Comments Add Comment

५ कक्षापछि मात्रै पाइन्ट र जुत्ता लगाएँ: बद्री पंगेनी

पाल्पाको एउटा गाउँमा जन्मिएका बद्री पंगेनीलाई बाल्यकालमा सबैले ‘बाबु’ भनेर बोलाउँथे । उनका दुई आमा थिए । आफ्नी आमाको घर तलतिर थियो भने ठुली आमाको घर मास्तिर । बद्रीले आफ्नी आमालाई तल आमा र ठुली आमालाई माथी आमा भन्थे । उनी आफ्नी आमासँग नभएर ठुली आमासँग बस्थे ।

‘खै किन हो मलाई ठुलीआमाको धेरै माया लाग्थ्यो । उहाँसँगै बस्थेँ । आफ्नी आमाकोमा पनि कहिलेकाहीँ जान्थेँ तर, भात खाएर फर्किहाल्थेँ,’ बद्री भन्छन् ।
उनको एउटा भाई थिए, उमेरमा तीन वर्ष कान्छो । दाजुभाईको खुब झगडा पथ्र्यो । भाईले रिसाएर बद्रीलाई टेडे भन्थे । बद्री पनि के कम । भाईलाई ढेडे भन्थे । दिदी अलि ठुली र बहिनी अलि सानै भएकाले उनीहरुसँग खास झगडा पर्थेन ।

स्कुल घरभन्दा १५ मिनेट टाढा थियो । खाजाको रुपमा गहुँको सुख्खा रोटी लैजान्थे । एक जनाले लगेको खाजा ४/५ जना साथी मिलेर खाने चलन हुन्थ्यो । रोटी नलगेको वेलामा भने पैसा लैजान्थे । एक रुपैंयादेखि पाँच रुपैयासम्म हुन्थ्यो उनको खोजीमा । एक रुपैयाले प्रशस्त खानेकुरा आइहाल्थ्यो ।

स्कुल नजिकै भेषराज भन्ने दाईको पसल थियो भने अर्को पसल थियो टिकामाला । त्यहि किन्थे पिपलमेठ, बिस्कुट, चिउरा, दालमोठ वा अरु खानेकुरा ।
गोजीमा पैसा नभएको वेला बा-आमाको गोजीबाट पैसा झिक्ने काम कहिल्यै गरेनन् ।

उनी भन्छन् ‘खै किन हो पैसा चोर्नेतिर मेरो मन कहिल्यै गएन ।’

माछामासुका पारखी
अरु कतिपयका घरमा कुखुरा पालेर बेच्ने चलन थियो । तर, बद्रीका बा मासुका सौखिन थिए । घरमा पालेको कुरा बासेपछि तरकारी बनिहाल्थ्यो । गाउँमा खसी काटेको बेला पनि पाएसम्म धेरै मासु बोकेर आउँथे । बद्री त्यसैमा मख्ख थिए ।

भन्छन् ‘घरमा लगभग मासु टुट्दैन थियो । त्यहि बानी मलाई पनि लाग्यो ।’ घरमा मासुको परिकार धेरै खाने चलनले हुनसक्छ, बदि्र अहिलेसम्म पनि माछामासुका सौखिन छन् । गाउँमा कसैले खसी काटेन वा कुखुरा पनि काट्ने बेला भएको छैन भने उनी जाल लिएर कालीगण्डकी पुग्थे । प्रशस्त माछा पाइन्थ्यो, मारेर ल्याउँथे । मौसम अनुसार दुम्सी, गोरो, खरायो र तित्रा खोज्ने काममा पनि खुब जाँगर लगाएर हिँड्थे ।

अंग्रेजी पढ्न दिक्क
परिक्षामा बद्री अंग्रेजीबाहेक सबै विषयमा राम्रो अंक ल्याउथे । हाजिरी जवाफ, वक्तृत्वकला र गीत गाउने कुरामा त उनी सँधै अब्बल । चार कक्षामा गएर एबीसीडी सिकेका बद्री भन्छन्, ‘अंग्रेजी कक्षा त कति हाप्यौं कति ।’

स्कुलभन्दा माथि चौतारो थियो । अंग्रेजी कक्षा सुरु भएपछि सिधै चौतारोतिर लागिहाल्थे । शोभाकान्त, रबिचन्द्र पोखरेललगायतका साथीहरु अंग्रेजी बहिस्कारमा सहभागी हुन्थे र त्यही चौतारामा बसेर सामान्य ज्ञान पढ्थे ।

कहिलेकाहीँ दिनभरि पनि स्कुल हाप्थे । घरबाट स्कुल डे्रस लगाएर निस्किएपछि साथीहरुबीच सल्लाह हुन्थ्यो, ‘आज माछा मार्न जाम् ।’ विष्णु मल्ल भन्ने साथी रुख चढ्न निकै सिपालु थिए । डे्रस फुकालेर झोलामै राखेपछि विष्णु रुखमा चढ्थे र रुखको टुप्पामा राखिदिन्थे ।

स्कुल छुट्टी नहोउन्जेल माछा मार्थे र बेलुका अन्य सहपाठीसँगै घर पुग्थे । गाउँमा एकाहा, सप्ताह, नारायणपूजाजस्ता थुप्रै उत्सव हुन्थे । गाउन सिपालु बद्री त्यस्ता कार्यक्रममा सहभागी नहुने कुरै भएन । बैकुण्ठ अधिकारी, श्रीराम भट्टराई, कमल सुनार, प्रदीप, सुन्दर रेग्मी लगायतका साथीहरु थिए ।

गाउँमा गाईभैंसी, बाख्रा, कुखुरा सबथोक हुन्थे । खेतीपाती मज्जाले चलेको थियो । तर, घर बाहिरको काम गरेनन् बद्रीले । गाई चराउने, घाँस काट्ने काम गर्दै गरेनन् ।

तर, खाना बनाउन सिपालु थिए । ठुलीआमा मेलामा गएपछि भात पकाउने काम बद्री आफैं गर्थे । ‘म सानैदेखि पकाउन सिपालु थिएँ, मिठो पकाउथेँ,’ बद्रीले भने ।

मदन भण्डारीको भाषण
त्यतिबेला मनोरञ्जनको साधनको रुपमा रेडियो मात्रै थियो । उनले थाहा पाएदेखि नै बाले रेडियो किनेका थिए । त्यहि सुन्थे । हिन्दी र आधुनिक गीतप्रति खास रुची थिएन । लोकगीत भनेपछि काम छोडेरै सुन्थे । धर्मराज थापा, जीवन शर्मा, नारायण रायमाझी लगायतको गीत खुब मन पथ्र्यो ।

गाउँका सुन्दर रेग्मी र पूर्णबहादुर परियारको घरमा क्यासेट थियो । सुन्दरले कतैबाट मदन भण्डारीको भाषणको क्यासेट ल्याएछन् । मदन भण्डारीको भाषण भनेपछि हुरुक्कै हुने बद्री सुन्दरको घरमा पुग्थे र क्यासेट घन्काउँथे ।

भन्छन् ‘मदन भण्डारीको भाषणले अर्कै उर्जा दिन्थ्यो ।’

जाँघे लगाएर स्कुल
सानोमा स्कुल जाँदा पाइन्ट लगाउने चलन थिएन । पाँच कक्षाबाट माथि लागेपछि मात्रै हो पाइन्ट लगाउन थालेको । पाइन्टै नलगाउने मान्छेलाई जुत्ताको आवश्यकतै परेन । स्कुल मात्रै हैन, मामाघर वा यताउती जाँदा पनि चप्पलले नै काम चलाएका छन् ।

उनको आफ्नो मामाघर भन्दा ठुली आमाको मामाघर अलि टाढा थियो । प्राय ठुलीआमाकै मामाघर धेरै जान्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment