Comments Add Comment

प्रदेश ५ को ‘स्थिति पत्र’ बनाउँदै प्रादेशिक योजना आयोग

२० चैत, बुटवल । प्रदेश ५ को योजना आयोगले प्रदेशको समग्र स्थिति बुझ्न ‘स्थिति पत्र’ बनाउन शुरु गरेको छ ।

चैत ६ गते नियुक्त भएका आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले स्थिति पत्र (स्टाटस पेपर) तयार गर्न सबै जिल्लाको तथ्याङ्क संकलन भइरहेको जानकारी दिए ।

‘पहिलोपटक प्रदेश संरचना बनेकाले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रको तथ्यांक संकलनबाटै काम थालेका छौं’ उनले भने ‘सबै जिल्लाको डाटाहरु आइसकेपछि नीति तथा कार्यक्रम र वजेट बनाउन सजिलो हुन्छ ।’

एक हप्ताभित्र स्थिति पत्र तयार गर्ने गरी काम भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए । स्थिति पत्र तयार भएपछि प्रदेशको सबल र दुर्बल पक्ष थाहा हुने र सोका आधारमा नीति तथा कार्यक्रम बन्नेछ ।

प्रदेश ५ को समृद्धिको जग कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई बनाउनुपर्ने मुख्यमन्त्री शंकर पोखरेलको प्रतिवद्धताअनुसार आयोगले योजना बनाउने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रारम्भिक अध्ययनअनुसार प्रदेश ५ को समग्र आर्थिक अवस्था र अन्य सूचकांकहरु सात वटा प्रदेशमध्ये तेस्रो वा चौथो स्थानमा रहेको पाइएको उपाध्यक्ष श्रेष्ठले बताए ।

‘धान उत्पादन र तेलहनमा प्रदेश ५ एक नम्बरमा छ’ श्रेष्ठले भने, ‘प्रदेश ३ सबै सूचकांकमा एक नम्बरमा देखिएको छ भने त्यसपछि प्रदेश १ र ४ छन्, कतिपय सूचकांकमा प्रदेश ५ प्रदेश १ र ४ भन्दा पनि अगाडि छ ।’

१२ जिल्ला रहेको प्रदेश ५ मा ४४ लाख ५८ हजार २ सय ५३ जनसंख्या छ । स्थितिपत्र तयार भएपछि आयोगले प्रदेशभित्र गर्न सकिने विकास निर्माणका सम्भावनाहरु पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन प्राथमिकता दिने श्रेष्ठले बताए ।

योजना आयोमा २ जना विज्ञ सदस्यहरु नियुक्त गर्न भने अझै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment