतलनिवासलाई एमालेकरण गरिएको आरोप कांग्रेसवृत्तबाट समेत लाग्दै आएको छ । विशेष गरी राष्ट्रिय सभाका सदस्यको मनोनयनबारे विद्या भण्डारीले खेलेको भूमिकाबारे सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन छ ।

तथापि मुलुकले अब पाँच वर्षका लागि विद्या भण्डारीलाई नै राष्ट्रपतिका रुपमा झेल्नुपर्ने सम्भावना बढेको छ । किनभने सांसदहरुले आगामी २९ गते विवेकका आधारमा होइन, दलगत आधारमा राष्ट्रपति छनोट गर्नेछन्, जुन संसदीय व्यवस्थाको एउटा खराब अभ्यास हो ।

एमालेकै नेताहरुको आरोपलाई मान्ने हो भने अब पाँच वर्ष शीतल निवासमा बसेर गुट चलाउन विद्यादेवी भण्डारीले छुट पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment