२४ फागुन,काठमाडौं । संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान कार्यान्वयनको चरणमा पुनः दोहोर्याउने सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि नै सहमति भइसकेको एक माओवादी नेताले बताएका छन् ।
राष्ट्रपति उम्मेदवार चयनका सन्दर्भमा एमाले स्थायी समिति बैठकमा भएको विवाद बाहिर आएपछि माओवादीभित्र पनि यसबारे चर्चा भएको हो ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुुर पुनलाई नै दोहोर्याउने भद्र सहमति एमाले अध्यक्ष ओली र आफूवीच भएको नेताहरुलाई जानकारी दिएका छन् । सोही सहमति अनुसार नै माओवादीले उपराष्ट्रपतिमा नन्दवहादुर पुनलाई नै उम्मेदवार बनाउने भएको छ ।
माओवादी नेता वर्षमान पुनका अनुसार छोटो समयमा राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा फेरबदल गरिरहनु उचित नहुने र राज्यकोषमा पनि भार थपिने भएकाले संक्रमणकालका दुवैजनालाई दोहोर्याउने सहमति भएको हो ।
माओवादीबाट उपराष्ट्रपतिमा अमिक शेरचनले पनि इच्छा देखाएका थिए । तर, विद्या भण्डारीको उम्मेदवारीसँगै नन्दवहादुर पुन दोहोरिने निश्चित भएको छ ।
माओवादी केन्द्रीय सचिवालयको बैठकले पुनको उम्मेदवारी तय गर्नेछ । उपराष्ट्रपति निर्वाचनको मिति राष्ट्रपति निर्वाचनपछि तोकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
स्रोतका अनुसार उपराष्ट्रपति निर्वाचन चैत पहिलो साताअघि नहुने भएको छ ।
प्रतिक्रिया 4