+
+

तिब्बतमा हराएका चर्चित आरोहीको खोजीमा नेपालबाट हेलिकोप्टर प्रयोग

सहयोगीविना हिमाल चढ्ने पेट्रो अझै भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते १७:५८

१ जेठ, काठमाडौं । सहयोगीविना नै १० वटा हिमाल आरोहण गरेका बुल्गेरियाका पर्वतारोही बोयान पेट्रो तिब्बतको सिसापाङ हिमाल चढ्ने क्रममा हराएको १० दिनसम्म फेला परेका छैनन् ।

काठमाडौंको मकालु एडभाञ्चर प्रालिमार्फत गएका उनी अप्रिल २९ तारेखदेखि सम्पर्कविहीन भएका हुन् । सिसापाङ हिमालको पहिलो आधार शिविरबाट शिखरतर्फ एक्लै अगाडि बढेका उनी आरोहण गरेर फर्किनुपर्ने अनुमानित समयसम्म नआएपछि खोजी सुरु गरेको मकालु एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए ।

अप्रिल २९ तारेखमा पहिलो आधार शिविरबाट अगाडि बढेका उनी दोस्रो, तेस्रो आधार शिविर हुँदै शिखरमा पुगेर कम्तीमा मे महिनाको ४ वा ५ तारेखमा पहिलो आधारशिविरमा आइसक्नुपर्ने थियो ।

तर उनी नफर्किएपछि उद्दारकर्ता र हेलिकोप्टरमार्फत पनि खोजी सुरु गरिएको लम्सालले बताए । ‘हाम्रो अनुमानमा मे ३ तारेखमा समिट गरेर ४ तारेखमा फर्किसक्नुपर्ने थियो, ५ तारेखसम्म नझरेपछि खोजी सुरु गरेका हौं’ लम्सालले भने ।

पेट्रो हिँडेको ४ दिनपछि शिखरतर्फ गएको हंगेरीको एक टोलीले तेस्रो आधार शिविरमा पेट्रोको टेन्ट र म्याट फेला पारेको थियो । उक्त टोली खराब मौसमका कारण हिमाल आरोहण नगरी आधार शिविरमा फर्किसक्दा पनि पेट्रो फर्किएनन् । ‘हामीले पहिलो प्रयासमा शेर्पाहरुको टोली माथि पठायौं, तर हिउँ परेपछि उक्त टोली फर्कियो’ लम्सालले भने ‘त्यसपछि हेलिकोप्टर पठाउन डिप्लोम्याटिक च्यानलमार्फत प्रयास गर्‍यौं ।’

उद्दारमा पहिलो पटक नेपालबाट हेलिकोप्टर

पेट्रोको उद्दारमा नेपालबाट पहिलो पटक हेलिकोप्टर पठाइएको छ । चीनले नेपालको निजी क्षेत्रलाई पहिलो पटक ४ दिनका लागि दुई वटा हेलिकोप्टर उडाउन अनुमति दिएको लम्सालले बताए ।

‘हेलिकोप्टरका लागि पनि प्रयास गरौं भनेर लाग्यौं, चीन सरकार पोजेटिभ भयो, पहिलो पटक ४ दिनका लागि दुई वटा हेलिकोप्टर ४ पटक आउन र ४ पटक जानका लागि अनुमति पायौं’ उनले भने ।

चीन सरकारले हराएका आरोही पेट्रोको उद्दारका लागि मे महिनाको १०, ११, १२ र १३ तारेखमा सिम्रिक एयरको दुईवटा हेलिकोप्टर तिब्बतमा उडाउन अनुमति दिएको हो ।

चार दिनसम्म दुई हेलिकोप्टरले सिसापाङ हिमालको शिखरदेखि १० मिटर तलसम्म पुगेर खोजी गर्दा पनि पेट्रोबारे कुनै सुखद समाचार ल्याउन सकेन ।

पेट्रोृ नभेटिनु दुखद भए पनि तिब्बतमा नेपालबाट हेलिकोप्टर लगेर उद्दार गर्न पाउनु नेपाली पर्यटन क्षेत्रका लागि सुखद खबर भएको लम्साल बताउँछन् । ‘यसले आरोहीहरुको कन्फिडेन्स विल्ड अप गराउँछ’ उनले भने ‘अहिलेसम्म तिब्बतमा रेस्क्यू दिँदैन भन्ने थियो, तर अब रेस्क्यू हुन सक्छ भन्ने सन्देश जानेछ, यसले आगामी दिनमा नेपाल हुँदै तिब्बतमा हिमाल आरोहण गर्न जानेको संख्या बढ्न सक्छ ।’

हाल तिब्बती भूमिबाट नेपाल र तिब्बतकै हिमाल चढ्नका लागि ३ देखि ४ हजार पर्यटक जाने गरेका छन् ।

पेट्रोको खोजीका लागि चीन सरकारले हेलिकोप्टर उड्न अनुमतिमात्र होइन, १० जनाको उद्दार टोली नै पठाइदियो । मे १३ तारेखमा चीनका १० जना उद्दारकर्ताले सिसापाङ हिमालको टुप्पोभन्दा १५ मिटर तलसम्म पुगेर खोजी गरेका थिए । तर त्यतिबेला आधारशिविरमा रहेको पेट्रोको टेन्टसमेत फेला नपरेको लम्साल बताउँछन् ।

आरोही पेट्रो मधुमेहका विरामी थिए । खाना खानुअघि आफैंले इन्सुलिन लगाउँथे । उनले मकालु एडभेञ्चरलाई आफूलाई चिनीरहित खानेकुराको व्यवस्था गरिदिन भनेका थिए । ‘हाम्रा कुकहरुलाई त्यही अनुसार व्यवस्था गर्न लगाएका थियौं’ लम्सालले भने ।

तर, पहिलो आधार शिविरबाट सहयोगीविना नै अघि बढेका थिए । ८ हजार मिटर भन्दा अग्लो १० वटा हिमाल आरोहण गरेका पेट्रो ११ औं आरोहणका क्रममा उनी सम्पर्कविहीन भएका हुन् । उनले आरोहण गर्न अप्ठेरो मानिएको पाकिस्तानको माउन्ट केटू र नेपालको धौलागिरी हिमालसमेत सहयोगी विना नै आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?