
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र ‘मेसिन लर्निङ’ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआई–एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापक सहित विभिन्न संस्थाका प्रतिनिधि उपस्थित थिए ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ता लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनोट गरिएको थियो । प्रतियोगी टोली काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।
सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप १ लाख रुपैयाँ जित्न सफल भएको छ । साथै, डब्लूडीके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं पुरस्कारबाट पुरस्कृत भएका छन् ।
दोस्रो हुने टोली डब्लूडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौं हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् ।
साथै, वेस्ट प्रिजेन्टेसन विधा अन्तर्गत बैंकले डीजीबिट्सलाई १५ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ ।
प्रतियोगिताका विजेता टोलीलाई उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।
नेपालमा पहिलो पटक एआई र एमएल सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर मिश्रले आयोजक ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए ।
यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधामा नवीनतम प्रविधि प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास राष्ट्र बैंकले लिएको मिश्रले बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौती समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी दिए ।
बैंक प्रविधि अनुकूल वित्तीय सेवा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवा थप प्रभावकारी बनाउन नवीनतम धारणा प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागी हुन विभिन्न टोलीले बैंकको वेबसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक हो । साथै, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले हाल ३ सय ५४ शाखा, ३ सय ८५ एटीएम, २ सय २१ शाखारहित, ६७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।
प्रतिक्रिया 4