Comments Add Comment

बजेटमा अर्थमन्त्रीको जवाफ: ५०० मिटरमै म्याराथन हारजितको निर्क्योल नगरौं

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निर्क्योल नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

वाम घोषणापत्र र कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रममा आएका विषय आर्थिक वर्ष २०७५/७६ को बजेटमा छुटेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आलोचना  गरेपछि उनले यस्तो भनेका हुन् ।

‘हामी अलि लामै यात्रामा छौं । पहिलो ५ सय मिटर कुद्दैमा कसले जित्छ कसले हार्छ ? को अगाडि, को पछाडि भन्ने निर्क्योल गर्नु छिटो हुन्छ,’ उनले भने, ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही कुरा छुटे भन्नु १००/५०० मिटरमै जित हारको निर्क्योल गर्न खोज्नु हो । हेर्दै जाउँ हामी म्याराथन जित्छौं ।’

स्याउ र सुन्तलाको तुलना नगरौं

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता बढाउने विषय आउँदा बजेटमा संबोधन गर्ने बताए । आगामी आर्थिक वर्षको बजेट संघीयता कार्यान्वयनपछिको पहिलो भएको भन्दै यसको तुलना चालु आर्थिक वर्षसँग गर्न नमिल्ने बताए ।

‘अहिले हामी ७६१ वटा सरकार छौं । संघ प्रदेश र स्थानीय तहको सरकारलाई राजस्व बाँडफाँटसहितको पहिलो बजेटको तुलना संघीय सरकारको एकल बजेटसँग हुँदैन,’ उनले भने, ‘स्याउ र सुन्तलालाई तुलना नगरौं ।’

बजेट संघीयता विरोधी वा केन्द्रिकृत नभएको जिकिर गर्दै खतिवडाले प्रदेश र स्थानीय तहको संस्थागत संरचना र क्षमता विकास नहुँदै धेरै बजेट दिनु गल्ती हुने बताए । ‘करका अधिकार र राजस्वको बाँडफाँट पहिलो पटक तल जाँदैछ । कानुनी संरचना, संस्थागत संरचना र क्षमता विकासका कुरा अघि नलगिकन सम्पूर्ण साधन स्रोत तल पठाउने गल्ती हामीले गर्‍यौं भने ?’ उनले प्रश्न गरे ।

अर्थमन्त्रीले संघ, प्रदेश र स्थानीय तह एक अर्काको परिपूरक भूमिकामा बजेट कार्यान्वयन गर्ने भएकाले बजेट कतै धेरै र कतै थोरैको प्रश्न सान्दर्भिक नहुने बताए । ‘कुनै कार्यक्रम प्रदेशले गर्न सकेन भने संघले गरिदिन्छ । संघका कतिपय कार्यक्रम प्रदेशलाई दिन पनि सक्छ ।परिपूरक भूमिकाको कुरा हो । प्रतिस्पर्धाको कुरै होइन । संघ, पदेश र स्थानीय तहले परिपूरक भूमिकामा काम गर्ने हो ।’

आर्थिक वृद्धिदर सजिलै पूरा हुन्छ

आगामी आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर हासिल गर्न कठिन नरहेको अर्थमन्त्री खतिवडाले दावी गरे । आगामी वर्षमा पूरा हुने ठूला विद्युत आयोजना, खानेपानी आयोजना र औद्योगिक उत्पादनको प्रतिफल र बजेटमा ल्याएका रोजगारीको कार्यक्रमबाट सजिलै आर्थिक वृद्धिदर हासिल गर्ने उनले बताए । ‘आगामी वर्ष ठूला विद्युत आयोजना, खानेपानी आयोजना र केही औद्योगिक उत्पादनका प्रतिफल आउँदैछ । हामीले रोजगारीका कार्यक्रम ल्याएका छौं । यी सबै कार्यक्रमले यसले ८ प्रतिशत वृद्धि हुन्छ,’ उनले भने ।

संघीय सरकारको बजेटमात्रै हेर्दा ८ प्रतिशतको आर्थिक वृद्धिको दावी गर्नु गलत हुने भन्दै उनले प्रदेश र स्थानीय तहको बजेटले पनि वृद्धिदरलाई सहयोग गर्ने बताए ।

बजेट विनियोजन गर्दा वित्त आयोगका पदाधिकारीले दिएको सुझावका आधारमा गरेको भन्दै अर्थमन्त्री खतिवडाले कुनै पनि क्षेत्रमाथि विभेद नभएको दावी गरे । ‘भूगोल, जनसंख्या, विकास, मानव विकासको आधारमा बजेट विनियोजन भएको छ,’ उनले भने, ‘कुनै निर्वाचन क्षेत्र कसैले जितेको छ, निर्वाचन क्षेत्र हिमाल तराईमा परेको छ भनेर विनियोजन भएको छैन, विभेदको धेरै कुरा नगर्न म आग्रह गर्दछु ।’

कसैलाई अनादर गरेको छैन

अर्थमन्त्री खतिवडाले आफूले बजेटमा कसैलाई अनादर नगरेको स्पष्टिकरण दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको शीर्षक फेरेर बजेट दिएपनि स्थानीय जनप्रतिनिधिलाई राखेर आफूहरुको अनादर गरेको भन्दै सांसदहरुले आलोचना गरेपछि उनले आफ्नो मर्यादा खोज्दा जनप्रतिनिधिको सम्मान गर्न आग्रह गरे ।

‘कसैलाई अनादर गर्ने अपमान गर्ने हुनै सक्दैन । तर, हामीले हाम्रो मर्यादा खोजिरहँदा तलका जनप्रतिनिधिलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘तर एउटा कुरा भन्नैपर्छ । निर्वाचन वडा तहदेखि संसदसम्म मात्र होइन उपभोक्ता समूहदेखि विद्यालय व्यवस्थापन समितिको पनि खर्चिलो किन हुँदैछ यही संसदले छलफल गरोस् कानुन, विधि, नियम बनाओस् ।’

अहिले जुन प्रणालीबाट चुनिए पनि सबै सांसद बराबर भएको पनि अर्थमन्त्रीले बताए । उनले भने, ‘विधिको शासनको कुरा गर्ने र लोकतन्त्रलाई जनताको सही मत प्राप्त गरेर चुनाव जित्ने प्रणालीमा जाने हो भने हामीले निर्वाचन प्रणालीका विषयमा सोच्नुपर्छ । तर अहिले सांसदहरु जसरी आए पनि हैसियत समान हो । हामीले त्यसलाई भूल्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment