८ चैत, सिन्धुपाल्चोक । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि सिन्धुपाल्चोकका अधिंकाश परीक्षार्थीले टहरामा नै दिएका छन् ।
भूकम्पबाट ध्वस्त विद्यालयहरु पुनर्निर्माण पूरा नहुँदा यो वर्ष पनि विद्यार्थीहरुको सुविधासम्पन्न कक्षाकोठामा बसेर परीक्षा दिने सपना अधुरै रहृयो ।
‘टहरोमै पढाइ सक्यौं र टहरोमै परीक्षा दियौं’ सदरमुकाम चौताराको कृष्णरत्न गंगा माध्यमिक विद्यालयमा परीक्षा दिइरहेकी समिता दंगालले भनिन् ।
‘पढाइ र परीक्षा मात्रै टहरोमा होइन बसाइ पनि टहरोमा नै छ’ उनले भनिन् ‘अब क्याम्पस चाहिँ भवनमा बसेर पढ्न पाइन्छ कि !’
जिल्लाका २३ परीक्षा केन्द्रमध्ये १० परीक्षाकेन्द्र अस्थायी टहरोमा नै सञ्चालन भएको छ । भवन निर्माण भइरहेकाले परीक्षाकेन्द्रहरु टहरोमै परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले जानकारी दिए ।
‘आगामी वर्षको परीक्षाचाहिँ टहरोमा हुदैन होला’ पाण्डेले भने । हुरी बतास चल्ने मौसममा टहरोमा परीक्षा सञ्चालन हँुदा समस्या भएको केन्द्राध्यक्षहरु बताउँछन् ।
रत्नराज्य मावि चनौटे, बाघभैरव मावि ठोकर्पा, महेन्द्रक्रान्ति मावि, झिर्पु माविलगायतका परीक्षाकेन्द्रहरु टहरोमा नै सञ्चालन गरिएको छ ।
गृहिणीहरु पनि सहभागी
एसईई परीक्षामा बालशिक्षा माध्यमिक विद्यालय खाडीचौर परीक्षाकेन्द्रबाट चार गृहिणी परीक्षामा सहभागी भएका छन् ।
जलविरेको आनन्द माध्यमिक विद्यालयबाट उनीहरु परीक्षामा सहभागी भएका हुन् । त्यस्तै चण्डेश्वरी मावि भोटसिपाबाट ६ जना पौढ परीक्षार्थीहरु सहभागी भएका छन् । कृष्णरत्न गंगा माविबाट ११ परीक्षार्थीहरु खुला शिक्षमार्फत परीक्षामा सहभागी भएका छन् ।
२३ परीक्षा केन्द्र ४५ सय ९६ विद्यार्थी
सिन्धुपाल्चोकमा २३ परीक्षा केन्द्रबाट ४ हजार ५९६ परीक्षार्थीहरु बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सहभागी भएका छन् ।
बिहीरबाको परीक्षामा सिन्धुपाल्चोकमा १९९ परीक्षार्थीहरु सहभागी भएनन् । नियमित तर्फका पनि धेरै परीक्षार्थीहरु परीक्षामा सहभागी नभएको जिल्ला शिक्षा अधिकारी पाण्डेले जानकारी दिए । तल्लो कक्षामा मात्रै होइन, एसईईमा पनि ‘ड्रप आउट’को समस्या देखियो पाण्डेले भने ।
तीनजना दृष्टिविहीन
एसईई परीक्षामा ज्ञानमन्दिर नमुना मावि परीक्षाकेन्द्रबाट तीन दृष्ट्रिविहीन परीक्षार्थीहरु सहभागी भएका छन् ।
सदरमुकाम चौतारामा रहेको वनदेवी माविमा अध्ययन गरेका उनीहरुलाई सहयोगी राखेर परीक्षामा सहभागी गराइएको केन्द्रध्याक्ष तुल्सीप्रसाद दंगालले जानकारी दिए ।
प्रतिक्रिया 4