३ वैशाख, काठमाडौं । टोखा-७, धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ ले हत्या गरेको खुलेको छ । प्रेमी पर्साको ठोरी गाउँपालिका ४ घर भइ हाल धापासी बस्दै अाएका ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मतृक गोरखा घर बताउने करिब ३२/३३ वर्षकी पूर्णिमा विक भएको खुलेको छ ।
उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने तामाङसँग नजिकिएकी थिइन् ।
मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।
तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूर्णिमाप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरे ।
पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।
पक्राउ परेका तामाङमाथि कर्तव्य ज्यान मुद्दा अन्तरगत अनुसन्धान अघि बढाइने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।
प्रतिक्रिया 4