Comments Add Comment

आहा ताल ! फेवादेखि फोक्सुण्डोसम्म


विशाल जलासयमा खुला निलो आकासको प्रतिविम्ब कस्तो देखिएला ? वा सूर्यास्तको बेला पोतिने सुन्तले रंगको प्रतिछायाँ कस्तो देखिएला ?

दृश्यावलोकनको लागि अन्त जानुपर्दैन, आफ्नै मुलुक चहारे पुग्छ । भनिन्छ, पानीको रंग हुँदैन । रुप हुँदैन । तर, ठाउँ–ठाउँमा भेटिने जलाशय हेर्दा भन्न करै लाग्छ, पानीको पनि रंग हुन्छ । पानीको पनि रुप हुन्छ । वास्तवमै रुपवान् !

पहाडी थुम्काहरुसँग लय मिलाइरहेको विशाल जलाशयहरु आफैमा काव्य जस्ता लाग्छन्, जसरी वयान गरे पनि नपुग्ने । यस्तो सौन्दर्य हेरेर न आँखा थाक्छ । न मन अघाउँछ ।

नेपालको कुना–कन्दरा फन्को लगाउने हो भने, यस्ता ताल–तलैयासँग साक्षात्कार गर्न पाइन्छ, जसको सौन्दर्यको वखान गरेर साध्य छैन । चाहे रारा पुगौं वा फोक्सुन्डो । फेवाको फन्को लगाउँ वा त तिलिचोको । विश्वकै अग्लाे स्थानमा रहेको ताल यहीँ छ। विश्वको सवैभन्दा ठूलो ताल पनि यहीँ छ ।

राष्ट्रिय ताल संरक्षण समितिका कार्यकारी निर्देशक लंक शाही भन्छन्, ‘अनेक बान्कीका ताल–तलैया धीत मरुञ्जेल हेर्न सकिन्छ । हामीकहाँ यस्ता ताल कति छन् कति ।’

कति छन् ?

शाहीसँग ओंठमै जवाफ छ, ‘५ हजार ३ सय ५८ वटा तालहरु छन् ।’ त्यसमध्ये २ हजार ७ सय १२ वटा तालहरु ५ सय मिटर उचाइभन्दा तल रहेका छन् भने २ हजार २ सय २७ वटा तालहरु ३ हजार मिटर भन्दा माथि रहेका छन् ।

तिलिचो ताल

मनाङ जिल्लामा रहेको तिलिचो ताल विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो । समुन्द्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको यो तालको लम्बाइ ८ किलोमिटर र चौडाइ १.२ किलोमिटर रहेको छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि मनाङसम्म जिपमा । त्यसपछि यात्रा सुरु भएर दुर्इ दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।

रारा

रारा नेपालको सबैभन्दा ठूलो ताल हो । यहाँ विश्वमै अन्यत्र नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालको पूरा आकृती हेर्नका लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।

घामको रंगअनुसार रारा तालको रंग बदलिइरहन्छ । यो तालको लम्बाइ ५ किलोमिटर र चौडाइ २.७ किलोमिटर छ । यो ताललार्इ एक फन्को मार्न ५ घण्टा लाग्छ ।

कसरी पुग्ने ?

नेपालगन्जदेखि ५० मिनेटको हवाइ यात्रा पछि पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट ३ घण्टाको पैदल दुरी छिचोलेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतदेखि दुई दिनको बस यात्रा पश्चात पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ रारा ताल ।

फोकसुण्डो ताल

क्षणमा निलो, क्षणमा फिक्का निलो । पानीको रंग परिवर्तन भइरहने ताल हो फोकसुण्डो । यो डोल्पा जिल्लामा पर्दछ । नेपालकै सबैभन्दा गहिरो ताल हो याे।

यो तालको गहिराइ ६ सय ५० मिटर रहेको छ भने यो तालमा कुनैपनि जलचर छैनन् ।

फोकसुण्डो तालबाट निस्केकोे झरना नै नेपालको सबै भन्दा ठूलो झरना हाे। समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाइमा अवस्थित फोकसुण्डो तालको सुन्दरता जब एरीक भ्यालीले क्याराभान फिल्म बनाए तब विश्वभर परिचित भयो । यही कारणले पनि होला डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च नागरिक रहेका छन् ।

कसरी पुग्ने ?

नेपालगन्जदेखि जुफालसम्म हवाइजहाजको यात्रा पश्चात सुरु हुन्छ फोकसुण्डो यात्रा । जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टाको यात्रा तय गर्नु पर्दछ ।

एयरपोर्टबाट दुनै जाने र फोकसुण्डो जाने बाटो फरक छ । फोकसुण्डो ताल पुग्नका लागि तीन दिनको पैदल यात्रा तय गर्नु पर्दछ ।

बडीमालिका ताल

बाजुराको बडीमालिकामा अवस्थित बडिमालिका ताल समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । यो क्षेत्र सौन्दर्यका हिसाबले मात्र नभएर धार्मिक हिसावले पनि निकै महत्वको छ ।

बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकाक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट देखिने सैपाल हिमालको मनोरम दृश्यले झनै बडीमालिकाको सौन्दर्यलाई तिखारेको छ ।

बडीमालिका मन्दिर पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकहरुले खानपिन तथा बास बस्नको आफै ब्यवस्थापन गर्नु पर्ने हुन्छ । मन्दिर ब्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एक वटा धर्मशाला बनाइदिएको छ । सोही स्थानमा बास बस्न पाइन्छ ।

बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाटहरु हुन् । यी फाटहरु बिस्तारै मासिदै गएका छन् । यी फाटहरुमा अनावश्यक चरन तथा जडीबुडी मासेका कारण यस्को सौन्दर्य मासिएको हाे । बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुन्ज घोषणा गरेर यसलाई संरक्षण गर्नु पर्ने बताउँछन् स्थानीय अगुवाहरु ।

कसरी पुग्ने ?

धनगढीदेखि अछामसम्म बसमा र दुई दिनको यात्रा पछि पुग्न सकिन्छ बडीमालिका ।

वीरेन्द्र ताल

वीरेन्द्र ताल गोर्खा जिल्लामा पर्दछ । मनास्लु हिमालको फेदमा रहेको यो ताल मनास्लु पदयात्रा आउने पर्यटकहरुको गन्तव्यस्थल पनि हो । समुन्द्री सतहबाट करीब ३ हजार मिटर उचाइमा रहेको यो ताल दिनप्रतिदिन खुम्चिँदै गएको छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि आरुघाटसम्मा सवारी साधनमा । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । आरुघाटदेखि ५ दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ विरेन्द्र ताल ।

गोक्यो ताल


सोलुखुम्बु जिल्लामा अवस्थित छ गोक्यो ताल । समुन्द्री सतहबाट ४ हजार ६ सय ९० मिटर उचाइमा रहेको छ । यो ताल हिमालै हिमालको वरिपरि रहेको निकै सुन्दर ताल हो । हिउँदको समय हिउँले ढपक्क ढाकेको हुन्छ । हिउँदको समय यो ताल पुग्न निकै गाह्रो हुन्छ । यो तालले १ सय ९६ हेक्टर क्षेत्रफल ओगटेको छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि लुक्लासम्म हवाइ यात्रा । त्यसपछि ७ दिनको यात्रा पश्चात पुग्न सकिन्छ ।

पाँच पोखरी

सिन्धुपाल्चोक जिल्लामा अवस्थित यो ताल धार्मिक हिसावले पनि निकै प्रख्यात छ । जनैपूर्णिमामा पाँच पोखरीमा ठूलो मेला लाग्दछ । समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा छ यो ताल । यो क्षेत्रमा पुग्दा हिमाल ताल र आफू हिमालभन्दा माथि भएको भान हुन्छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि चौतारासम्म सवारी साधनमा । त्यसपछि ५ दिनको यात्रा पश्चात पुग्न सकिन्छ ।

फेवा ताल

कास्की जिल्लामा अवस्थित यो ताल नेपालको मात्र नभएर विश्वकै प्रख्यात ताल हो ।


यो ताल अन्नपूर्ण पदमार्ग, माथिल्लो मुस्ताङ पदयात्राको सुरुवातको क्षेत्र हो । यो तालको अधिकतम लम्बाइ ४ किलोमिटर छ । चौडाइ २ किलोमिटर र गहिराइ २४ मिटर रहेको छ ।

गोसाइँकुण्ड ताल

रसुवा जिल्लामा अवस्थित यो ताल धार्मिक हिसाबले निकै प्रख्यात छ । जनैपूर्णिमा मेला भर्नका लागि यो तालमा हजारौको संख्यामा मानिसहरु जाने गर्दछन् । समुन्द्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा छ यो ताल ।

हिँउदको समय यो तालले पुरै हिउँको पछ्यौरी ओढ्छ । यो तालको वरिपरि १ सय ८० वटा कुण्डसमेत रहेका छन् । करीब १४ हेक्टर क्षेत्रफल भएको यो ताल लाडटाङ राष्ट्रिय निकुन्ज भित्र पर्दछ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि धुन्चेसम्म सवारी साधनमा । त्यसपछि तीन दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ गोसाइँकुण्ड ताल ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment