Comments Add Comment

सम्झानामा डा. बालकृष्णः एउटा मनकारी डाक्टरको दुखद अवसन

स्वर्गिय: डा. बालकृष्ण थापा

युएस बंगलाको विमान दुर्घटनासँगै आएको एउटा खबरले म थप स्तब्ध हुनपुगें । खबर थियो, ‘दुर्घटनामा परेर तीन पटकका गोल्ड मेडलिष्ट न्युरो सर्जन डा. बालकृष्ण थापाको निधन ।’ उनी गएको सोमबार बंगलादेशमा भएको स्वास्थ्य सम्बन्धी सेमिनारमा भाग लिएर र्फकदै थिए । कति रोगी उनकै प्रतिक्षामा थिए होलान् । तर, उनले आफुलाई पर्खिरहेका बिमारीहरुलाई भेट्न पाएनन् । डा. थापाको निधनको खबर जति अप्रत्यासित थियो, उत्तिनै पीडादायी पनि ।

डा. थापाको निधनको खबरले मेरो शरीरका अवयवहरु त्यसै-त्यसै गले । मेरो स्मृति बिम्बमा तिनै दृश्यहरु सलबलाउन थाले, जतिबेला डा. बालकृष्ण थापासँग मिठोमसिनो क्षणहरु गुजारिएको थियो ।

………………………

‘शैलेन्द्र भाई तपाईको लागि चितवनबाट काठमाडौंसम्म आएँ ।’

रेडियो नेपालको १०० मेगाहर्जमा प्रसारण हुने स्टार एफएमको ‘हेल्थ फोरम’ कार्यक्रममा निम्तालु बनेर आउँदा डा. बालकृष्ण थापाले यसै भनेका थिए ।

त्यसबेला मैलें रेडियो पत्रकारिता सुरु गर्दै थिएँ । कामना प्रकाशन समुहमा स्वास्थ्य विटमा पत्रकारिता गरिरहेकाले पनि उक्त कार्यक्रम संचालनका लागि मलाई सिफारिस गरिएको थियो । सिफारिस गर्ने व्यक्ति थिए, श्याम कडेँल, जो रत्न राज्य लक्ष्मी क्याम्पसका मेरै सहपाठी थिए ।

पहिलो कार्यक्रम प्रत्यक्ष प्रसारण हुने होइन, रेकर्डिङ गर्नु पर्ने हुन्थ्यो । त्यसका लागि हामी अनामनगर स्थित स्टार एफ एमको स्टुडियोभित्र थियौं । यो २०६१ सालको कुरा हो ।

डा. बालकृष्णलाई भोलि नै चितवन र्फकनुपर्ने । सो दिन उहाँ काभ्रेस्थित आफ्नो घरमा जानुभयो । भोलिपल्ट म विशेष कामले गोरखा जाँदै थिएँ । डा. थापा र मेरो बाटो मिल्यो । उहाँले सँगै जाउँ भनेपछि मुग्लिङसम्मको बाटोमा हामी सहयात्री भयौं ।

त्यसबेला उहाँ आफैले कार हाँक्नुभएको थियो । यात्राका क्रममा हामीबीच आत्मिय कुराकानी भए । काठमाडौं उपत्याकाबाहिर उहाँले अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गर्नुभएको थियो, जो संभवत पहिलो पटक हुनसक्छ । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा । त्यसपछिका दिनहरुमा हामीबीच घनिष्ठता रह्यो । बेलाबखत भेटघाट र कुराकानी भइरह्यो ।

अस्पतालमा भेटघाट

१४ बर्षअघि हामी चितवनस्थित सोही अस्पतालमा थियौं । डा. थापाले हार्दिकताका साथ हामीलाई स्वागत गरेका थिए ।

अस्पतालले आफ्नो सेवा सुविधामा उल्लेखनिय स्तरोन्नती गरेको थियो । अस्पतालले प्रदान गरिरहेको उन्नत सेवा सुविधाकै रिपोर्टिङ गर्ने सिलसिलामा म सहितका केही स्वस्थ्य बिटका पत्रकारहरु काठमाडौंदेखि चितवन पुगिएको थियो । टोलिमा राजधानी दैनिकका शैलेन्द्र बस्नेत थिए । अरुको नाम खास याद भएन ।

डा. बालमान सिंह कार्की सोहि अस्पतालको निर्देशक । उनैले हामीलाई अस्पतालको बारेमा यावत जानकारी दिए । अस्पतालमा एकसरो भ्रमण सिध्याएर हामी नजिकैको रोयल सेन्चुरीमा खाना खान गयौं । त्यसबेला हामीसँगै मिसिएका थिए, चिकित्सक टोली ।

शैलेन्द्र थापा

खानपिनको क्रममा क्यान्सर अस्पताललाई अझै कसरी स्तरिय बनाउन सकिन्छ भनेर डा. थापाले हामीसँग सोधेका थिए । उनलाई के लाग्थ्यो भने, उपत्याकाबाहिर न्युरो सर्जरी सेवालाई प्रभावकारी बनाउनुपर्छ । सहज र सुलभ ढंगले सेवाग्राहीहरु लाभान्वित हुनुपर्छ । डा. थापालाई उपत्यकाबाहिर न्यूरो सर्जरी सेवालाई प्रभावकारी बनाउने चुनौति र जिम्मेवारी दुबै थियो ।

त्यसको केही समयपछि एक स्वास्थ्य सम्बन्धी सेमिनारमा सहभागी लिन डा. थापा जर्मनीतर्फ प्रस्थान गर्ने तयारीमा थिए । उनले भने, ‘बुझ्नुभो शैलेन्द्र भाई, त्यो सेमिनारमा भाग लिने म पहिलो नेपाली डाक्टर हुँ ।’

मैले उनलाई तुरुन्तै प्रस्ताव गरें, ‘उसो भए मेरो कार्यक्रममा अन्र्तवार्ता गरौं ।’

डा. थापाले सहमतिको टाउको हल्लाए ।

‘स्वास्थ्य मञ्च’ कार्यक्रममा दोस्रो पटक डा. थापाको अन्र्तवार्ता लिएँ । यतिबेला प्रत्यक्ष प्रसारण हुन्थ्यो । यो साप्ताहिक कार्यक्रम बुधबार बिहान ९ देखि एक घण्टा सुन्न सकिन्थ्यो । हामीले त्यसबेला न्युरो सर्जनमै केन्दि्रत रहेर कुराकानी गर्‍यौं । डा. थापा र मेरो सम्बन्ध यसरी क्रमस झ्यांगिदै गयो । फोनमा बारम्बार सम्पर्क हुन थाल्ो ।

पछि एक स्वास्थ्य म्यागजिनको लागि रिपोर्टिङ गर्ने क्रममा चितवनमा उनीसँग भेट भयो ।

बाटो मोडिएपछि

मैले पत्रकारितालाई बिट मारे, करिब ६ बर्षपछि । त्यसपछि म सुरक्षा निकायमा प्रवेश गरें । अब भने डा. थापा र मबीच बाटो अलग्गियो । भेटघाट पातलियो । यादकदा हुने फोन सम्पर्कले हाम्रो सम्बन्ध अल्झाइरहेको थियो ।

२०६७ सालको बैशाख वा जेठतिर । सर्लाहीको हरिवनमा कार्यरत थिएँ । त्यहाँ एक निजी अस्पताललेे स्वास्थ्य शिविरमा आयोजना गर्ने भएछ । त्यही मेसोमा डा. थापा आउने गाँइगुइ चल्यो । म उनीसँग दिउसो भेटघाट हुने कुराले उत्साहित थिएँ ।

तर, त्यसदिन स्कटिङ तथा बस दुर्घटना उद्वारमा खटिनु परेपछि हाम्रो भेट भएन ।

पछि उनीसँग मेरो फेसबुक कुराकानी भयो । त्यसक्रममा उनले सोधे, ‘पत्रकारिता छाडेर किन फोर्समा जानुभयो ? मलाई अचम्म लागिरहेको छ ।’

मैले यसै भने, ‘खोइ डाक्टर साप, कम्ब्याटको मोह चढ्यो ।’ त्यसपछि यादाकदा हाम्रो भर्चुअल भेट हुन्थ्यो, फेसबुकमार्फत ।

उनी भन्नेगर्थे, ‘किसानको छोरो हुँ । बरु काभ्रेमा हलो जोतेर खाउँला । तर आफ्नो इमान्दारिता र जिम्मेवारी छाड्दिन ।’ काठमाडौं उपत्याकाबाहिर पनि स्तरिय न्युरो सर्जरी सेवा विस्तार गर्नुपर्छ भनेर उनी कटिवद्ध थिए । उनी दृढ थिए । क्षमतावान थिए । नम्र थिए । शालिन थिए । सामान्य थिए । वास्तवमै दुर्लभ थिए ।

एसएलसी परीक्षामा काभ्रे प्रथम भएका उनी मेधावी थिए । उनी हर तरहले आफ्नो कर्ममा अडिग थिए । इमान्दार थिए । तर, कहिले काहिँ उनकै अस्पतालको व्यवस्थापनलाई जोडेर नकारात्मक समाचारहरु आउथ्यो । त्यसले उनलाई कति दुखी तुल्याउँदो हो म अनुमान गर्न सक्छु ।

उनी चाहन्थे, अस्पतालले राम्रो सेवा प्रदान गर्न सकोस् । रोगीहरुले सहज रुपमा आफ्नो उपचार पाउन् । यसका साथसाथै साहित्यिक रचनामा पनि उनको रुची थियो ।

तर, उनका यी सबै रुचीहरु अब थाँती रहेको छ । उनको कल्पना के थियो ? त्यो कति पुरा भयो ? त्यसको जवाफ अब कहिल्यै मिल्नेछैन । अलबिदा डा. साप । अलबिदा डा. थापा ।

(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment