+
+
Shares

यसरी सार्न सक्छ साङ्लाले रोग, बेलामै सचेत हुने कि ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २२ गते ८:३०

साङ्ला भन्नासाथ मानिस तर्सिने गर्छन् । नतर्सिऊन् पनि किन ? आखिर, साङ्ला भन्ने जीव नै त्यस्तो हो, जो फोहोरी हुन्छ र घरमा उधुम मच्चाउने गर्छ ।

साङलाले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरका बारेमा ध्यान दिन नसक्दा हामीले यसलाई फोहोर गर्ने जीवको रूपमा मात्र बुझ्दै आएका छौँ ।

साङ्ला फोहोरी जीव हो भन्ने सबैलाई थाहा छ । यसले घरलाई फोहोर बनाउँछ तथा खानामा परेमा रोग निम्त्याउँछ भन्ने पनि सबैलाई थाहा छ । कस्ता प्रकारका गम्भीर रोग निम्त्याउँछ भन्ने कुरामा भने  धेरैको ध्यान गएको पाइँदैन,’  टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेर बहादुर पुनले भने, ‘जसले गर्दा भारतका एडभरटाइजिङ्ग एजेन्सीहरूले आˆनो उत्पादन बिकाउने उद्देश्यले यदाकदा यसबारे कुरा गरेको पाइए पनि नेपालमा भने मानिसहरूले यसबारे राम्ररी बुझेका छन् भन्ने कुरामा पनि शंका लाग्छ ।’

विशेषगरी रोगको संक्रमण लिएर अस्पताल आउने बिरामीहरूले हात धोएर तथा उमालेको पानी खानुका बाबजुद रोग लाग्नुको कारणबारे अनविज्ञता जनाएपछि भने यसबारे आफू पनि सोच्न बाध्य भएको उनले बताए ।

उनका अनुसार नेपालीहरूले साङ्लालाई एउटा जीवको रूपमा मात्र हेर्ने गरेका छन् । यो जीवलाई सामान्य टाउको दुखाइका रूपमा हेर्ने गरेका छन् । जब कि साङ्लाले अप्रत्यक्ष रूपमा झाडापखाला, हैजा, टाइफाइडजस्ता संक्रमण फैलाउने गर्छ । यसबाट बच्न मानिसहरूले गर्मी मौसममा विशेष सर्तकता अपनाउनुपर्ने डा. पुनको सुझाव छ ।
कसरी  ?

डा. पुनका अनुसार दिनको तुलानामा रातमा बढी सक्रिय हुने साङ्ला दिउँसो घरका भान्छा, कोठा, पानी निस्कने बेसिन, ढल, भाडाकुँडाका बीचमा, किताब राख्ने दराज, बाथरुम आदिका कुनाकाप्चामा लुकेर बस्छ । राति भने यिनीहरू खाना खोज्दै घरका भान्छा, कोठा आदि हरेक ठाउँ चहाने गर्छन् ।

के खान्छ साङ्लाले ?

साङ्लाले विशेषगरी मानिसले खाने खानेकुरा नै बढी रोज्ने गर्दछ । त्यसमा पनि विशेषगरी चिनीबाट बनेका परिकारका साथै दुग्धजन्य परिकार, मासुबाट बनेका परिकार तथा चकलेट यिनीहरूको विशेष रोजाइमा पर्दछ ।  त्यसैगरी कार्डवोर्ड, बुक बाइन्डिङ्ग, सिलिङ्ग बोर्ड, जुत्ताको सोल, मरेको साङ्लो, आलो तथा सुकेको रगत, दिसापिसाब, मानव मल, थुक, खकार, सुतेका तथा रोगी मानिसहरू एवं बालबालिकाका हात तथा खुट्टाको नङ यिनीहरूको विशेष रोजाइमा पर्दछ ।

साङ्लाहरू बाकस, दराज, ढलजस्ता माध्यमबाट घरमा छिर्छन् । त्यस्तै तरकारीको झोलामा बसेर पनि यिनीहरू घरघर छिर्ने गर्दछन् ।

साङ्लाले सार्ने रोग ?

ढल, बेसिन, गार्डेन हुँदै घरसम्म छिर्ने यस्ता साङ्लाले सीधै खानामा आक्रमण गरी, खानामा रोगका कीटाणु सार्ने गर्छ । ती खाना खाएमा मानिसलाई झाडापखाला, हैजा, कुष्ठरोग, प्लेग, डाइफाइड ज्वरो, भाइरल संक्रमण आदि समस्या हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार साङ्लाकै कारण रोग सर्दैन तर यसले रोग सार्न सहायक भूृमिका भने निर्वाह गर्दछ । त्यसबाहेक साङ्लाले विभिन्न परजीवीहरूको अण्डा बोक्ने गर्छ, जसका कारण आँखा सुन्निने, चिलाउने, पोल्ने, छालाको संक्रमणजस्ता छालासम्बन्धी एलर्जी समेत हुने गर्छ ।

जोगिने उपाय

डा. पुनका अनुसार साङ्लाले सार्ने रोगबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको घरको सरसफाइ हो । घर जति सफा राख्न सकियो, घरमा साङ्लो छिर्ने सम्भावना पनि त्यति नै कम हुने गर्छ ।

विभिन्न कीटनाशक औषधीको प्रयोग गरेर, खानालाई सफा भाँडामा बन्द गरेर, खाना राखेको वरपरको ठाउँलाई राम्ररी सफा गरेर तथा खानाको गन्ध हटाएर पनि नियन्त्रण गर्न सकिन्छ ।

फोहर राखिएको भाँडा दैनिक फेरेर तथा सफा राखेर, स्टोर रुम, अण्डरग्राउण्ड पार्किङ्गलाई सुख्खा तथा सफा राखेर, घरमा ग्रोसरी आइटम, फोहर लुगा, अण्डाको क्रेट लगायतका सामान ल्याउँदा एकपटक राम्ररी चेकजाँच गरेर, घर बनाउँदा खाली ठाउँ कम राखेर तथा सामान राख्दा कम ठाउँ छोडेर पनि साङ्ला आउनबाट रोक्न सकिन्छ ।

त्यसबाहेक, फोहर निस्कने ढल, फोहोर तथा पानीका मुहान बन्द गरेर पनि साङ्लाले सार्नसक्ने रोगबाट जोगिन सकिन्छ ।

साङ्लासम्बन्धी सामान्य जानकारी ?

विश्व स्वास्थ्य संगठनका अनुसार फोहोरी तथा दुर्गन्ध फैलाउने जीवका रूपमा परिचित साङ्लाको लम्बाइ २-३ मिलिमिटरदेखि ८० मिलिटरसम्म हुन्छ । साङ्ला विरलै उड्ने तथा अत्यधिक छिटो गतिमा हिँड्ने गर्दछन् । विश्वमा झण्डै ३ सय ५० भन्दा बढी प्रजातिका साङ्ला पाइन्छन् । यिनीहरू विशेषगरी पर्याप्त खाना भएको, तातो तथा ओसिलो ठाउँमा  समूहगत रूपमा बस्ने गर्दछन् । यिनीहरूले खाएको खाना निकाल्नुका साथै मुख तथा ग्रन्थिबाट एक प्रकारको दुर्गन्ध निकाल्ने गर्दछन् । त्यस्तो दुर्गन्धका कारण घरसमेत गन्हाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?