Comments Add Comment

दक्षिणपूर्वी एसियामा चीनको बेल्ट एण्ड रोड

चीन स्थानीयको मन जित्न र आफ्नो छवि सुधार्न आवश्यक


चीनले काजाकास्तानमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को घोषणा गरेको पाँच वर्ष बितिसकेको छ । र, अहिले यसको छविमा गम्भीर समस्या देखिन थालेको छ । लाओस र श्रीलंकामा पूर्वाधार परियोजनामा दिएको ठूलो ऋणका बारेमा कुरा गर्दा चिनियाँ स्वार्थहरु नभेटिएका होइनन् । सेन्टर फर ग्लोबल डेभलपमेन्टले हालसालै थप सात देशहरुको सूची प्रकाशन गरेको थियो, जो अत्याधिक ऋणको जोखिममा छन् ।

यस्ता विषयहरु दक्षिणपूर्वी एसियामा चिनियाँ परियोजनाका विरोधीका लागि सजिलो हतियार बनेको छ । दक्षिणपूर्वी एसियामा बीआरआईका प्रतिद्वन्द्वीहरुहरुले चिनियाँ परियोजनाहरुलाई रोक्नका लागि भूराजनीतिको कथानकलाई प्रयोग गर्ने क्रम बढेको छ ।

अघिल्लो महिना चिनियाँ राष्ट्रपति सि जिनपिङले हेनानमा भएको १७ औं बोआओ फोरममा बोल्दै एकपटक फेरि बीआरआइका बारेमा बचाउ गरेका थिए । ‘चीनको कुनै पनि भूराजनीतिक हिसाब–किताब छैन, कसैलाई बहिष्कार गर्न खोजेको होइन र कसैलाई ब्यापारका लागि बाध्य बनाउन खोजेको होइन’ उनले दाबी गरे ।

चिनियाँ नेताहरुले बीआरआई परियोजनामा भूराजनीतिक स्वार्थको खण्डन गर्नु सामान्य कुरा नै हो । तर, स्थानीयको विश्वास जित्न चाहिँ चीनको कुटनीतिक वाकपटुता अझै कम छ । विशेषगरी दक्षिणपूर्वी एसियामा जहाँ चीनको स्वार्थको सम्बन्धित रणनैतिक मुद्दाहरु अगाडि आएका छन् ।

बीआरआई अझैपनि केही देशका सरकारहरुका लागि आफूलाई आवश्यक परेको पूर्वाधार परियोजनामा लगानी जुटाउनका लागि धेरै नै महत्वपूर्ण छ । तर, विपक्षी राजनीतिक दलहरुले सरकारलाई आक्रमण गर्नका लागि धेरै मात्रामा बीआरआइलाई प्रयोग गरिरहेका छन् ।

चिनियाँ कम्पनीहरुले पनि यो कुराको महसुस गर्नुपर्छ कि उनीहरु देश बाहिर चीनको नकरात्मक छविलाई सुधार्ने एक पक्ष हुन् ।

चिनियाँ लगानी स्वीकार गर्न देखिएको दुविधा

बीआरआईका दुई हिस्सा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘मारिटाइम सिल्क रोड’ जब पहिलोपटक घोषणा गरिएको थियो, दक्षिणपूर्वी एसियालाई प्राकृतिकरुपमै त्यसको केन्द्रीय भागका रुपमा हेरिएको थियो ।

सि जिनपिङले इन्डोनेसियन संसदलाई सम्बोधन गर्ने पहिलो विदेशी नेताको रुपमा जकार्तामा सम्बोधन गर्दा सन् २०१३ मा मारिटाइम सिल्क रोडको घोषणा गरेका थिए ।

बेइजिङले यो अभियानका लागि गरेको कुटनीतिक पहल धेरै नै महत्वपूर्ण छ । चीन सम्मिलित उच्च स्तरको सम्मेलनहरुमा अझै पनि बीआरआईको नाम उल्लेख गरिन्छ र पूर्वाधार विकासमा देखिने गरी काम गर्ने सहमति हुन्छ ।

यो परियोजनाको महत्वाकांक्षालाई ध्यान दिने हो भने दक्षिणपूर्वी एसियामा चिनियाँ स्वार्थ सजिलै देख्न सकिन्छ । बीआरआइका बारेमा मानिसहरुको मिश्रित धारणा छ र धेरैले यसलाई चीनकेन्द्रित विश्वव्यापी तह बनाउन खोजेको भन्ने बुझेका छन् । तर, यसमा बेइजिङको ठूलो पूँजी लगानी गर्ने इच्छाले के देखाउँछ भने चीनले यो परियोजनालाई सडकका रुपमा मात्रै नभई सैनिक प्रयोजनका लागि पनि प्रयोग गर्न सक्छ ।

तर पनि, दक्षिणपूर्वी एसियाली देशहरुले ठूलो मात्रामा चिनियाँ लगानीलाई स्वीकार गरेका छन् । उनीहरुले पूर्वाधार विकासलाई मुख्य पूाथमिकतामा राखेका हुन्छन् र बीआरआइबाट लगानी भित्र्याउनाले सरकारको वैधानिकता बढाउँछ ।

फिलिपिनी राष्ट्रपति रोड्रिगो डेउट्रे र मलेसियन प्रधानमन्त्री नजिब रजक दक्षिणपूर्वी एसियामा बीआरआइका धेरै ठूला समर्थकमध्ये पर्छन र उनीहरुले चीनबाट आवासीय र कनेक्टिभिटी परियोजनाका लागि धेरै ठूलो लगानी भित्र्याउन सफल भएका छन् ।

बीआरआइले दक्षिणपूर्वी एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश इन्डोनेसियाबाट पनि समर्थन पाएको छ । ‘बीआरआइले इन्डोनेसियाको भविष्यको व्यापार र कनेक्टिभिटीका लागि धेरै महत्वपूर्ण अवसरहरु प्रदान गरेको छ, त्यसैले हामीले यसलाई स्वीकार गर्नुपर्छ’ इन्डोनेसियाका एक मन्त्री भन्छन् ।

यो क्षेत्रमा चीनको उपस्थितिको संवेदनशीलता धेरै नै ठूलो छ । जापान र अमेरिकालाई दक्षिणपूर्वी देशहरुले कहिल्यै कमजोर नठाने पनि हेजेमोनिक पावरका रुपमा केही रणनीतिक वृत्तहरुमा चीनको छवि अझै बढी प्रभावशाली देखिएको छ ।

साउथ चाइना सी, जहाँ कहिलेकाँही बेइजिङको गतिविधिका कारणले पनि चीनको प्रभावमा अवरोध आएको छ । दोस्रो, विशेष गरी दक्षिणपू्र्वी एसियामा कथित ‘चाइना थ्रेट’ अझै पनि बाँकी नै छ र यसको जरो चीनले कम्युनिष्ट आन्दोलनहरुलाई समर्थन गरेको शितयुद्धकालीन अनुभवसँग जोडिएको छ ।

दक्षिणपूर्वी एसियामा चीनियाँ मुलका जनसङ्याको ठूलो उपस्थिति पनि चीन र दक्षिणपूर्वी एसियाको सम्बन्धमा प्रभाव पार्ने अर्को कारक हो । दक्षिणपूर्वी एसियाका धेरै भागहरुमा चिनियाँ मूलका बासिन्दालाई राम्रो मानिँदैन । चिनियाँ मूलका मानिसहरु भ्रष्टाचार, शोषण जस्ता नराम्रा काममा जोडिएका हुन्छन् । यस्तो छविका कारण दक्षिणपूर्वी एसियाका स्थानीय बासिन्दाहरुले चिनियाँ परियोजनाबाट फाइदा नभएको महसुस गर्न सक्छन् ।

तर, मुख्य कुरा भनेको ‘चाइना थ्रेट’ नै हो । मलेसियाको नै उदाहरण लिउँ, जहाँ नाजिबका विपक्षीहरुले बीआरआई परियोजनाले देशलाई चिनियाँ उपनिवेश बनाउने आरोप लगाउँदै आएका छन् ।

चिनियाँ कम्पनी र चीनको दृिष्टकोण

चिनियाँ कम्पनीहरुले दक्षिणपूर्वी एसियामा लगानी गर्दा धेरै समस्यासँग जुध्नुपर्छ र केही कुराहरुमा चीनको कमजोर दृष्टिकोणका कारण उनीहरु सजिलै बलीको बोको बन्न सक्छन् ।

चिनियाँ कम्पनीहरुले आफ्नो उपस्थिति जनाउनका लागि विद्यालय बनाइदिने, हस्पिटल बनाइदिने, बाढीपीडितलाई सहयोग गर्ने जस्ता मानवीय सहयोगको काम गर्ने प्रयास गरेका छन् । उनीहरुको योगदानले स्थानीय समुदायमा राम्रो प्रभाव पनि पारिरहेको छ, तर चीनको छवि अझै पनि अन्य मुख्य लगानीकर्ताहरु जापान र अमेरिकाको भन्दा नराम्रो छ ।

यसलाई सुधार्न पहिले चिनियाँ कम्पनीहरु आफूले काम गर्ने बिजनेश पार्टनरहरुसँग सावधान हुनुपर्छ । धेरै चिनियाँ कम्पनीहरु दक्षिणपूर्वी एसियामा नयाँ छन् र कानूनी मामिलाका बारेमा उनीहरुलाई थोरै मात्रै थाहा छ । कहिलेकाँही उनीहरु समस्याग्रस्त दक्षिणपूर्वी एसियाली कम्पनीहरुसँग काम गर्न पुग्छन् र पछि चीन सरकार नै विवादमा फस्छ ।

दोस्रो, चिनियाँ कम्पनीहरु आफ्नो व्यापारका बारेमा अध्ययन गर्न धेरै नै होसियार हुनुपर्छ र उनीहरुको परियोजनाले पार्ने सामाजिक र राजनीतिक प्रभावका बारेमा मूल्याङ्कन गर्नुपर्छ ।

चिनियाँ कम्पनीहरुको छिट्टै निर्णय लिने र प्रभावकारिता मूल्याङ्कन गर्ने प्रवृत्ति छ र पूरै डिटेलमा ध्यान दिँदैनन् । यसकारण कुनै परियोजनाहरुले पछि आफैलाई ब्याक फायर गर्छ ।

तेस्रो, चिनियाँ फर्महरुले आफ्नो छवि सुधार्नका लागि त्यहाँको स्थानीय इतिहास र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ ।

चिनियाँहरुले तल्लो लेभलसँग सहकार्य गर्न सकेका छैनन् । उनीहरुले लेबरहरु पनि चीनबाटै ल्याउने गर्छन् जबकि ती देशहरुमा नै लेबर पाइन्छ । यसले ल्याउने समस्या चाहिँ चिनियाँ लेबरहरु दक्षिणपूर्वी एसियामा धेरै आएका छन् भन्ने भान पर्छ । जसले पछि चिनियाँ परियोजनालाई मात्रै होइन, त्यो देशमा बस्ने चिनियाँ मुलका बासिन्दालाई पनि समस्यामा पार्न सक्छ ।

यस्तै केही चिनियाँ कम्पनीहरुले त्यो देशको कानून पालना गर्दैनन् । जस्तै– इन्स्योरेन्स नगर्ने, सम्झौतापत्र नदिने आदि । यसकारण स्थानीय कामदारले कहिलेकाँही क्षतिपूर्ति पाउँदैनन् र चिनियाँ कम्पनीहरु बदनाम हुन्छन् ।

दक्षिण एसियाली घरेलु राजनीति पनि चिनियाँ कम्पनीका लागि धेरै ठूलो चुनौती हो । उदाउँदो शक्तिका रुपमा चीन दक्षिण पूर्वी एसियाली देशहरुद्वारा शन्देशका साथ लामो समय चिनिएको थियो । चीनले हेजिमोनिक शक्तिको छविबाट न आफूलाई सजिलै छुटाउन सक्छ, न त लोभी र भ्रष्ट भएको पुरानो छविलाई नै रातारात परिवर्तन गर्न सक्छ ।

चीनप्रतिको दृष्टिकोण परिवर्तन गर्नका लागि चीनले विस्तारै प्रादेशिक सरकार, नगरपालिका र नागरिक समाजमार्फत स्थानीयसँग घुलमिल हुनुपर्छ ।

सिले एकपटक अफ्रिकन उखान उद्धृत गरेका थिए ‘यदि तपाई छिटो हिँड्न चाहनुहुन्छ भने एक्लै हिँड्नुहोस् र यदि तपाई टाढा जान चाहनुहुन्छ भने सँगै हिँड्नोस् ।’

चीनको दक्षिणपूर्वी देशमा नराम्रो छविका कारण समस्या छ र उसले यसलाई यो क्षेत्रको स्थानीयको मन र मस्तिष्क जित्नका लागि अझै धेरै कुराहरु सिक्नुपर्छ ।

दक्षिण पूर्वीएसियामा व्यापार गर्नका लागि त्यस क्षेत्रको इतिहास, संस्कृति र परम्पराका बारेमा चीनले बुझ्नुपर्छ । चिनियाँ फर्महरुले कन्फुसियस इन्स्टिच्युट र सरकारसँग जोडिएका मानव कल्याणका कामहरु मार्फत मात्रै होइन, समुदायमा आफै पहुँच बनाउने हिसाबले सहयोग गर्नुपर्छ ।

वैज्ञानिक, स्थानीय बासिन्दा र वातावरणकर्मीहरु पनि सरकारी कर्मचारीजस्तै महत्वपूर्ण हुन्छन् । सरकारी कर्मचारीहरुले निर्णय लिन्छन् भने स्थानीय बासिन्दाहरु ती हुन्, जसको मन जित्नुपर्छ । सरकार महत्वपूर्ण पार्टनर हो । तर, चीन सधैं बलीको बोका बन्ने गरेकाले चिनियाँ कम्पनीले धेरै साथी बनाउने र दुश्मन घटाउनेतिर ध्यान दिनुपर्छ ।

पहिले भनेको जस्तै चिनियाँ कम्पनीहरुले शैक्षिक संस्थाहरु र स्थानीय कार्यलयहरुसँग सहकार्य गरेर स्थानीय इतिहास र परम्पराका बारेमा ज्ञान लिनुपर्छ । शिक्षाविदहरुले स्थानीय नागरिक समाजसँग जोडिनका लागि बाटो देखाउन सक्छन् साथै परियोजना सञ्चालनका लागि पर्यावरणमैत्री र दिगो उपायहरु देखाउन सक्छन् ।

(गत्रा प्रियन्दिता अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा पिएचडी गरिरहेका छन् । उनी युनिभर्सिटी अफ इन्डोनेसियाको भिजिटिङ रिसर्च फेलो पनि हुन् । त्यसैगरी त्रिसिया विजया एसिया रिसर्च सेन्टर, मर्डोक युनिभर्सिटीमा पीएचडी गर्दैछिन् । उनीहरुले लेखेको यो लेख दक्षिण एशियाली देशका लागि पनि सान्दर्भिक हुने देखेर द डिप्लोम्याटबाट साभार गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment