+
+

सुवास गुरुङः मनोज पुनले पठाएको भिडियो हेरेर बनेका सुटर

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २१ गते २०:४०

२१ चैत, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन सहयोगी सुवास गुरुङ पक्राउ परेका छन् ।

पोखराबाट पक्राउ परेका उनी रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा सुटरको रुपमा प्रयोग भएका थिए ।

प्रहरीका अनुसार मनोजले हरेक अपराधिक घटना घटाउन छुट्टाछुट्टै व्यक्तिको प्रयोग गर्ने गरेका थिए । पौडेलको हत्या गर्न १ लाख रुपैयाँको सुपारी दिएर सुवासलाई सुटरको जिम्मेवारी दिएका थिए ।

लमजुङको बाङ्ग्रे गाउँपालिका–५, भोर्लेटार स्थायी घर भएका उनी पछिल्लो समय पोखरा–१०, रामबजारमा बस्दै आएका थिए ।

बलु हत्यापछि पनि लामो समयसम्म प्रहरीको आँखा छल्न सफल भएका उनी पछिल्लो समय पोखरामा गुन्डागर्दीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक प्रहरी अधिकृत भन्छन्, ‘उनी त्यहाँका टोले गुन्डाहरुसँग मिलेर विभिन्न गतिविधि गर्दै आएका थिए ।’

पुनले आफ्नो समूहका सदस्यबीच ‘भर्टिकल कम्यूनिकेशन’ गराउने भएकाले उनले प्रयोग गरेका व्यक्तिहरुको पहिचान गर्न समस्या भएको प्रहरी बताउँछन् ।

पुनको सदस्यहरुबीच एकआपसमा चिनजान हुँदैनथ्यो । सिधै उनीसँगै मात्र सम्पर्क हुने गरेको थियो । जसका कारण विभिन्न लेयरमा रहेर घटनामा संलग्नको पहिचान गर्न हम्मेहम्मे परेको थियो

‘पुनको सदस्यहरुबीच एकआपसमा चिनजान हुँदैनथ्यो । सिधै उनीसँगै मात्र सम्पर्क हुने गरेको थियो’, एक अधिकारी भन्छन्, ‘त्यही भएर प्रहरीलाई विभिन्न लेयरमा रहेर घटनामा संलग्नको पहिचान गर्न हम्मेहम्मे परेको थियो ।’

तर, मंगलबार सुवास गुरुङ पक्राउ परेसँगै बलु पौडेल हत्याकाण्डमा संलग्न सबै प्रहरी नियन्त्रणमा पुगेका छन् ।

‘घटना प्रत्यक्ष रुपमा संलग्न सबै पक्राउ परिसकेका छन्’, रुपन्देही प्रहरीका प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘गुरुङविरुद्ध ज्यान मुद्दा, हातहतियार तथा खरखजाना र संगठित अपराध अन्तरगत मुद्दा चलाउँछौं ।’

मनोज पुन आफैंले तालिम दिएका थिए

अनुसन्धामा संलग्न अधिकारीहरुका अनुसार गुरुङलाई गोली चलाउन पुन आफैंले तालिम दिएका थिए ।

पुनले भारतका गोवासहित विभिन्न ठाउँमा बसेर इमोबाट पेस्तोल चलाउन उनलाई सिकाएको खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘गुरुङले ५/६ घण्टासम्म भिडियो हेरेर पेस्तोल चलाउन सिकेको बयान दिएका छन् ।’

प्रहरीका अनुसार मनोज पुनको समूहमा जोडिए पनि उनीहरुबीच एकआपसमा भेटघाट थिएन । एकदिन पुनले उनलाई सम्पर्क गरेर हत्याको ‘कन्ट्याक्ट’ दिएका थिए । ‘पैसा धेरै आउँछ भनेपछि उसले मनोजलाई साथ दिएको देखिन्छ’, रुपन्देहीका प्रहरी प्रमुख ज्ञवाली भन्छन् ।

पेस्तोललार्इ गुरूङको हात लगाउन सडकबालकको प्रयोग भएको खुलेको छ

पुनले पठाएको भिडियो हरेपछि रुपन्देहीमा उनले अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोली पाएका थिए । पुनले एक व्यक्तिको प्रयोगबाट पेस्तोल र गोली रुपन्देहीसम्म पुर्‍याएका थिए भने त्यसलाई गुरुङको हात लगाउन सडक बालकको प्रयोग गरेको खुलेको छ ।

‘पुन आफैंले पठाएको व्यक्तिले हतियार डेलिभर गरेको गरेका थिएनन्’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘उनले त्यहाँको सडक बालकलाई २०/५० रुपैयाँ दिएर त्यो गुरुङलाई दिन लगाएको देखिएको छ ।’

सुरुमा पुनले १ लाख रुपैयाँ दिने भने पनि उनले गुरुङलाई विस्तारै थप रकम पनि दिने बताएका थिए । पुनको भनाइलाई उदृत गर्दै उनले बयान दिएका छन्, ‘अरु रकम पनि हेरौंला भन्ने कुरा थियो ।’

को हुन् सुवास ?

भर्खर २१ वर्षको भएका सुवासको बुबा १५ वर्षअघि रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका थिए ।

त्यहाँ पुगेको केही वर्षपछि नै उनी परिवारको सम्पर्कबाट बाहिर भए । उनको पारिवारिक स्रोत भन्छ, ‘बुबाले उता गएर अर्कैसँग बिहे गरेका थिए । र, उनी परिवारको सम्पर्कबाट बाहिर भए ।’

गुरुङकी आमाले भने ३ जना बच्चा पालेर बसेकी थिइन् । उनी अहिले पनि आबुखैरेनीमा बस्दै आएकी छिन् ।

बाबुले सानैमा छाडेर गएकाले उनको नागरिकता पनि बनेको छैन । ‘नागरिकता त टाढाको कुरा बुबा नहुँदा जन्म दर्ता पनि बनेन’, स्रोतले भन्यो, ‘जन्मदर्ता नभएकै कारण कक्षा ९ को परीक्षा नै दिन पाएनन् ।’

बाबु नभएपछि खराब सङ्गतमा लागेका उनी पटकपटक पक्राउ परेका थिए । उनीमाथि पोखराका विभिन्न प्रहरी कार्यालयमा पटकपटक सार्वजनिक मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

मनोज पुनको योजनामा बलुको हत्या गरेपछि उनले पोखराका टोले गुन्डालाई हात लिएर हप्ता असुली थालेको पाइएको छ ।

यो पनि पढ्नुस् 

गुण्डा नाइके मनोज पुनको भारतीय अन्डरवर्ल्डसँग ‘कनेक्सन’

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?