Comments Add Comment

बार गर्ललाई पछ्याउँदा ‘हनी ट्रयापिङ’मा परे व्यापारी

१४ वैशाख, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित एक डान्स बारकी युवतीसँग ‘रोमान्स’ गर्ने लोभमा पर्दा एक व्यापारी ‘हनी ट्रयापिङ’मा परेका छन् ।

डान्स बारबाट सुरु भएको चिनजानलाई छोटो समयमै बढाउँदै अग्रवाल थरका व्यापारीले कोटेश्वरको एक होटलमा युवतीसँग रमाइलो त गरे ।

तर, जब भोलिपल्टै युवतीसँग शारीरिक सम्पर्क राखेको भिडियो फुटेज उनको म्यासेन्जरमा आयो, तब उनी छाँगाबाट खसे झैँ भए ।

त्यसपछि सुरु भयो, उनीहरुबीच डिलिङ । भारतबाट वीरगञ्जको नाका हुँदै नेपाल कपडा भित्र्याउने काम गर्दै आएका व्यापारीलाई पहिलो पटक २३ चैतमा २५ लाख रुपैयाँ मागियो ।

यद्यपि, उनले त्यत्रो धेरै दिन नसक्ने बताए । उनीहरुबीच लामै बार्गेनिङ चल्यो । अन्त्यमा उनी ५ लाख रुपैयाँ दिन राजी भए ।

घटना भएको दुई सातापछि पीडित व्यापारीले ललितपुर परिसरमा रहेको अपराध महाशाखाका एक कनिष्ठ प्रहरी अधिकारीलाई आफ्नो समस्या सुनाए ।

र, उनीहरुबीच ‘लेनदेन’ हुन लागेको वेला प्रहरी घटनास्थलमा पुग्यो । ब्याल्कमेलिङका मुख्य नाइके सर्लाहीको भक्तिपुर–३ घर भएका २० वर्षीय सुमन भुजेललाई पक्राउ गरेको छ ।

पूर्व योजना अनुरुप उनीहरु सुत्ने भनिएको बेडदेखि अगाडि पट्टी रहेको टेबलमा ‘गोप्रो क्यामेरा’ पनि फिट गरे, जसको छनकसम्म पाएनन्, व्यवसायीले

गर्लफ्रेण्डलाई प्रयोग गरेर ब्ल्याकमेलिङ

प्रायः अग्रवाल पुगिरहने त्यस डान्स वारमा काम गर्थे, भुजेल र १८ वर्षीया लक्ष्मी रायमाझी ।

उनीहरु केही महिनायता लिभिङ टुगेदरमा बस्दै आएका थिए । आर्थिक अवस्थाका मजबुत नभएका भुजेल छिट्टै पैसा कमाउन थाहन्थे । जुन सपनालाई पूरा गर्न उपयुक्त पात्र थिए, ती व्यापारी ।

त्यसपछि उनले गर्लफ्रेण्डलाई आफ्नो योजनामा संलग्न गराए । उनले ‘शिखा तामाङ’ को नाममा एउटा फेक फेसबुक एकाउन्ट बनाए । जसमार्फत व्यापारीसँगको कुराकानीलाई बाक्लो बनाए ।

ललितपुर प्रहरी परिसरका एक अधिकारी भन्छन्, ‘गर्लफ्रेण्ड लक्ष्मीको फोटो राखेर आईडी बनाएका थिए । त्यसबाट उनले व्यापारीलाई नजिक्याएर होटलसम्म बोलाएका रहेछन् ।’

कुराकानी बढ्दै गएपछि अग्रवालले भेट्ने इच्छा व्यक्त गरे । उनीहरुबीच जडिबुटीको एक होटलमा भेटघाट गर्ने सहमति भयो । उनले फेसबुकबाटै भेटघाटको समय पनि तोके । तर, सुमनले त्यतिवेला भने चलाखी गरे ।

उनले त्यहाँ गर्लफ्रेण्डलाई नपठाएर पेशेवर यौनकर्मीलाई पठाए । पूर्व योजना अनुरुप उनीहरु सुत्ने भनिएको बेडदेखि अगाडि पट्टी रहेको टेबलमा ‘गोप्रो क्यामेरा’ पनि फिट गरे, जसको छनकसम्म पाएनन्, व्यवसायीले ।

अर्को दिन शिखालाई फेसबुकमा म्यासेज लेखे, ‘बहुत रमाइलो भयो नि है !’

फेसबुक सम्वाद विश्लेषण गर्दा अग्रवालले आफ्नो पोल खुल्ने डरले रकम दिन खोजेको बुझिन्छ । अन्ततः ५ लाख दिने सहमति गर्नुका साथै पछि थप रकम दिन आश देखाए

२५ लाखबाट बार्गेनिङ सुरु

ब्यापारी त्यसबेला छाँगाबाट खसे झै भए, जब उनलाई आफ्नो ‘सेक्स भिडियो’ को क्लीप आयो ।

पठाउने व्यक्ति थिए, उनी सधैं जाने डान्स वारका कर्मचारी । बल्ल पो उनले चाल पाए, आफूसँगै सुतेकी युवती शिखा होइन, पेशेवर यौनकर्मी रहिछिन् ।

‘१५ हजार रुपैयाँ दिने भनेर पेशेवर यौनकर्मी पठाइएको रहेछ’, प्रहरी अधिकारीले भने, ‘४ हजार दिइए बाँकी पछि दिने भनिएको रहेछ ।’

त्यसपछि भिडियो सार्वजनिक गर्ने डर देखाएर आफूसँग रकम माग्ने क्रम सुरु भएको पीडितले प्रहरी समक्ष भनेका छन् ।

त्यसपछि बार्गेनिङ सुरु भयो । फेसबुक सम्वाद विश्लेषण गर्दा अग्रवालले आफ्नो पोल खुल्ने डरले रकम दिन खोजेको बुझिन्छ । अन्ततः ५ लाख दिने सहमति गर्नुका साथै पछि थप रकम दिन आश देखाए ।

तर, त्यहीबीच चिनजानको एक प्रहरी अधिकारीसँग उनले आफ्नो कुरा राखे । र, महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पीडक भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो ।

साइबर अपराध अन्तरगत मुद्दा

काठमाडौं परिसरको क्षेत्रमा घटनास्थल भएकाले अहिले यो मुद्दा प्रहरी परिसर टेकुसम्म आइपुगेको छ । ‘भुजेलमाथि साइबर अपराध अन्तरगत मुद्दा चलाइएको छ’, परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ।

मुद्दा शाखाका डिएसपी मोहन थापाका अनुसार ललितपुरबाट अनुसन्धान भएर वारदात स्थल काठमाडौं आएकाले अहिले मुद्दा परिसरमा राखिएको हो । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment