२६, चैत्र, चितवन । सहकारी डिभिजन कार्यालय अन्तर्गत रहेका चितवनका सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण भएका छन् ।
सम्बन्धित स्थानीय तहमा कार्यक्षेत्र रहेका सहकारीहरु सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरण गरिएको हो ।
चितवनका क्रियाशील ७ सय ४ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायतको उपस्थितिमा सोमवार आयोजित कार्यक्रममार्फत जिल्लाका ७ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको छ ।
सबै स्थानीय तहका सहकारी शाखा प्रमुखलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको हो ।
सहकारी ऐन २०७४ को प्रावधानअनुसार सहकारी स्थानीय तह हस्तान्तरण गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी प्रशिक्षक पूण्यप्रसाद पौडेलले जानकारी दिए ।
सहकारीको अधिकार स्थानीय तहमा गएकाले अबदेखि सहकारी दर्ता, नवीकरण, अनुगमन, नियमन र प्रवर्द्धनको सम्पूर्ण काम स्थानीय तहबाटै हुनेछ ।
हस्तान्तरण गरिएकामध्ये संघ अन्तर्गत २, प्रदेश अन्तर्गत ८७ र स्थानीय तह अन्र्तगत ६ सय १५ रहेको प्रशिक्षक पौडेलले जानकारी दिए ।
एकभन्दा बढी जिल्लामा कारोबार गर्ने सहकारी संघ मातहत रहन्छन् भने एक स्थानीय तह भन्दा वढी क्षेत्रमा कारोवार गर्ने सहकारी प्रदेश सरकार मातहत रहने प्रावधान छ ।
भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ३ सय २ सहकारी र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २४ सहकारी छन् । यस्तै खैरहनी नगरपालिकामा ६१, राप्ती नगरपालिकामा ४७, कालिका नगरपालिकामा ३३ र माडी नगरपालिकामा ४४ बटा सहकारी सञ्चालित छन् ।
बचत तथा ऋण, कृषि, विद्युत, उपभोक्ता, स्वास्थ्य, बहुउद्देश्यीय, तरकारी बीउ उत्पादन, पशुपालन, दुग्ध, मौरीपालन, सामाजिक उद्यमीलगायतका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएका हुन् ।
भरतपुरमा रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरलाई अब सहकारी प्रशिक्षण केन्ऽ बनाउन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4